BIZMANDU
www.bizmandu.com

गभर्नर डा. नेपाल भन्छन्, बैंकिङ निजी क्षेत्र मैत्री हुनै पर्छ, नियामकले वातावरण बनाइदिने हो

२०७१ चैत्र ५

गभर्नर डा. नेपाल भन्छन्, बैंकिङ निजी क्षेत्र मैत्री हुनै पर्छ, नियामकले वातावरण बनाइदिने हो
गभर्नर डा. नेपाल भन्छन्, बैंकिङ निजी क्षेत्र मैत्री हुनै पर्छ, नियामकले वातावरण बनाइदिने हो


प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपाललाई सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्यो । नेपाल निजी क्षेत्र मैत्री अर्थशास्त्रीका रुपमा परिचित छन् । गभर्नर ग्ल्यामसर पद हो । तर, यो पदमा आशिन हुनेहरुका लागि चुनौतिका पनि चाङ छन् । वित्तीय क्षेत्र परिपक्व नभएको अवस्थामा चुनौति झनै बढी हुन्छन् । गभर्नर नियुक्त भएपछि बिजमाण्डू सम्पादक सरोज काफ्ले र सुदर्शन सापकोटाले लिएको अन्तर्वार्ताः

Tata
Global Ime


तपाई १६औं गभर्नर हुनुभयो । तपाईसँग नियमन निकायमा बसेर काम गरेको अनुभव पनि छ । राष्ट्र बैंकमा गइसकेपछि वित्तीय क्षेत्रलाई सवल बनाउने प्राथमिकता के के हुन् ?

पहिलो कुरा त वित्तीय क्षेत्रको स्थायित्व नै हो । वित्तीय क्षेत्रलाई स्थायित्व दिएर लैजान सक्नु नै महत्वपूर्ण हुन्छ । वित्तीय क्षेत्रप्रति नेपाली जनताको विश्वास र अन्तर्राष्ट्रिय समूदायको विश्वासलाई कायम राख्नु पर्छ । म अगाडिका गभर्नर डा. युवराज खतिवडाले वित्तीय स्थायित्व र जनताको विश्वास कायम गर्न धेरै कामहरु गर्नुभयो, यो काममा मेरो पनि निरन्तरता रहने छ । भनेको जस्तो सजिलो छैन, अगाडि वढ्न अत्यन्तै गाह्रो छ । म पहिले पनि नियमक निकायमा बसिसकेको छु, यसले मलाई केही सहयोग गर्छ । राष्ट्र बैंक अझ ठूलो नियामक हो । त्यहाँ धेरै मेहनत गर्नुपर्छ ।

वित्तीय क्षेत्रले लिएको जतिपनि कदमहरु छन्, त्यो निजी क्षेत्रमैत्री हुनुपर्छ । सरकारको आर्थिक नीतिलाई यसले सँगै अघि लैजान सक्नुपर्छ । समग्रमा अर्थतन्त्र उकास्नलाई मौद्रिक क्षेत्रबाट सहयोग पुर्याउने नै मेरो प्रमुख दायित्व हुनेछ ।

अहिलेसम्म हेर्दा केन्द्रीय बैंकको भूमिका मौद्रिक नीतितर्फ मात्र नभएर माइक्रो म्यानेजमेन्टमा पनि इन्भल्व भयो भन्ने गुनासो छ । राष्ट्र बैंकले स–सानो कदम चाल्दा बैंकिङ क्षेत्र अझै परिपक्व भएको छैन भन्ने देखिन्छ । यसमा तपाईका विशेष योजना छन् ?

विशेष योजना भनेकै वित्तीय क्षेत्रलाई स्थायित्व दिने र वित्तीय पहुँच तथा वित्तीय साक्षरता बढाउने हो । अत्यन्त निमूखा, तल्लो तहका जनतासम्मलाई वित्तीय सेवा पुर्याउने मेरो प्राथमिकता हुनेछ । अन्तर्राष्ट्रिय जगतमा वित्तीय क्षेत्रमा आएको परिवर्तनलाई नेपालमा पनि ल्याउने उद्देश्य हुनेछ । मेरो सोच छ– कमसेकम सार्क क्षेत्रमा नेपाल वित्तीय क्षेत्रको हव बनोस् । जसले गर्दा स्वच्छ, पारदर्शी वित्तीय क्षेत्र नेपालमा छ भन्ने सन्देश बाहिर जाओस् ।


तपाईलाई निजी क्षेत्रमैत्री भन्छन् । निजी क्षेत्रलाई निकै माया गर्नु हुन्छ भन्ने छ । तर हामीकहाँ निजी क्षेत्रले हाँकेका संस्थाहरुमा समस्या देखिएको छ । अब तपाईले सुधार थाल्दा त वित्तीय क्षेत्रलाई अलिक कस्नु पर्ने हुनसक्छ ?

हामीले कसरी हेर्नुपर्छ भने, कसेर भन्दा पनि निजी क्षेत्रमैत्री नियम कानुनहरु बनाइ दिनुपर्छ । बनेको नियम कानुनभित्र नियमन गर्नुपर्छ । कस्ने भन्ने अलि शब्द मिलेन । कस्ने होइन कि निजी क्षेत्रमैत्री कानुन बनाएर जानुपर्छ । जसले गर्दा उनीहरुलाई भोलि सहज होस् । गलत क्रियाकलाप गर्ने मान्छे भोलि त्यहाँ टिक्न नसकुन् । राम्रो काम गर्ने मान्छेहरु यो क्षेत्रमा टिक्न सकुन्, त्यसले गर्दा नीति नियमहरु प्रभावकारी रुपमा बनाउनु पर्छ । नियमन र सहजकर्ताको भूमिकामा राष्ट्र बैंक हुनेछ । गलत गर्ने मान्छे त त्यसै पनि फस्छ ।

हामीले यो प्रश्न किन गरेको भने तपाईभन्दा अगाडिका गभर्नरले म बैंकर र गभर्नर छुट्याउँछु भनेर नीति नियमनै अगाडि वढाइसक्नु भएको छ । डा. युवराज खतिवडाले यसका लागि केही कदमनै चालिसक्नु भएको छ । राष्ट्र बैंक आजका दिनसम्म पनि त्यही नीतिमा अगाडि वढिरहेको छ । तपाईले पुराना नीतिलाई कसरी कार्यान्वयन गर्नुहुन्छ ?

त्यसमा अध्ययन गर्नुपर्छ । पहिले त त्यहाँ गएर बुझ्नु पर्यो । बाहिर बसेर बोलेजस्तो पक्कै हुँदैन । एउटा सानो कदमले मुलुकको नीतिमा फरक पार्छ । धेरै सोचेर विचार गरेर अगाडि वढ्नु पर्छ ।

राष्ट्र बैंकले माइक्रोम्यानेजमेन्ट धेरै गर्यो भनेर तपाई बाहिर बस्दा प्रश्न उठाइरहनु हुन्थ्यो । अब आफै गभर्नर भइसकेपछि सबैभन्दा पहिलो चुनौती यही हुने भो ?
थाहा छ मलाई । नियम कानुनहरु नयाँ बनाएर त्यसलाई कार्यान्वयन गर्ने हो । औपचारिक क्षेत्रको दायरा फराकिलो बनाउनु पर्ने पनि छ, ठूलो दायरा बनाउनलाई लगानीकर्ता र बैंकप्रतिको विश्वास पनि बढाउनु पर्नेछ । विश्वासको वातावरण बनाउनु पर्ने हुन्छ, तर्साएर त हुँदैन । उनीहरुको विश्वास बढाउनु पर्छ । गलत गर्नेलाई ठिक ठाउँमा ल्याउनु पर्छ ।

अर्थमन्त्रालयको सल्लाहकार हुनु भयो, प्रधानमन्त्रीको हुनु भयो । यो कारणले तपाईलाई आर्थिक नीतिको वढी ज्ञान छ । हाम्रो वित्तीय क्षेत्रले विगत पाँच बर्षमा कि अधिक तरलता भोग्यो कि तरलता अभाव । यसले ब्याज दरमा असर पर्यो । यस्तो उतारचढावलाई रोक्न सक्नु हुन्छ ?

उतारचढाव हुने अवस्था छ । त्यो रोकिने भनेको अर्थतन्त्रको विकास भएर हो । यसले धेरै सहयोग गर्छ । आर्थिक कृयाकलापहरु बढाउँदै गयौं भने त्यो आफै समस्या हराएर जान्छ । आर्थिक कृयाकलाप बढाएर वित्तीय क्षेत्रप्रतिको विश्वास बढाउन सकियो भने यो विस्तारै घट्दै जान्छ ।

हामीकहाँ बजारले सबै कुरा निर्धारण गर्छ भन्ने कुरा छ । तर अन्तर्राष्ट्रिय अभ्यास र नेपालमै पनि भयो, सबै कुरा बजारलाई मात्र छाडेर नहुने रहेछ भनेर देखियो ?
यो कुरा संसारमा जहाँ पनि हुन्छ ।

भनेपछि तपाई बलियो रेगुलेटर भएर उभिनु हुन्छ ?
बलियो दुई अर्थमा हुन्छ । विग्रिँदाखेरी उ बलियो हुनु पर्छ । किनभने उसको दायित्व हुन्छ । गलत गर्नेलाई हटाउनु पर्छ । रेगुलेटरले नियम कानुनबाट नियमन गर्ने हो, सुपरीवेक्षण गर्ने हो । नियामकले राम्रो वातावरण बनाइदिने हो । त्यस्तो अवस्था सृजना गर्न म पहल गर्छु ।

तपाईको छबि निजी क्षेत्रमैत्री, अहिले पनि राष्ट्र बैंकको नियमन गरिरहेको दर्जनजति संस्थामा सेयर लगानी पनि गरेको छ । निजी क्षेत्रको हिस्सा बढेर जानु पर्नेमा नेपाल बैंकमा उल्टो सरकारी स्वामित्व बढ्यो । कसरी मिलाउनु हुन्छ ?
मैले सुरुमै भने, वित्तीय साक्षरता बढाउनु पर्छ भनेर । वित्तीय क्षेत्रको दायरा बढाउँदै गएपछि यो आफै संकुचन हुँदै जान्छ । यो त पहिला गर्नु पर्यो वातावरण बनाउनु पर्यो । बजारमा त्यतिकै सेयर फ्यालेर अराजकता फैलाउनु पनि हुँदैन । बजार भनेको सिस्टममा चल्नुपर्छ । सिस्टम सरकार र नियामकले बनाउने हो ।

अर्थतन्त्रको अर्को चुनौति भनेको बचत तथा ऋण सहकारी संस्थाहरु हुन् । तपाईलाई गभर्नरमा नियुक्त गर्न सिफारिस गरेको नेपाली कांग्रेसले त सहकारीलाई अर्थतन्त्रको वेग्लै दर्जा दिएको छैन । तपाईलाई त सजिलो छ नि ?
सहकारीलाई पनि बलियो नियमनभित्रै ल्याउनै पर्छ । धेरै सहकारीलाई मर्ज गर्नु पर्छ । यसका लागि वातावरण बनाइदिनु पर्छ । यसका लागि हामीले कुनै कदम चाल्दा अध्ययन गरेर गर्नु पर्छ ।