प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपाललाई सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्यो । नेपाल निजी क्षेत्र मैत्री अर्थशास्त्रीका रुपमा परिचित छन् । गभर्नर ग्ल्यामसर पद हो । तर, यो पदमा आशिन हुनेहरुका लागि चुनौतिका पनि चाङ छन् । वित्तीय क्षेत्र परिपक्व नभएको अवस्थामा चुनौति झनै बढी हुन्छन् । गभर्नर नियुक्त भएपछि बिजमाण्डू सम्पादक सरोज काफ्ले र सुदर्शन सापकोटाले लिएको अन्तर्वार्ताः

तपाई १६औं गभर्नर हुनुभयो । तपाईसँग नियमन निकायमा बसेर काम गरेको अनुभव पनि छ । राष्ट्र बैंकमा गइसकेपछि वित्तीय क्षेत्रलाई सवल बनाउने प्राथमिकता के के हुन् ?
पहिलो कुरा त वित्तीय क्षेत्रको स्थायित्व नै हो । वित्तीय क्षेत्रलाई स्थायित्व दिएर लैजान सक्नु नै महत्वपूर्ण हुन्छ । वित्तीय क्षेत्रप्रति नेपाली जनताको विश्वास र अन्तर्राष्ट्रिय समूदायको विश्वासलाई कायम राख्नु पर्छ । म अगाडिका गभर्नर डा. युवराज खतिवडाले वित्तीय स्थायित्व र जनताको विश्वास कायम गर्न धेरै कामहरु गर्नुभयो, यो काममा मेरो पनि निरन्तरता रहने छ । भनेको जस्तो सजिलो छैन, अगाडि वढ्न अत्यन्तै गाह्रो छ । म पहिले पनि नियमक निकायमा बसिसकेको छु, यसले मलाई केही सहयोग गर्छ । राष्ट्र बैंक अझ ठूलो नियामक हो । त्यहाँ धेरै मेहनत गर्नुपर्छ ।
वित्तीय क्षेत्रले लिएको जतिपनि कदमहरु छन्, त्यो निजी क्षेत्रमैत्री हुनुपर्छ । सरकारको आर्थिक नीतिलाई यसले सँगै अघि लैजान सक्नुपर्छ । समग्रमा अर्थतन्त्र उकास्नलाई मौद्रिक क्षेत्रबाट सहयोग पुर्याउने नै मेरो प्रमुख दायित्व हुनेछ ।
अहिलेसम्म हेर्दा केन्द्रीय बैंकको भूमिका मौद्रिक नीतितर्फ मात्र नभएर माइक्रो म्यानेजमेन्टमा पनि इन्भल्व भयो भन्ने गुनासो छ । राष्ट्र बैंकले स–सानो कदम चाल्दा बैंकिङ क्षेत्र अझै परिपक्व भएको छैन भन्ने देखिन्छ । यसमा तपाईका विशेष योजना छन् ?
विशेष योजना भनेकै वित्तीय क्षेत्रलाई स्थायित्व दिने र वित्तीय पहुँच तथा वित्तीय साक्षरता बढाउने हो । अत्यन्त निमूखा, तल्लो तहका जनतासम्मलाई वित्तीय सेवा पुर्याउने मेरो प्राथमिकता हुनेछ । अन्तर्राष्ट्रिय जगतमा वित्तीय क्षेत्रमा आएको परिवर्तनलाई नेपालमा पनि ल्याउने उद्देश्य हुनेछ । मेरो सोच छ– कमसेकम सार्क क्षेत्रमा नेपाल वित्तीय क्षेत्रको हव बनोस् । जसले गर्दा स्वच्छ, पारदर्शी वित्तीय क्षेत्र नेपालमा छ भन्ने सन्देश बाहिर जाओस् ।

तपाईलाई निजी क्षेत्रमैत्री भन्छन् । निजी क्षेत्रलाई निकै माया गर्नु हुन्छ भन्ने छ । तर हामीकहाँ निजी क्षेत्रले हाँकेका संस्थाहरुमा समस्या देखिएको छ । अब तपाईले सुधार थाल्दा त वित्तीय क्षेत्रलाई अलिक कस्नु पर्ने हुनसक्छ ?
हामीले कसरी हेर्नुपर्छ भने, कसेर भन्दा पनि निजी क्षेत्रमैत्री नियम कानुनहरु बनाइ दिनुपर्छ । बनेको नियम कानुनभित्र नियमन गर्नुपर्छ । कस्ने भन्ने अलि शब्द मिलेन । कस्ने होइन कि निजी क्षेत्रमैत्री कानुन बनाएर जानुपर्छ । जसले गर्दा उनीहरुलाई भोलि सहज होस् । गलत क्रियाकलाप गर्ने मान्छे भोलि त्यहाँ टिक्न नसकुन् । राम्रो काम गर्ने मान्छेहरु यो क्षेत्रमा टिक्न सकुन्, त्यसले गर्दा नीति नियमहरु प्रभावकारी रुपमा बनाउनु पर्छ । नियमन र सहजकर्ताको भूमिकामा राष्ट्र बैंक हुनेछ । गलत गर्ने मान्छे त त्यसै पनि फस्छ ।
हामीले यो प्रश्न किन गरेको भने तपाईभन्दा अगाडिका गभर्नरले म बैंकर र गभर्नर छुट्याउँछु भनेर नीति नियमनै अगाडि वढाइसक्नु भएको छ । डा. युवराज खतिवडाले यसका लागि केही कदमनै चालिसक्नु भएको छ । राष्ट्र बैंक आजका दिनसम्म पनि त्यही नीतिमा अगाडि वढिरहेको छ । तपाईले पुराना नीतिलाई कसरी कार्यान्वयन गर्नुहुन्छ ?
त्यसमा अध्ययन गर्नुपर्छ । पहिले त त्यहाँ गएर बुझ्नु पर्यो । बाहिर बसेर बोलेजस्तो पक्कै हुँदैन । एउटा सानो कदमले मुलुकको नीतिमा फरक पार्छ । धेरै सोचेर विचार गरेर अगाडि वढ्नु पर्छ ।
राष्ट्र बैंकले माइक्रोम्यानेजमेन्ट धेरै गर्यो भनेर तपाई बाहिर बस्दा प्रश्न उठाइरहनु हुन्थ्यो । अब आफै गभर्नर भइसकेपछि सबैभन्दा पहिलो चुनौती यही हुने भो ?
थाहा छ मलाई । नियम कानुनहरु नयाँ बनाएर त्यसलाई कार्यान्वयन गर्ने हो । औपचारिक क्षेत्रको दायरा फराकिलो बनाउनु पर्ने पनि छ, ठूलो दायरा बनाउनलाई लगानीकर्ता र बैंकप्रतिको विश्वास पनि बढाउनु पर्नेछ । विश्वासको वातावरण बनाउनु पर्ने हुन्छ, तर्साएर त हुँदैन । उनीहरुको विश्वास बढाउनु पर्छ । गलत गर्नेलाई ठिक ठाउँमा ल्याउनु पर्छ ।

अर्थमन्त्रालयको सल्लाहकार हुनु भयो, प्रधानमन्त्रीको हुनु भयो । यो कारणले तपाईलाई आर्थिक नीतिको वढी ज्ञान छ । हाम्रो वित्तीय क्षेत्रले विगत पाँच बर्षमा कि अधिक तरलता भोग्यो कि तरलता अभाव । यसले ब्याज दरमा असर पर्यो । यस्तो उतारचढावलाई रोक्न सक्नु हुन्छ ?
उतारचढाव हुने अवस्था छ । त्यो रोकिने भनेको अर्थतन्त्रको विकास भएर हो । यसले धेरै सहयोग गर्छ । आर्थिक कृयाकलापहरु बढाउँदै गयौं भने त्यो आफै समस्या हराएर जान्छ । आर्थिक कृयाकलाप बढाएर वित्तीय क्षेत्रप्रतिको विश्वास बढाउन सकियो भने यो विस्तारै घट्दै जान्छ ।
हामीकहाँ बजारले सबै कुरा निर्धारण गर्छ भन्ने कुरा छ । तर अन्तर्राष्ट्रिय अभ्यास र नेपालमै पनि भयो, सबै कुरा बजारलाई मात्र छाडेर नहुने रहेछ भनेर देखियो ?
यो कुरा संसारमा जहाँ पनि हुन्छ ।
भनेपछि तपाई बलियो रेगुलेटर भएर उभिनु हुन्छ ?
बलियो दुई अर्थमा हुन्छ । विग्रिँदाखेरी उ बलियो हुनु पर्छ । किनभने उसको दायित्व हुन्छ । गलत गर्नेलाई हटाउनु पर्छ । रेगुलेटरले नियम कानुनबाट नियमन गर्ने हो, सुपरीवेक्षण गर्ने हो । नियामकले राम्रो वातावरण बनाइदिने हो । त्यस्तो अवस्था सृजना गर्न म पहल गर्छु ।
तपाईको छबि निजी क्षेत्रमैत्री, अहिले पनि राष्ट्र बैंकको नियमन गरिरहेको दर्जनजति संस्थामा सेयर लगानी पनि गरेको छ । निजी क्षेत्रको हिस्सा बढेर जानु पर्नेमा नेपाल बैंकमा उल्टो सरकारी स्वामित्व बढ्यो । कसरी मिलाउनु हुन्छ ?
मैले सुरुमै भने, वित्तीय साक्षरता बढाउनु पर्छ भनेर । वित्तीय क्षेत्रको दायरा बढाउँदै गएपछि यो आफै संकुचन हुँदै जान्छ । यो त पहिला गर्नु पर्यो वातावरण बनाउनु पर्यो । बजारमा त्यतिकै सेयर फ्यालेर अराजकता फैलाउनु पनि हुँदैन । बजार भनेको सिस्टममा चल्नुपर्छ । सिस्टम सरकार र नियामकले बनाउने हो ।
अर्थतन्त्रको अर्को चुनौति भनेको बचत तथा ऋण सहकारी संस्थाहरु हुन् । तपाईलाई गभर्नरमा नियुक्त गर्न सिफारिस गरेको नेपाली कांग्रेसले त सहकारीलाई अर्थतन्त्रको वेग्लै दर्जा दिएको छैन । तपाईलाई त सजिलो छ नि ?
सहकारीलाई पनि बलियो नियमनभित्रै ल्याउनै पर्छ । धेरै सहकारीलाई मर्ज गर्नु पर्छ । यसका लागि वातावरण बनाइदिनु पर्छ । यसका लागि हामीले कुनै कदम चाल्दा अध्ययन गरेर गर्नु पर्छ ।