BIZMANDU
www.bizmandu.com

लगानी ल्याउनु ठूलो कुरा होइन, त्यो दिगो हुनु पर्छ, सुर्य नेपालका रवि केसीको अन्तर्वार्ता

२०७१ चैत्र २२

लगानी ल्याउनु ठूलो कुरा होइन, त्यो दिगो हुनु पर्छ, सुर्य नेपालका रवि केसीको अन्तर्वार्ता
लगानी ल्याउनु ठूलो कुरा होइन, त्यो दिगो हुनु पर्छ, सुर्य नेपालका रवि केसीको अन्तर्वार्ता


घरयसी मदिराका कारण पचास प्रतिशत राजस्व गुमेको छ । रंगको नाममा ट्रकका ट्रक मदिरा आउँछ । काठमाडौंमा पाँच ट्रक/छ ट्रक मिठाईको नाममा सख्खर आउँछ । यो सबै सख्खरबाट मदिरा बन्छ । यसबाट राज्यले राजस्व गुमाएको छ । तर उद्योगको हिसाबले ९० प्रतिशत राजस्व तिरेको छ । सबैभन्दा ठूलो समस्या मूल्यका कारण प्रतिस्पर्धा छ । गुणस्तरीय उत्पादन नबनाई बिक्री गर्न सकिदैन ।
स्वदेशी मदिरामा गुणस्तर छैन भन्ने कुरामा म विश्वास गर्दिन् । तपाई कति पैसा तिर्नुहुन्छ ? तपाई ब्ल्याक लेभललाई पाँच हजार रुपैयाँ तिर्नुहुन्छ र स्वदेशी मदिरालाई हजार रुपैयाँ तिर्नुहुन्छ । पाँच हजार तिरेको मदिराको स्वाद हजार रुपैयाँमा खोज्नुहुन्छ भने त्यो हुनै सक्दैन । बजारमा विस्तारै विदेशी मदिरासँग प्रतिस्पर्धा गर्ने स्वदेशी मदिरा आइरहेका छन् ।
जे काम गर्न मन्त्री बनेको हो त्यसका लागि दिनभरीमा एक घन्टा मात्रै समय दियो भने हाम्रो देश बन्छ । इमान्दारीपूवर्क उसले एक घन्टा मात्रै समय दियो भने यो देश पाँच वर्ष भित्रमा धेरै माथि पुग्छ । यहाँ लगानीको लागि दलहरुको प्रतिवद्धता छ, वातावरण छ, उदारता सबै छ तर एउटै के छैन भने जुन उद्देश्य हो, त्यसका लागि काम गर्न समय छैन ।

Tata
Global Ime
सूर्य नेपालका भाइस प्रेसिडेन्ट रवि केसी कर्पोरेट कल्चर भएको कम्पनीको कुशल व्यवस्थापक मात्रै होइनन् उनी अरु धेरै उद्योगका लगानीकर्ता समेत हुन् । तीन दशक सूर्य नेपालमा विताइसकेका केसी मुलुकको नीतिलाई चिरफार गरेर स्पस्ट विचार राख्न सक्ने खुबी राख्छन् । बिजमान्डूका विज्ञान अधिकारीले भाइस प्रेसिडेन्ट केसीलाई सोधे– सूर्य नेपालको प्यारेन्ट कम्पनीले भारत र बंगलादेशमा लगानी गरिरहेको छ तर नेपालमा किन गर्न चाहँदैन ?
 

 
सूर्य नेपाल पछिल्लो समयमा आफैले ठूलो लगानी गर्ने भन्दापनि ‘आउटसोर्सिङ’ गरेर उत्पादन बजारमा लैजान थालेको छ । कम्पनी ठूलो लगानीमा भने किन आउन चाहिरहेको छैन ?
ठूलो लगानीमा सूर्य नेपाल आउन सक्दैन भन्ने गलत कुरा हो । यो गलत किनपनि हो भने नेपालमा हामीले गार्मेन्ट उद्योग जुनबेला खोल्यौं, त्यो नेपालको सबैभन्दा ठूलो लगानी थियो । योसँगसँगै तनहुँमा हामीले सूर्य चुरोटको उद्योग स्थापनामा साढे चार अर्ब रुपैयाँ लगानी गर्र्यौ । लगानी गर्न नचाहेका होइनौं, आउटसोर्सिङ गर्नुको उद्देश्य भनेको हामीसँगसँगै समाजलाई विकास गर्ने चाहना हो । हाम्रो मुख्य व्यवसाय चुरोट हो, तर सूर्य नेपालको अहिलेको लगानीलाई तपाइँले हेर्नुभयो भने हामीसँगै समाजलाई समेत विकासका साझेदार बनाउँदै लैजाने प्रयास गरिरहेका छौं । 
 
हामीले गार्मेन्टमा लगानी गरेका थियौं, तर देशको परिस्थितिले हाम्रो उद्योग शहीद बन्न पुग्यो । हाम्रो गार्मेन्ट उद्योगलाई शहीदको संज्ञा दिन्छु, किनभने जुन स–साना कुराले उद्योग बन्द हुन्थ्यो, हड्ताल हुन्थ्यो, सामूहिक सौदावाजीमा जुन समस्याहरु हुन्थ्यो यो उद्योग बन्द भएपछि अहिले ९० प्रतिशत रोकिएको छ । हाम्रो गार्मेन्ट बन्द भएपछि मिलेको शिक्षाका कारणले यी समस्या रोकिएका हुन् । जनताले मुक्ती पाउनको लागि लोकतन्त्र वा प्रजातन्त्रको लागि शहीद हुन्छन्,त्यसैले सूर्य नेपाल गार्मेन्टलाई उद्योगमा शहीदको संज्ञा दिन्छु । त्यो शहिद भयो, त्यसपछि आउने उद्योगहरु राम्रो ढंगबाट संचालन भइरहेका छन् ।

आउटसोर्सिङ गर्नुको मुख्य कारण देशमा रहेको थुप्रै यस्ता उद्योगहरु छन् जुनमा लगानी भइसकेका छन् तर बजारीकरण र प्राविधिक ज्ञानको अभावले बन्द भएका छन् । उनीहरुको श्रम, पसिना, मेसिनरी लगानी भएको छ, त्यसलाई ‘रिभाइभ’ गरेर बजारीकरण र प्रविधि हामीले दिने र खेर गएको सम्पत्तिलाई उपयोग गर्दै सबैलाई रोजगारी दिइरहेका छौं । यसको ज्वलन्त उदाहरण सलाई उद्योगनै हो । अहिले चार/पाँच वटा सलाई उद्योग पुनः संचालनमा आएका छन् । पहिला सबै सलाई उद्योग बन्द भइसकेका थिए । 

 
आउटसोर्सिङ गर्ने उद्योगमा पनि सूर्य नेपालले कृषि व्यवसाय र महिलालाई रोजगारीमा केन्द्रित गरेको छ ?
महिला रोजगारीलाई केन्द्रित गरेर उद्योग स्थापना गरिरहेका छौं । हामीले  अगरवत्ती बजारमा ल्यायौ । यहाँ धेरैजसो पुरुषहरु वैदेशिक रोजगारीमा जाने तर महिलाहरु विदेश गए पनि विभिन्न खाले जोखिम व्योहोर्नु पर्ने अवस्था छ । यही देखेर महिला रोजगारीलाई लक्षित गरेर उद्योग स्थापनामा जोड दिएका हौं । यहाँ पढेलेखेका अमेरिका, युरोप, जापान लगायतका विकसित मुलुक जान्छन् । उनीहरु स्वदेश फर्किदैनन् । यहाँ जनसंख्याको ठूलो हिस्सा त्यस्तो छ, उनीहरु बाहिर जान सक्दैनन् । यही बसेर आम्दानी गर्नुपर्ने वाध्यता भएका मानिसलाई केन्द्रमा राखेर लगानी गरिरहेका छौं । 


 
रणनीतिक योजना अनुसारनै सूर्य नेपाल गार्मेन्ट बन्द गर्नुभयो भन्ने आरोप छ । तपाईहरुको लागत बढेको थियो, त्यो भन्दा उद्योग गर्ने र वाहिरबाटै उत्पादन गरेर बिक्री गर्नु उचित हुने देखेर श्रम हड्तालकै मौकामा सदाका लागि उद्योग बन्द गर्नुभयो ?
 
हामीले झन्डै ६०/७० करोड रुपैयाँ गार्मेन्टमा लगानी गरेका थियौं । आफुले लगानी नगरी, उद्योगनै नखोली भाडामा चलाएको भए तपाईले लगाएको आरोप ठीक थियो । तर हाम्रो त्यो रणनीति थियो भने त अर्बौ रुपैयाँ खर्च गरेर उद्योग लगाउँदै लगाउँदैन्थ्यौं । बन्द भइसकेपछि ६ महिनासम्म हाम्रो वाहिरबाट आएका अत्याधुनिक मेसिनहरुको प्याकिङ समेत खोलिएको थिएन । हाम्रो नियत त्यो थियो भने त्यत्रो मुल्यका आधुनिक मेसिन किन ल्याउथ्यौ र ? अहिलेपनि करोडौको कच्चा पदार्थ त्यतिकै बसिरहेको छ । उद्योग बन्द गर्ने हाम्रो कुनै रणनीति थिएन । 
 
बन्द भएको गार्मेन्ट उद्योगको स्थानमा अरु कुनै उद्योग लगाउँदै हुनुहुन्छ ?
त्यसमा कुन उद्योग लगाउने भनेर ‘वर्कआउट’ गरिरहेका छौं । हामी त्यसमा अरु कुनै वैकल्पिक उद्योग स्थापना गर्ने विषयमा सोचिरहेका छौं । 
 
सूर्य नेपालको प्यारेन्ट कम्पनी आईटिसीले थुप्रै क्षेत्रमा लगानी केन्द्रित गरिरहेको छ । होटल, एफएमसीजीलगायतका क्षेत्रलाई केन्द्रमा  राखेर लगानी गरेको छ । उनीहरुलाई यो क्षेत्रमा ल्याउनसक्ने सम्भावना छैन ?
नेपालमा प्रत्येक चीज ल्याउन सकिन्छ । जस्तै, तराईमा मात्रै उद्योग खोल्न सकिन्छ भन्ने थियो तर हामीले तनहुँको एउटा खोल्सामा गएर अहिलेको सबैभन्दा राम्रो उद्योग स्थापना गरेर देखायौं । नेपालमा प्रत्येक कुराको सम्भावना छ । भौगोलिक हिसाबले नेपालमा उद्योग स्थापना गर्न सम्भव छैन भन्ने कुरालाई म मान्दिन ।  चीन यति विकसित भइसक्यो, तर यसको उद्योग भएको स्थानबाट दुई दिन लाग्ने दुरीमा बन्दरगाह छ । 
 
हाम्रो अझैपनि इटहरीदेखि कोलकोतासम्म ६ लेनको बाटो बनाई दिने हो भने संसारमा यहाँ जतिको उद्योग चल्ने अरु कुनै देश हुँदैन । इटहरीदेखि कोलकोतासम्म ६ लेनको बाटो हुने हो भने डेढ दिनको बाटोमा वन्दरगाहसम्म पुग्न सकिन्छ । हाम्रो देशमा पानी छ, पर्यटन छ र सबैभन्दा ठूलो मानव शक्ति छ, जुन विश्वमा विस्तारै विस्तारै धेरै कम भइसकेको छ । हामीसँग इमान्दार श्रमशक्ति छ, जुन श्रमशक्तिले गएर दोहा, कतार जस्तो मरुभुमीमा हराभरा बनाए, हाम्रै जनशक्तिले त्यो ठाउँलाई कहाँबाट कहाँ पुर्याइसकेका छन् । त्यो देशलाई अहिलेको अवस्थामा हाम्रै श्रमशक्तिले पुर्याएको हो । 


 
यतिधेरै सम्भावना हुँदाहुँदै पनि नेपालमा त्यो प्यारेन्ट कम्पनी किन आएन त ?
मुख्य कुरा नेपालको नीतिमा स्थायित्व छैन । कुनैपनि नीति निर्माण गर्दा एनजीओ/आइएनजीओ हावी हुन्छन् । यहाँको नीति एनजीओ/आइएनजीओबाट प्रेरित भएकोले कुनैपनि लगानीकर्ता नेपालमा लगानी गर्न डराइरहेका छन् । एनजीओ/आइएनजीओ प्रभाव हुँदा उनीहरुले कसरी गेम खेल्छन् भन्ने कुरा कम्पनीले बुझ्न सक्दैनन् । कम्पनीले स्वच्छ हिसाबले लगानी गर्छन् । यहाँको सबैभन्दा खतरनाक कुरा भनेको प्रत्येक नीति एनजीओ/आइएनजीओ प्रभावित हुनु हो । एनजीओ/आइएनजीओको प्रभावलाई रोक्ने राजनीतिज्ञमा दृढशक्ति नहुने र कर्मचारीतन्त्रलाई प्राथमिकता नदिएको कारणले नीतिगत स्थायित्व भएन । यही कारण नेपालमा ठूला लगानीकर्ता आउन सकिरहेका छैनन् । देशको नीति निर्माण तहमा एनजिअो आइएनजिअो हावी छन्। उनीहरु देशलाई गरिबै राखेर फइदा लिने खालका नीति नियम ल्याउन दवाव दिन्छन् ।
 
आईटीसीले बंगलादेशदेखि नेपालमा होटलहरुमा लगानी गर्न सकिन्छ भनेर वार्षिक प्रतिवेदनमा समेत उल्लेख गर्दै आएको छ । भारतमा ठूलाठूला लक्जरियस चेन होटल छन् । नेपालमा होटल सम्भव छैन ?
होटल बनाउन जग्गा किनिसकेका छौं । होटल बनाउन हामी आतुर छौ । तर एउटा जग्गाको हालसाविक गर्न हामीलाई एक वर्ष लागिसक्यो । हामीले किनेको जमिनमा हालसाविक गर्न खोजेका छौं, यो एउटा सामान्य प्रक्रिया हो । हाम्रो डिजाइनदेखि सबै रोकिएर बसेको छ । २०५२ सालमा किनेको जग्गा हालसाविक गर्न नसकेर रोकिएर बसेका छौं । कहिले के मिल्दैन, कहिले के मिल्दैन । जबसम्म नीति स्पस्ट हुँदैन तबसम्म लगानी कसरी गर्न सकिन्छ ? हालसाविकलाई निवेदन दिएको एक वर्ष हुनलाग्यो, अहिलेसम्म काम हुन सकेको छैन । यो सरकारको कमजोरी हो वा व्यवस्थापनको कमजोरी हो ?
 
तपाईहरु होटलमा नजानुको पछाडी यही कारण मात्रै हो त ?
यो मात्रै कारण होइन । हाम्रो कर्पोरेट कल्चर भएको कम्पनी हो । कुनैपनि परियोजना सुरु गर्नुभन्दा अगाडि अध्ययन/अनुसन्धान गर्छौ । कुनैपनि काम गर्दा देशको नियम-कानुनलाई पूर्ण रुपमा पालना गरेर लगानीतिर जान्छौ । त्यसैले हामीले डेरी, कन्फेसनरी वा एफएमसीजी उत्पादनमा कुन स्तरमा लगानी गर्ने भनेर अनुसन्धान गरिरहेका छौ । कुनैपनि लगानी ल्याउनु ठूलो कुरा होइन तर त्यो दीगो बनाउनु ठूलो कुरा हो । हामी यहाँ आउँदा कस्तो खाले उत्पादन, कुन स्तरको लगानी गर्ने भन्नको लागि अध्ययन/अनुसन्धान गर्नैपर्छ ।
 
परियोजना ढिलो हुनुको कारण हामी हतारमा भन्दा पनि सफल बनाउन बढी ध्यान केन्द्रित गर्छौ । नेपालमा सलाई उद्योग प्राय हराइसकेको थियो, लगभग समाप्त भइसकेको थियो । तर हामीले एउटा उदाहरण दिएका छौं, अहिले यो सफल उद्योगमा पर्छ । धुप उद्योग पनि त्यस्तै उदाहरण हो । ब्रान्डेड धुप भारतबाट मात्रै आयात हुन्थ्योे । तर अहिले हाम्रो मगंलदीपले ट्रेन्डसेट गर्दैछ र यसको व्यापार राम्रो हुँदै गएको छ । यो सानो उद्योगको कुरा हो । कर्पोरेट कल्चर भएकोले हामीसँगसँगै अरु सरोकारवालाले पनि फाइदा पाउनु पर्छ भन्ने हाम्रो धारणा हो । हाम्रो व्यवस्थापन, ज्ञान साथसाथै हामीसँग आवद्ध भएको प्रत्येक व्यक्तिले यसको फाइदा पाउनुपर्छ भन्ने मान्यता राख्छौं । यही अवधारणामा हामी अगाडी बढिरहेका छौ । 
 
सूर्य नेपालको सबैभन्दा ठूलो लगानी चुरोटमा छ, पायोनियरनै हो । राजस्व पनि बढी तिर्छ र प्रतिफल पनि राम्रो छ । तर सरकारले ‘एन्टी टोबाको मुभमेन्ट’लाई अगाडी बढाइरहेको छ । यो मुभमेन्टले तपाईहरुको लगानी र प्रतिफलमा ब्रेक लगाउँछ ?
मैले अघिनै भने नेपालमा धेरैजसो नीति नियमहरु एनजीओको प्रभावमा बन्छन् । एफसीटीसीको महासन्धीमै कानुन बनाउँदा देशको आर्थिक, सामाजिक, रोजगारको अवस्था हेरेर बनाउन भनेको छ । तर यहाँ कानुन बनाउँदा संसारमा सबैभन्दा धनी देश भन्दा पनि उच्चस्तरमा बसेर बनायौ । गर्वको कुरा के भन्छु भने नेपालमा  सुन, नुन, तेलदेखि कुनैपनि चिज आयात नगरी सम्भव छैन । तर एउटा मात्रै वस्तु छ चुरोट ९९.५ प्रतिशत हामी आत्मनिर्भर छौ । हामी २० अर्बको चुरोटको कारोबार गर्छौ । यसले गर्दा २० अर्बको व्यापार घाटा कम गर्न सहयोग पुर्‍याएका छौं । ठूल्ठूला अन्तर्राष्ट्रिय ब्रान्डले समेत हामीसँग प्रतिस्पर्धा गर्न सकेनन्, उनीहरु फेल भए ।

सूर्य, शिखर लगायतको जुन ब्रान्डिङ थियो त्यो अमेरिका, खाडीलगायतका मुलुकमा लोकप्रिय थियो । यस्तो उत्पादनलाई आज आएर तथाकथित हेल्थ कन्सियसका कारण ७५ प्रतिशत र अहिले आएर ९० प्रतिशत चित्र राख्ने भनिएको छ । त्यसको कुनै औचित्य छैन । संसारभरिनै चुरोट लिगल प्रोडक्ट हो । संसारभरिनै त्यही रुपमा हेरिन्छ । स्वास्थ्य मन्त्रालय वा अहिले चुरोटका विरुद्धमा लागेका व्यक्तिहरु स्वास्थ्यप्रति सचेत छन् भने चुरोट नेपालमा २५ प्रतिशतले खान्छन् र ७५ प्रतिशतले चुरोट खादैनन् । यो समूहले २५ प्रतिशतलाई सुधार्न यत्रो लगानी गरेको छ  । 


पानीहाम्रा लागि अत्यावश्यक वस्तु हो । राजधानीमा बसेपनि हामी सबैसँग मिनरल वाटर खाने क्षमता हुँदैन । अहिले जुन पानी छ, त्यो स्तरको पानी खाँदा स्वास्थ्यमा असर गर्छ । उनीहरु स्वास्थ्यप्रति सचेत हो भने पहिलो प्राथमिकता स्वच्छ खानेपानी दिनुहोस, यसले राज्यलाई कुनै घाटा हुँदैन, कुनै लगानीकर्तालाई पनि घाटा पनि हुँदैन । त्यो कुरामा राज्यले प्राथमिकता किन दिँदैन ? स्वास्थ्य मन्त्रालयले शुद्ध पानी किन खुवाउँदैन ? चुरोट खायो भने दीर्घकालमा असर गर्छ । चुरोट खाँदा १० वर्ष, २० वर्षपछि खराब गर्ला ? दुषित पानीले विहानको बेलुकैअसर गर्छ । यति छिटो स्वास्थ्य खराब गर्नेलाई वास्ता नगरेर अरु क्षेत्रमा किन हात हालिरहेको छ ?
 
अर्को तेल हो । तेलको गुणस्तर भएन भने जन्डिस लगायतका गम्भिर रोग लाग्छ । यो विषयमा सम्वन्धित मन्त्रालय वा एनजीओ/आइएनजीओ जो जनताको स्वास्थ्यप्रति उत्तरदायित्व छु भनेर ठूलो हाँक दिनुहुन्छ, त्यो चिजमा किन केही गर्नुहुन्न ? उहाँहरुले चुरोटमा  एन्टी लबिङ गर्दा सय जनामा पाँच जनाले सुन्यो भने ९५ जनाले सुन्दैनन् । उहाँहरुले एक सय रुपैयाँमा ९५ रुपैयाँ लगानी खेर जान्छ । कसैलाई स्वच्छ पानी दियो भने त्यसको प्रतिफल पनि राम्रो हुन्छ । आम जनताको स्वास्थ्य प्रति सचेत छौं भन्नेहरुका लागि मेरो यो एउटा सानो सुझाव हो ।
 
सरकारको यो मुभमेन्टले तपाईहरुको व्यवसाय विस्तारमा असर त गर्यो होला ?
यसले व्यवसायमा असर भन्दा पनि समाजमा विकृति ल्याएको छ । हामी समाज स्वच्छ र सुन्दर होस् भन्ने चाहन्छौ । कुनैपनि छापा र विद्युतीय संचारमाध्यममा नराम्रो घटना भएकोलाई पनि मान्छेको मानसिक स्थिति विग्रिन्छ कि भनेर छोपेर देखाउने गरिन्छ । तर चुरोटको बट्टामा जुन हिसाबले चित्रहरु राख्न लगाएको छ, यसले मानसिक डरत्रास फैलाउने काम गरिरहेको छ । समाजमा २५ प्रतिशतले चुरोट पिउँछन्, ७५ प्रतिशतले पिउँदैनन् । ती चुरोट नपिउने ७५ प्रतिशतमा पनि मानसिक डरत्रास फैलाउने काम भएको छ ।

अहिले जुन लबिङ छ, त्यसले पनि चुरोट पिउने भन्दा नपिउनेलाई असर गर्छ । पिउनेले जोखिम लिएर पियो तर नपिउने मानिसलाई त्यो तस्विर हेरेर मलाई पनि त्यस्तो भयो कि भन्ने त्रास फैलाइएको छ । यो सरासर स्वास्थ्य विरोधी काम हो । धुमपान स्वास्थ्यको लागि हानिकारक छ भन्ने कुरा जनतालाई सूतिच गर्नुपर्छ, त्रास फैलाउने होइन । यसलाई बरु कत्रो कत्रो प्याकेटमा ‘धुमपान स्वास्थ्यको लागि हानिकारक छ’ भनेर जनचेतना जगाउने हो, त्यो गरौं । ज्यान लिन्छ भन्ने हो भने २५ प्रतिशतले चुरोटपिउँछन् । त्यसो भए ७५ प्रतिशत जनता मर्दै मर्दैनन् त, २५ प्रतिशत मात्रै मर्छन् ? ७५ प्रतिशत मान्छेलाई रोगै लाग्दैन् ?  मेरो तात्पर्य चुरोट राम्रो हो, यसको प्रवद्र्धन गर्नुपर्छ भन्ने होइन ।

हामी उत्पादकका हिसाबले जुन जुन कुराहरु छन, त्यसलाई आत्मसात गरेका छौ । संचार माध्यममा विज्ञापन दिन हुँदैन भनेपछि सहर्ष स्वीकार गर्र्यौ । कुनैपनि कलेजको गतिविधिमा प्रवद्र्धन गर्न पाँइदैन भने पछि त्यसलाई पनि स्वीकार गर्यौ ।  जुन जायज छ, त्यसमा हामी एक सय प्रतिशत सहमत छौं, तर जुन नाजायज छ त्यसमा कसरी सहमत हुने ? जस्तो यहाँ चुरोट स्टिकमा बिक्री गर्न हुँदैन भन्ने नियम छ । कुनैपनि सार्वजनिक स्थलको एक सय मिटर वरपर चुरोट बिक्री गर्न हुँदैन । काठमाडौंमा सार्वजनिक स्थल साच्चिकै हेर्ने हो भने शहरभरी एउटा पसल पनि राख्न मिल्दैन । यो कुनै विचार गरेर लेखेको कानुननै होइन । देशको स्थिति, परिस्थितीलाई हेरेर ल्याएको कानुननै होइन । यो कानुन विशुद्ध निहित स्वार्थ लिएर बसेको मान्छेहरुले जर्वजस्ती ल्याएको हो । 

 
तपाईको भनाईलाई आधार मान्ने हो भने यो कानुन स्वास्थ्यको नेतृत्व गरिरहेकाहरुले आफ्नो स्वार्थमा ल्याएको हो ?
शतप्रतिशत सही हो । सस्तो नारालाई जनतासँग क्यास गरेको मात्रै हो । 
 
 
सरकार व्यापारसँगै जनमैत्री समेत हुन्छ, सरकारले सामाजिक दायित्व पुरा गर्नुपर्छ । सरकारले जनताको स्वास्थ्यलाई हेरेर यो नीति ल्याएको होला?
हो । यो जनमैत्री किन भएन भने प्याकेटमा लगाएको डराउने चित्र छ, त्यसले गर्दा जनमैत्री भएन । प्याकेट हेर्नेवित्तिकै तपाईको मन डराउँछ । कति जना मान्छेलाई भएको छ त्यस्तो । तस्विरपनि दश ठाउँमा जोडेर बनाएको छ । साच्चिकै भन्ने हो भने जुन फोटो राखिन्छ, त्यो कस्को हो भन्यो भने स्वास्थ्य मन्त्रालयले प्रमाणित गर्न सक्दैन । अपवाद भनेको हरेक कुरामा हुन्छ । कुनै कुरा अपवाद ल्याएर झुठा अफवाह फैलाउने काम भएको छ । नभएको कुरालाई अफवाह बनाउने र तिललाई पहाड बनाउने काम भएको छ ।
 
सूर्य नेपालमा तीन दशकदेखि कार्यरत हुनुहुन्छ । तपाई आफै पनि विभिन्न उद्योगमा लगानी गरिरहनु भएको छ । यो बीचमा धेरै राजनीतिक दललाई समेत हेर्नुभयो । सत्ता वाहिर रहँदा धेरै राम्रा कुरा गर्ने नेताहरु सत्तामा जाँदा कार्यान्वयन गर्न सक्दैनन् । के कारणले नेपालमा लगानीको वातावरण बन्न सकेको छैन ?
प्रत्येक कर्मचारीदेखि राजनीतिज्ञहरुलाई देशको विकास गर्न मन लागेको छ । तर उनीहरुसँग योजना छैन । यो गर्यो भने के हुन्छ भन्ने अनुभुति छैन ।  जुन उद्देश्यले  हिडेको हो त्यो उद्देश्यको लागि उहाँहरुसँग समय छैन । मेरो अभिव्यक्तिबाट कोहीलाई चोट पुग्यो भने माफी चाहन्छु । तर म के भन्छु भने प्रत्येक मन्त्रीले छातीमा हात राखेर साच्चिकै भन्नुहोस त मन्त्री केको लागि बनेको ? जे गर्न मन्त्री बनेको हो त्यसका लागि दिनभरीमा एक घन्टा मात्रै समय दियो भने हाम्रो देश बन्छ । इमान्दारीपूवर्क उसले एक घन्टा मात्रै समय दियो भने यो देश पाँच वर्ष भित्रमा धेरै माथि पुग्छ । यहाँ लगानीको लागि दलहरुको प्रतिवद्धता छ, वातावरण छ, उदारता सबै छ तर एउटै के छैन भने जुन उद्देश्य हो, त्यसका लागि काम गर्नसमय छैन । 


 
तपाइँको भनाईको अर्थ राजनीतिक दल, मन्त्रीहरु आफ्नो स्वार्थ लिएर आएका छन् ?
स्वार्थ कसरी भनौं म । तर उनीहरु रनभुल्लमा छन् । के गर्ने, के नगर्ने भन्ने थाहा छैन । योजना छैन । जलस्रोत, पर्यटन, जडीवुटी सबै छ भन्छन् तर त्यसबाट लाभ लिन कस्तो योजना कार्यान्वयन गर्ने भन्ने व्यवहारिक ज्ञान छैन । 
 
त्यसो भए यसो भन्न सकिन्छ, कुनै मन्त्री भएर आयो भने देशको विकास भन्दा पनि आफ्नो स्वार्थ अनुकुल काम गर्छन् ?
म आफ्नो स्वार्थमा काम गर्छन भन्दिन् । जुन उदेश्य लिएर उहाँहरु त्यहाँ बसिरहनुभएको छ त्यो उदेश्यका लागि उहाँहरुसँग समय छैन । मन्त्री मात्रै नभनु जुनसुकै सरकारी पद त्यसको अनुशासन, आचारसंहिता त्यसमा पनि समय दिनुपर्छ होला । म कसैलाई आरोप लगाउन चाहन्न । जुन उदेश्यको लागि पदमा बस्नुभएको हो त्यो पुरा गर्न समय दिनुपर्यो । 
 
तपाई मदिरा उत्पादक संघको अध्यक्ष पनि हुनुहुन्छ । स्वदेशी मदिराका लागि आवश्यक कच्चा पदार्थ र आवश्यक बजार पनि छ । तर स्वदेशी मदिराप्रतिको विश्वास भने अझै बढ्न सकेको छैन ?
मदिरामा पैसा अनुसारको गुणस्तर छ । स्वदेशी मदिरामा जुन पैसा तिर्नुहुन्छ, त्यो अनुसारको धेरै राम्रो गुणस्तर नेपाली मदिरामा छ । पैसा अनुसार राम्रो छ । जुन कच्चा पदार्थको लागत अनुसार हेर्ने हो भने स्वदेशी मदिरा उत्कृष्ट छ । तर यहाँ के छ भने गरिब मुलुक भएका कारणले अर्बौ रुपैयाँ लगानी गरेर पनि मदिरा उद्योग हुन्छ र हजार/वाह्र सय लगानी गरेरपनि मदिरा उद्योग हुन्छ । चामल ल्याउनुहोस्, मर्चा ल्याउनुहोस्, त्यसलाई एउटा भाडोमा राखेर तताइदिनुहोस् मदिरा बनिहाल्छ ।

स्वदेशी मदिरामा गुणस्तर छैन भन्ने कुरामा म विश्वास गर्दिन् । तपाई कति पैसा तिर्नु हुन्छ ? तपाई ब्ल्याक लेभललाई पाँच हजार रुपैयाँ तिर्नु हुन्छ र स्वदेशी मदिरालाई हजार रुपैयाँ तिर्नुहुन्छ । पाँच हजार तिरेको मदिराको स्वाद हजार रुपैयाँमा खोज्नुहुन्छ भने त्यो हुनै सक्दैन । बजारमा विस्तारै विदेशी मदिरासँग प्रतिस्पर्धा गर्ने स्वदेशी मदिरा आइरहेका छन् । पछिल्लो समयमा आएको ओल्ड दरबार विदेशी ब्ल्याक लेभलभन्दा राम्रो छ । 

 
सरकारले मदिरा उद्योगको लाइसेन्स खोल्यो, नयाँ उद्योग खुल्ने क्रम बढेको छ । राजस्व पनि बढ्दो क्रममा रहेको छ । सरकारले राजस्वमा कस्दै पनि लगेको छ । तर सरकारी तथ्यांकले के भन्छ भने अझैपनि मदिरा उद्योगमा राजस्व चुहावट हुने क्रम रोकिएको छैन ?
आज भन्दा दुई वर्ष अघिको अवस्था हेर्नुहुन्छ भने मदिरामा राजस्व चुहावट थियो । आज के भन्छु भने शतप्रतिशत चोरी छैन भन्दिन तर केही नभएपनि ९० प्रतिशत राजस्व तिरेका छन् । घरयसी मदिराका कारण पचास प्रतिशत राजस्व गुमेको छ । रंगको नाममा ट्रकका ट्रक मदिरा आउँछ । काठमाडौंमा पाँच/छ ट्रक मिठाईको नाममा सख्खर आउँछ । यो सबै सख्खरबाट मदिरा बन्छ । यसबाट राज्यले राजस्व गुमाएको छ । तर उद्योगको हिसाबले ९० प्रतिशत राजस्व तिरेको छ । सबैभन्दा ठूलो समस्या मूल्यका कारण प्रतिस्पर्धा छ । गुणस्तरीय उत्पादन नबनाई बिक्री गर्न सकिदैन । 
 
सरकारले पछिल्लो समयमा माइक्रो ब्रुअरीको अवधारणा ल्याएको छ । यसलाई तपाईले कसरी हेर्नुभएको छ ?
माइक्रो ब्रुअरीको अवधारणामा म अत्यन्तै नकारात्मक छु । नेपालमा माइक्रो ब्रुअरीको सम्भावना छैन । यदि नेपालमा माइक्रो ब्रुअरीको अवधारणा ल्याउने हो भने अहिले उठिरहेको राजस्व ५० प्रतिशत गुम्छ । राज्यले कसरी नियन्त्रण गर्ने ? माइक्रो ब्रुअरीको राजस्व कसरी राज्यले उठाउँछ ? अहिले पनि घरायसी र नक्कली मदिराले सरकारको राजस्वमा असर गरिरहेको छ । अहिले मदिराको राजस्व एकसय प्रतिशत उठ्न नसक्नुमा साना छरपस्ट रहेको उद्योगकै कारण हो । राज्यले माइक्रो ब्रुअरीको लागि लाइसेन्स देला तर अनुगमन कसरी गर्छ ? राजस्व उठाउन सक्ने जनशक्तिनै छैन । राज्यले अन्तशुल्क लगाएको वस्तुमा सरकारको नियन्त्रण हुनुपर्छ । अहिले जति वियरको क्षमता छ यो पुग्दो छ । माइक्रो ब्रुअरी किन आवश्यक छ ? हामीजस्तो अल्पविकसित मुलुकमा राजस्व पनि महत्वपूर्ण छ ।