BIZMANDU
www.bizmandu.com

नस्डाकमा सूचिकृत कम्पनीमा पुग्नु हाम्रा लागि दुर्लभ अवसर नै हो, हेमराज ढकालको अन्तर्वार्ता

२०७२ असार ८

नस्डाकमा सूचिकृत कम्पनीमा पुग्नु हाम्रा लागि दुर्लभ अवसर नै हो, हेमराज ढकालको अन्तर्वार्ता
नस्डाकमा सूचिकृत कम्पनीमा पुग्नु हाम्रा लागि दुर्लभ अवसर नै हो, हेमराज ढकालको अन्तर्वार्ता


आईएमई मलेसिया विश्वको तेस्रो ठूलो रेमिट्यान्स कम्पनी रिया मनी ट्रान्सफरसँग मर्ज तथा एक्विजीशन भएको छ । नस्डाकमा सूचिकृत कम्पनीसँगको साझेदारीले आईएमईलाई कति फरक पार्छ ? आईएमई मलेसियाका प्रवन्ध निर्देशक हेमराज ढकालको अन्तर्वार्ता

Tata
Global Ime

विश्वको तेस्रो ठूलो रेमिट्यान्स कम्पनी रिया र मलेसियाको आईएमईवीच सेवा मर्ज भएको छ, यसले रेमिट्यान्स बिजनेशलाई कसरी फरक पार्छ ?
रिया भनेको रेमिट्यान्समा ग्लोबल लिडर हो, आईएमईले मलेसिया र खाडि क्षेत्रबाट दक्षिण एशियाली मुलुकमा पकड बनाएको छ । अब रियालाई हाम्रो सञ्जालको फाइदा हुनेछ, हामीले पनि युरोप र अमेरिकामा भएको उसको सञ्जाललाई उपयोग गर्न पाउँछौं ।
यसले दुवै रेमिट्यान्स कम्पनीका ग्राहकले फाइदा पाउनेछन् । त्यसबाहेक उनीहरुको वित्तीय अवस्था राम्रो छ, बिजनेशको भोल्युमले ‘कस्ट अफ फण्ड’ कम पर्छ, यसले ग्राहकलाई रकम रेमिट्यान्स गर्न अझ बढी सुरक्षित, भरपर्दो र सेवा सस्तो हुनेछ । उनीहरुको वित्तीय अवस्था बलियो छ, तरलता प्रशस्त छ । यसले व्यापार वृद्धिका लागि थप अवसर पनि प्राप्त हुन्छ ।

पढ्नुहाेस्
नस्डाक सूचिकृत युरोनेटको आईएमई मलेसियामा लगानी, तेस्रो ठूलो रेमिट्यान्स कम्पनीसँग मर्ज

आइएमई र रियावीच मर्ज तथा एक्विजीशन भएको छ । अब कम्पनीको नाम, स्ट्रक्चर र व्यवस्थापनमा कति परिवर्तन हुन्छ ?
अहिले  जसरी सञ्चालन भैरहेको छ, अब पनि त्यसैगरी सञ्चालन हुन्छ । ब्राण्ड अब पनि आईएमईकै रुपमा सञ्चालन हुन्छ । अहिले व्यवस्थापन पनि परिवर्तन हुँदैन् । कम्पनी भने अब युरोनेटको सहायक कम्पनीका रुपमा सञ्चालन हुन्छ । त्यसबाहेक हामीबाट ग्राहकले पाउने सेवा र सुविधा अहिले यथावत रहन्छ ।

आइएमई मलेसियामा सानो कम्पनीका रुपमा सुरु भएको थियो, विस्तार भयो र अब नास्डक सूचिकृत कम्पनीको सहायक कम्पनी बन्यो, एउटा नेपालीका रुपमा यो कति ठूलो उपलब्धि हो ?
हाम्रा लागि यो एउटा दुर्लभ अवसर हो । सन् २००३ देखि मलेसियामा हामीले सेवा सुरु गर्यौं । आजका दिनमा यो कम्पनी एउटा ग्लोबल कम्पनीको हिस्सा बनेको छ, योभन्दा ठूलो के हुन सक्छ । हामी यहाँबाट सिधै नास्डकमा गएर सूचिकृत हुनु भनेको असम्भव नै हो । तर उस्तै व्यापार भएको कम्पनीसँग मर्ज भएर त्यहाँ पुग्नु हाम्रा लागि राम्रै उपलब्धि हो ।

मर्ज तथा एक्विजीशनमा आइएमई समूहले के पायो ?
उनीहरुले हामीलाई केही नगद र बाँकी युरोनेटको सेयरमा सेटलमेन्ट गरेका छन् ।

मलेसिया लगायत खाडी मुलुकमा आइएमईको राम्रो उपस्थिति थियो, रियासँगको साझेदारीपछि अब अमेरिका र युरोपमा भएका नेपालीले कसरी सुविधा पाउँछन् ?
रियासँग प्रविधि राम्रो छ, नयाँ नयाँ प्रविधि उनीहरुले इनोभेसन गरिरहेका हुन्छन्, ती प्रविधिको अब हामीले पनि प्रयोग गर्न सक्छौं । यसले अब सेवाको गुणस्तर बढ्छ । अमेरिका युरोपबाट अब कार्ड, एटिएमबाट नेपालीले नेपाल लगायतका मुलुकमा रकम पठाउन सक्छन् । अब नेपालीले पहिलेभन्दा धेरै सजिलै पैसा पठाउन सक्छन् ।

रियाको प्यारेन्ट कम्पनी युरोनेटको विद्युतीय वित्तीय प्रणालीमा राम्रो पकड छ, के उनीहरु नेपालमा आएर काम गर्न इच्छुक छन् ? तपाईंको केही कुरा भएको छ ?
हामी दुई कम्पनीवीच अहिले बल्ल सहकार्य सुरु भएको छ । पक्कै पनि उनीहरुले एटिएम, पिओएस ट्रान्जेक्शनमा जुन सेवा दिइरहेका छन्, त्यो सेवा नेपाली बैंकलाई पनि उपलब्ध गराउन उनीहरु उत्सुक छन् ।