BIZMANDU
www.bizmandu.com

सरकारले सहुलियत दिए अब गाडी एसेम्बलिङ उद्योग, नाडा उपाध्यक्ष अञ्जन श्रेष्ठको अन्तर्वार्ता

२०७२ असोज ६

सरकारले सहुलियत दिए अब गाडी एसेम्बलिङ उद्योग, नाडा उपाध्यक्ष अञ्जन श्रेष्ठको अन्तर्वार्ता
सरकारले सहुलियत दिए अब गाडी एसेम्बलिङ उद्योग, नाडा उपाध्यक्ष अञ्जन श्रेष्ठको अन्तर्वार्ता


Tata
Global Ime

अञ्जन श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य र नेपाल अटोमोबाइल डिलर्स एसोसिएन (नाडा) का उपाध्यक्ष हुन् । सडक पूर्वाधारको निर्माणसँगै सवारी साधनको आयात बढ्दो क्रममा रहेको छ । अटोमोबाइल क्षेत्रको विस्तारसँगै चुनौतिहरु पनि थपिदै गएका छन् । अटोमोबाइल क्षेत्रको छाता संगठन नाडाको निर्वाचनको पूर्व सन्ध्यामा अध्यक्षका उमेद्वार समेत रहेका युवा उद्यमी श्रेष्ठलाई बिजमान्डूका सविन मिश्रले सोधे, अटोमोबाइल क्षेत्रको योगदान बढी भएपनि तपाईहरुको आवाज सरकारले किन सुनिरहेको छैन ?
 
अटोमोवाइल क्षेत्रले देशको राजश्वमा ३० प्रतिशत योगदान दिएको छ ।  तर तपाईंहरुको आवाज राज्यले सुनिरहेको छैन । तपाईहरु बलियो नभएर यस्तो अवस्था आएको हो  ?
हाम्रो आवाज सशक्त भएन भन्ने सत्य होइन । सरकारका पनि आफ्ना बाध्यताहरु होलान् । हामीले नाडाबाट सशक्त रुपमा एजेन्डा राखेका छौं । त्यो बजेटका बेला होस चाहे हाम्रा विभिन्न कार्यक्रमहरुबाट नै किन नहोस, हामीले भ्वाइस सशक्त बनाएका छौं । हामीले मन्त्रालय, विभागजस्ता सरकारी कार्यालयमा गएर नाडामार्फत आवाज उठाएका छै । योसँगै सम्पूर्ण व्यवसायीको छाता  संगठन नेपाल उद्योग वाणिज्य महासंघमार्फत पनि आवाज उठाएका छौं । नाडा महासंघको सशक्त वस्तुगत संस्था भएकाले हामीले महासंघमार्फत पनि कुरा अगाडि बढाइरहेका छौं ।
 
पहिला सरकार पहिले अलि रिजिड थियो, तर पछिल्लो समयमा हाम्रा कुरा सुन्न थालेको छ । त्यसको अनुभूति हामीमा छ । हामीले सशक्त रुपमा कुरा राख्न सकेको र नेतृत्वले पनि परिपक्वता देखाएको देखिन्छ ।
 
नाडा भन्ने वित्तिकै समग्र अटो मोवाइल क्षेत्रलाई बुझिन्छ । तर त्यो भित्र पनि स्पेयर पार्ट्स र सवारी साधन विक्रेताहरु दुई थरी देखिन्छन् । त्यसको बीचमा अलिकति मिसम्याच हो कि ? यी दुईबीच समन्वय कसरी अगाडि बढिरहेको छ ?
 
नाडाको कुरा गर्दा एक पटक इतिहासतिर नै जानुपर्छ । जतिबेला नाडा भन्ने संस्था खुल्यो त्यतिबेला विदेशबाट सवारीसाधन आयात एकदमै कम थियो । आयातकर्ता नै कम थिए । एक/ दुईवटा कम्पनीका गाडी मात्रै आउँथे । अझ सेकेन्ड ह्याण्ड गाडी धेरै आउँथे । सुरुमा स्पेयर / पार्ट्सका साथीहरुले यो व्यवसायलाइ अघि बढाएको इतिहास देखिन्छ । क्रमबद्ध रुपमा यसमा गाडी आयातकर्ताहरु, एक्सेसरिजवालाहरु पनि यसमा सहभागी हुँदै गएको देखिन्छ । यसमा ल्युबआयल, टायर ट्युबका व्यवसाय गर्ने साथीहरु आबद्ध हुनुभयो । नाडाले सधैं यी सबै व्यवसायीलाइ एकत्रित गरेर व्यवसायिक मुद्धा अघि बढाएको छ । नाडामा विभिन्न क्षेत्रगत कमिटी छन् । ती कमिटीहरुले एकअर्काबीच सामञ्जस्यता बढाउन र संस्थालाई एकबद्ध बनाउने काम गरिरहेका छन् । यो काम निरन्तर जारी रहन्छ । 
 
नाडामा त्यस्तो कुनै समस्या छैन र आउँदैन भन्ने मेरो विश्वास छ । नाडामा सवारीसाधन , स्पेयर पार्ट्स, लुब्रिकेन्ट, टायर ट्युब समिति छ । ती समितिहरुले आ-आफ्ना क्षेत्रगत मुद्धा हेर्छन् । क्षेत्रगत विषयवस्तुलाई अगाडि बढाउँछन् । कहिलेकाँही नीतिगत मुद्धा पनि आउँछन्  । ती नीतिगत मुद्धा क्षेत्रगत समितिहरुले अगाडि ल्याउँछन् र नाडाको कार्यसमितिले संस्थागत रुपमा कसरी अगाडि बढाउने गर्छ । अत्यन्तै समन्वयात्मक हिसाबले नाडाले काम गर्दै आएको छ र दुबै व्यवसाय एक अर्काको परिपुरक हुन् भन्ने मान्यता आत्मसात गरेको छ ।
 
नाडाको सुरुवात स्पेयर पाट्स व्यवसायीहरुले गरेपनि पछिल्लो नेतृत्वको विकासक्रम हेर्दा ठुला व्यवसायीले मात्रै गरेको देखिन्छ । अब के नाडा हाँक्ने भनेको ठुला व्यवसायीले मात्रै हो ?
त्यो अवस्य पनि होइन । नाडामा पहिला चुनावहरु हुँदैन थियो । पछिल्लो तीन कार्यकाल चुनाव भएको छ । पहिला सबै सर्वसम्मत भए । सर्वसम्मत भनेको संस्थामा सबैको ऐक्यबद्धता रहेको सन्देश पनि हो । अहिले आएर नयाँ नेतृत्व लिने समय आएको छ । त्यसमा निर्वाचनको कुरा भइरहेको छ । तर अझै पनि सर्वसम्मतीको प्रयास भइरहेको छ । सर्बसम्मत नभए सदस्यहरुको विश्वास र क्षमताको आधारमा नेतृत्व चयन हुन्छ ।  यसले नै गर्नुपर्छ भन्ने छैन । तर नेतृत्व लिन अगाडि सर्ने व्यक्तिले नेतृत्व क्षमता देखाउनु पर्छ ।
 

नेतृत्व सबल र सक्षम हुनुपर्छ । उसँग क्यापाबिलिटी हुनुपर्छ । किनभने यो संस्था भनेको व्यवसायीको हक हितका लागि लबिङ गर्ने सस्था हो । सरकारसँग लबिङ गर्दा सशक्त रुपमा कसले आफ्ना कुरा अगाडि राख्न सक्छ त्यस्ता व्यक्तिलाई नै नेतृत्व दिएको अवस्था छ । भोलिका दिनमा पनि त्यही हुन्छ होला भन्ने म अपेक्षा गर्छु ।
 
यो क्षेत्र अलि प्राविधिक पनि छ र यसलाई अगाडि बढाउन दक्षता पनि चाहिन्छ । यसमा भन्सार, राजश्वका कुराहरु पनि हुन्छन् । त्यसका लागि नेतृत्व बलियो चाहिन्छ भन्न खोज्नु भएको हो ?
 
हो । अटोमोवाइल क्षेत्र देशमा सबैभन्दा बढी राजश्व तिर्ने क्षेत्र हो । पेट्रोलियम पदार्थ पछि बढी राजस्व तिर्ने हामी हौं । मेरो दावी त अटोमोवाइ क्षेत्र नै पहिलो भन्ने छ । पेट्रोलियमको  उपभोग आजको दिनमा हिसाब गर्ने हो भने सवारी साधनले धेरै खपत गरेको हुन्छ । यो हिसाबले त्यो योगदान हाम्रै हो भन्ने मलाई लाग्छ । दोस्रो कुरा यो क्षेत्र वृहत हुँदै गएको छ । यसमा चुनौतिहरु पनि थपिँदै गएका छन् । यी समस्याहरु बुझेको र जुध्न सक्ने नेतृत्व चाहिन्छ । त्यसका लागि यही क्षेत्रमा काम गरेको व्यक्ति चाहिन्छ । यसमा राजश्वका कुराहरु हुन्छन्, नीतिगत कुराहरु हुन्छन् । नीतिगत तहमा विगतमा सरकारसँग छलफल गरिरहेको, सरकारसँग बारम्बार लबिङ लागिरहेको व्यक्ति यसमा आवस्यक हुन्छ । जसले बलियो रुपमा व्यवसायीको कुरा राख्न सकोस ।
 
अर्को पक्ष भनेको देशमा नयाँ संविधान जारी भइसकेको छ । नयाँ संविधान जारी भएपछि भोलिका दिनमा ऐन/ नियमहरु संशोधन गर्नुपर्छ । यो समय थप जटिल समय हो  । यो बेलामा नाडाको र समग्र व्यवसायिक क्षेत्रलाई भोलि पर्नसक्ने असरहरु, यसमा आकर्षित हुन सक्ने ऐन/नियमका कुराहरुलाई सशक्त रुपमा अगाडि बढाउनुपर्छ । यस्ता चुनौतिका दिनहरु आउँदैछन् । जसको विगतमा बलियो अनुभव छ त्यस्ता मान्छेहरु अब नेतृत्वमा आउनुपर्छ । जसले भोलिका दिनमा समग्र निजी क्षेत्रलाई नै सही वातावरण बनाउने काममा लागिपर्छन् । यो नेतृत्वले भोलिका दिनमा पनि सही वातावरण बनाउने काममा एड्भोकेसी गर्न सक्ने हुनुपर्छ ।
 
संविधान जारी भएपछि आर्थिक समृद्धिका कुराहरु पनि गरिरहेका छन् । राजनीतिक नेतृत्वमात्रै होइन कि टेक्नोक्रेटहरु पनि त्यही भनिरहेका छन् । समृद्धि भन्नुको अर्थ मानिसहरुसँग सवारी साधन पनि हुनु हो । यसको अर्थ फ्लोरिस हुने समय पनि अब हो । यसको अर्थ हामीले अब सही नीति निर्माण गर्न सकेनौं भने त हामी पछि पर्‍यौं होइन ?
 
अवस्य पनि । तर त्यो भन्दा अगाडि म एउटा कुरा के भन्छु भने संविधान जारी भयो, अब राजनीतिक एजेण्डाले निकाश पायो भने आर्थिक मुद्दाले प्राथमिकता पाउँछ । राजनीतिक मुद्दा समाधान भएपछि आउने भनेको आर्थिक मुद्दा नै हो । मुलुकले अब काँचुली नफेरे कहिले फेर्ने ? यो एकदमै जरुरी कुरा हो । यसका लागि हामी व्यवसायीको रिप्रिजेन्टेशन गर्ने संस्थाका हामी सदस्यहरु एवं नेतृत्वमा भएका सदस्यहरु सशक्त रुपमा अगाडि जानुपर्ने बेला भएको छ । अहिले चुनौति छ, तर यो अवसर पनि हो । चुनौति एकातिर छँदैछ तर अवसरलाई हामीले कन्भर्जन गर्न जान्नु पर्छ । हामीसँग त्यो क्यापाबिलिटी हुनुपर्छ । हामीसँग उत्साह, जाँगर, आँट र साहस हुनुपर्‍यो । हामी त्यही लिएर अगाडि बढ्ने हो । त्यो किसिमको नेतृत्व अब जरुरी छ भन्ने मेरो धारणा हो ।
अब विश्व राजनीतिबाट हामी अछुतो हुन सक्दैनौं । मुलुक सधैं राजनीतिकै वरिपरी घुमिरहन सक्दैन । अब विश्व परिस्थिती र छिमेकी देशलाई हेरेर, सिको गरेर पनि हामी अगाडि बढ्नुपर्छ । छिमेकी दुई देशले गरेको प्रगतिबाट सिकेर पनि हामी आर्थिक विकासमा अगाडि बढ्नैपर्छ । हामी आशावादी छौं । त्यसकारण आर्थिक विकास भनेको पहिलो कुरा पूर्वाधार हो । यो निशर्त कुरा पनि हो । पूर्वाधार भइसकेपछि त्यहाँ यातायातका साधन फस्टाउने दिन आउँछ । यातायातको विकास भइसकेपछि आर्थिक समृद्धिको बाटोतर्फ लैजान्छ । त्यसकारण सबै क्षेत्रमा समृद्धि आउँछ र नेपाल अगाडि बढ्छ भन्ने हाम्रो विश्वास छ ।
 
आर्थिक रुपमा मानिसहरु सम्पन्न हुँदै जाँदा सवारी साधनको उपभोग पनि बढ्दै जान्छ । त्यसका अतिरिक्त नेपालमै सवारी साधन एसेम्बलिङको कुरा पनि छ । केही कम्पनीले एसेम्बलिङ बन्द गरेका छन् भने केही कम्पनीले सुरु गर्न खोजिरहेका पनि छन् । के चाँहिदो रहेछ नेपालमै एसेम्बलिङ उद्योगलाई बलियो बनाउन ?
 
यो भन्दा पहिले म पूर्वाधारलाइ जोड्न चाहन्छु । सरकारले सबै सदमुकाममा सडक पुर्‍याउने योजना अगाडि सारेको छ । अब दुईवटा सदरमुकाम मात्रै सडक सञ्जालबाट बाहिर छन् । यो बजेटमार्फत सरकारले आगामी २ वर्षमा सबै निर्वाचन क्षेत्रमा सडक पुर्‍याउने लक्ष  लिएको छ । यो निश्चय पनि स्वागतयोग्य कुरा हो । सडक विस्तारमा हामीले सरकारको प्रशशा गर्नुपर्छ । सँगसँगै निमार्ण भइसकेका सडकको स्तरोन्नती पनि आवस्यक छ । सडकलाई सुरक्षाका दृष्टिकोणबाट पनि सडकको स्तरोन्नती गर्नु आवस्यक छ । सडकहरु इन्जिनियरिङ डिजाइन अनुसार छन् कि छैनन हेर्नुपर्छ । सडकमा टाफिक चिन्ह राख्नुपर्छ ।
 

काठमाडौंमा दुर्इ वर्ष अघि सडक चौडा भएका छन् । त्यसले यहाँको ट्राफिक व्यवस्थापन निकै फरक भएको छ । काठमाडौं जस्ता मेट्रो सिटीमा पूर्वाधारमा विशेष ध्यान दिनुपर्छ । एलिभेटेड रोडहरु बनाउनै पर्छ । एलिभेटेड रोड बनाएर बागमती, धोबीखोला र विष्णुमति करिडोर र लिंक रोडहरुको निर्माण पुरा गर्नैपर्छ । रिंगरोडको स्तरोन्तिको काम जुन भइरहेको छ त्यो पनि छिट्टै सक्नुपर्छ ।
 
पूर्वाधार विकासलाई काठमाडौं भित्र र बाहिरका ठाउँहरुमा सँगै अगाडि बढाउनु पर्छ । अहिले अटोमोवाइल क्षेत्रको वार्षिक २०/२५ प्रतिशतको जुन वृद्धि भइरहेको छ, त्यो राम्रो संकेत छ । यसले गर्दा नेपालमै एसेम्बलिङ उधोगको बहस सुरु भइसकेको छ । सरकारले केही सहुलियतको घोषणा गरेको छ । अब एसेम्बलिङ उद्योग संभावना पर्याप्त छ ।
 
इकोनोमिक स्केलका आधारमा मोटरसाइकलको पर्याप्त संभावना देखिएको छ । मोटरसाइकलको एसेम्बलिङ प्लान्ट दुई/तीन महिनामै आउँदैछ । अर्को एक व्यवसायीले पनि एसेम्बलिङ प्लान्ट ल्याउने घोषणा गर्नु भएको जानकारी हामीले मिडियामार्फत पाएका छौं । अरु साथीहरु पनि यसमा आकर्षित भएका छन् । मोटरसाइकलका केही साथीहरु पर्ख र हेरको अवस्थामा छन् ।
 
चारपांग्रे सवारी साधनको कुरा गर्दा अलिकति इकोनोमिक स्केल पुगेको छैन कि भन्ने हामीलाई लागेको छ । दोस्रो कुरा चारपांग्रेको एसेम्बलिङ प्लान्ट  संचालनका लागि सरकारले दिएको सुविधा अपर्याप्त छ । चारपांग्रे सवारी साधनको एसेम्बलिङ प्लान्टका लागि पूर्वाधार पनि ठुलो चाहिन्छ । लगानी पनि ठुलो चाहिन्छ भने विना अवरोध बिजुली आउनु पर्छ । यी कुरा निशर्त कुराहरु हुन् । आज हामीले जुन इकोनोमिक स्केलमा गाडीहरु बेचिरहेका छौ । दुई/तीन वटा कम्पनीहरु इकोनोमिक स्केलतर्फ उन्मुख हुने अवस्थामा छ । दुई/तीनवटा कम्पनीहरु यो अवस्थामा छन् । तर त्यसका लागि सरकारले अहिलेको भन्सार दरबन्दीलाई केही घटाइदिनु पर्छ । त्यो भयो भने चारपांग्रे सवारी साधनको जुन बेस छ त्यो अलिकति माथि पुग्छ । त्यो भयो भने एसेम्बलिङ प्लान्ट अगाडि बढ्न सक्छ ।
 
आयात र निर्यातको खाडल बढिरहेको छ । अहिले त  नौ गुणा बढि पुगिसकेको छ । पाँच गुणा थियो अहिले नौ गुणा पुग्यो । यो कुरा सबैले महसुश पनि गरेको हो । आयात घटाउनु पर्छ भनेर मनन पनि भएको छ र यो कुरा कार्यान्वयनमा आउन सकेको छैन । यो बिकराल अवस्थामा पुगेको छ । एसेम्बलिङ इन्डस्ट्रीले भोलिका दिनमा कमसेकम आयात प्रतिस्‍थापन त गर्न सक्छ । निर्यात गर्छ भन्दा पनि आयात घटाउन त सकिन्छ । सुरुका दिनमा एसेम्बलिङ इन्डस्ट्री भनेको भ्यालु एडिसनमा आयात प्रतिस्थापन हुन्छ ।
 
एसेम्बलिङ इन्डष्ट्री खुल्नु भनेको  नेपालको औद्योगिकरणको परिभाषा फेरिनु हो । हामीले तुलनात्मक लाभका क्षेत्रहरु औंलामै गन्न सक्छौं । त्यसो हुनाले हामीले औद्योगिकरण अगाडि बढाउन पनि एसेम्बलिङ इन्डष्ट्रीलाई अगाडि बढाउनु पर्छ । त्यसका लागि सरकारले सहुलियत दिनैपर्छ । एसेम्बलिङ इन्डष्ट्रीको अर्को सुन्दर पक्ष भनेको यहाँ सहायक उद्योगहरु धेरै खुल्छन् । रोजगारी सिर्जना हुन्छ । सहायक उद्योगहरु आइसकेपछि औद्योगिकरणका नयाँ आयाम सुरु हुन्छन् । सहायक उद्योगहरु खुल्न थालिसकेपछि त्यहाँ औद्योगीकरण फेरि नयाँ बाटोमा अगाडि बढ्छन् । यसले औद्योगिकरणलाई अझै बढाउँछ ।
 
एसेम्बलिङ इन्डष्ट्रीलाई सरकारले प्याकेजिकै रुपमा अगाडि बढाउनु पर्छ । हरेक कुरा विन/विन सिचुएसनमा हुन्छ । राज्यले व्यवसायीले  केही पाउने गरि प्याकेजमै इन्सेन्टिभ ल्याउनुर्छ । हामी पनि मूल्य अभिवृद्धिको प्रतिबद्धता जनाउन तयार छौं । हामी पनि निश्चित समयमा यती स्थानीय उत्पादन दिन्छौं भनेर प्रतिबद्धता जनाउन सक्छौं, त्यो भनेको त सहायक उद्योग खुल्ने पनि हो नि । एसेम्बलिङ इन्डष्ट्री जसले ल्याउँछ उसैले एन्सिलरी उद्योग ल्याउने होइन । प्रोत्साहन गर्नै हो । आजको दिनमा स्पेयर पार्ट्सको व्यापार भइरहेको छ । सरकारले सहुलियत दिए स्पेयर पार्टस व्यवसायीलाइ भोलि उद्यमी बनाउने तिर प्रोत्साहन गराउन सक्छौं । यो भनेको त ट्रेडबाट म्यानुफ्याक्चरिङमा कन्भर्ट गराउने कुरा पनि हो ।  
 
सरकारले केही भ्यालु एडिसन भएन भने इन्सेन्टिभ दिन सकिँदैन भनिरहेको छ । अहिले भ्यालु एड गराउन सक्ने आधार व्यवसायीहरुसँग के छ त ?
सुरुको केही समयमा भ्यालु एडिसन कम हुन्छ ।  शत प्रतिशत सामान बाहिरबाट आउँछ । तर यहाँ रोजगारी सिर्जना हुन्छ । लोकल कम्पोनेन्ट भनेको पहिलो कुरा यहाँको श्रम हो । अरु कम्‍पोनेन्ट पनि हुन्छ । विद्युत पनि छ । प्लास्टिकहरु तत्काल हुँदैनन् । तर पछि त्यो पनि काम हुन्छ । त्यसकारण सुरुमा भ्यालु एडिसन कम हुन्छ । तर १० वर्ष भ्यालु एडिसन यती प्रतिशत पुर्‍याउछौं र लोकल कम्पोनेन्ट यती प्रतिशत पुर्‍याउछौं भनेर हामीले कमिटमेन्ट गर्न सक्छौं । यसका लागि प्याकेज बनाउन सक्ने धेरै आधारहरु चाँही छन् ।
 
सवारी साधनको अधिकतम खुद्रा मूल्य (एमआरपी) तोकिएपछि विवाद सिर्जना भयो, यसमा व्यवसायीको पनि विरोध हो ?
 
एमआरपीमा हाम्रो विरोध छँदै छैन । हाम्रो विरोध छ भन्नु गलत हो । एमआरपी भनेको त नाडाले दिएको एजेण्डा हो । विगतमा भन्सार मूल्यांकन गलत भयो भनेर नाडाले केही सुझाव दिएको थियो । भन्सार विभागलाइ गाडीको एमआरपी तोक्नुपर्दछ भनेर सुझाव दिएका हौं । नाडाले फ्रि एन्ड फेयर ट्रेन्ड हुनुपर्छ भन्ने मान्यता राख्छ । सरकारले नीति नियमबाट सहज बनाइदिनु पर्छ । ह्यासल्स फ्री हुनुपर्छ । दोहोरो मापदण्डका ऐन/नियममा हुनु हुँदैन । नाडाले धेरै अगाडिदेखि आफ्नो अजेण्डाको रुपमा फ्री एण्ड फेयर ट्रेडलाई राखेको छ । त्यसलाई हामीले सरकारसँगको सहकार्यमा एमआरपी घोषणा गर्ने योजना त्यतिबेला बनाएका हौं । त्रैमासिक रुपमा प्रत्येक गाडी आयात कर्ताले एमआरपी घोषणा गर्ने विषय कार्यान्वयनमा हामीले नै ल्याएका हौं ।
 

विगत ५ वर्षदेखि गाडी आयात सम्बन्धि विशेष व्यवस्था कार्यान्वयन भइरहेको छ । प्रत्येक आर्थिक अध्यादेशमा त्यो समावेश छ । गाडी उत्पादन कम्पनीले नै गाडी पठाउने र आयात गर्ने आयातकर्ता आधिकारिक विक्रेता हुनै पर्ने व्यवस्था लागु भयो । उत्पादक कम्पनीले आधिकारिक विक्रेता तोक्नै पर्छ । यदी उत्पादकले यहाँ निर्यात गर्न नसक्ने अवस्था छ र बीचमा कुनै कम्पनी राखेको छ भने उत्पादकले त्यस्ता कम्पनीलाई आधिकारिक निर्यातकर्ता तोक्ने भन्ने विषय कार्यान्वयनमा आएको छ । त्यसपछि सवारी साधनमाथि रहेका भन्सार मूल्यांकनसम्बन्धि जुन विषय थियो त्यो चाँही निराकरण भयो ।
 
सन्दर्भ मूल्य सूचीमा केही समस्‍या छ नि होइन ?
 
सन्दर्भ मूल्य सूचीमा हुनु हुँदैन भन्ने हाम्रो धारणा हो । यो माग नाडाले, उद्योग वाणिज्य महासंघ र समग्र निजी क्षेत्रले उठाएको माग हो । हामी अन्तर्राष्ट्रिय सन्धीको सदस्य हुने तर अन्तर्राष्ट्रिय सन्धी सम्झौता विपरित मूल्य आफ्नै हिसाबले तोक्ने गरिरहेको छ । साफ्टा, डब्लुटिओले सन्दर्भ मूल्य सूचीको विषयमा बोलेको छैन । त्यसले कारोबार मूल्यलाई मान्यता दिनुपर्छ भनेको छ । कारोबारलाई एससेसमेन्ट गर्ने मेथडहरु दिएको छ । त्यस अनुसार गर्नुपर्छ भनेर लेखेको छ । सरकारलाई त्यस्तो कारोबार सही नलागे पाँच प्रतिशत थपेर किन्न सक्ने व्यवस्था एनमा छ ।  अर्को त्यहाँ पिसिए गर्न सक्छ । त्यति हुँदा हुँदै पनि सन्दर्भ मूल्य ल्याएर दुख दिने काम भयो ।
 
अहिले स्पेयर पार्ट्समा समस्या छ भन्ने आएको छ, यसलाई कसरी समाधान गर्न सकिन्छ ?
स्पेयर पार्ट्समा ठुलो समस्या छ । प्रमुख समस्या भनेको सन्दर्भ मूल्यनै हो । खुला भन्सारका कारण चोरी निकासीबाट विभिन्न किसिमका पार्ट्सहरु आइरहेका छन् । यसले गर्दा स्वच्छ व्यापार गर्नेहरु मर्कामा छन् । यसले व्यवसायी र उपभोक्ता दुवैलाई मर्का परेको छ । यसले सरकारको राजस्वमा समेत प्रभावित भएको छ । हामीले सरकारलाई स्पेयर पार्ट्सको भन्सार धेरै भयो भनेका छौं तर सरकारले तीन वर्षअघि अन्तशुल्क थपिदिएको छ । त्यतिका बाबजुत पनि साफ्टा अन्तर्गत दिनुपर्ने सुविधा कटौती गरेर साफ्टाको मर्म विपरीत काम गरेको देखियो । सरकारले यी विकृति हटाउन एकल भन्सार दर ५ प्रतिशतमा ल्याउनु पर्छ भन्ने हाम्रो माग छ ।
 
सार्वजनिक खरीद ऐनका कारण पार्ट्स व्यवसायीलाई समस्या भइरहेको छ । हुन त अरु क्षेत्रमा पनि समस्या छ । तर पार्ट्समा अझ धेरै समस्या देखिएको छ । ऐनको प्रावधानका कारण तीन लाख भन्दा बढीको सामान खरीदमा अनिवार्य टेन्डर गर्नुपर्ने व्यवस्था छ जसले सरकारी सवारी साधनको ठूलो दुर्घटना भएमा मर्मत सम्भार समेत गर्न सकिदैन ।
डलरको भाउ बढेको छ । मूल्य वृद्धि भइरहेको छ । सरकारी सवारी साधनहरु ठुलो मर्मत गर्नुपर्‍यो भने समस्या छ । त्यसकारण यसलाई समय अनुसार बढाउनु पर्छ । खरीद ऐन संशोधन गरेर १० लाख पुर्‍याउनु पर्छ ।
 
नाडा अटो शोको कुरा गरौं । हाम्रो प्रदर्शनीस्थल हेर्ने हो भने अन्तर्राष्ट्रियस्तरको छैन । यसलाई अगाडि बढाउन तपाईंहरुको सोच के छ ?
 
निजी क्षेत्रले अन्तर्राष्टिय प्रदर्शनीस्थल निर्माणका लागि दबाब दिदै आएको छ । व्यवसाय वृद्धिको बाधक भयो भनेर हामीले नेपाल उद्योग वाणिज्य महासंघबाट पनि यो कुरा उठाइरहेका छौं । तर अहिलेसम्म बन्न सकेको छैन ।  यो नितान्त जरुरी भइसकेको छ । नाडा अटो शो वृहत र भब्य हुँदै गएको छ ।  नाडा सशक्त रुपमा प्रदर्शनी गरिरहेको संस्था हो । अटो शो १० औं संस्करणमा पुगिसकेको छ । प्रत्येक संस्करणको भव्यता र विस्तृतता बढिरहेको छ । अटो मोवाइल क्षेत्रको विकास तीव्र रुपमा भइरहेको छ । यो क्षेत्रमा नयाँ नयाँ व्यवसायीहरु आइरहनुभएको छ ।  अहिलेनै यो प्रर्दशनीस्थल सानो भइसकेको छ भोलीका दिनमा व्यवस्थापन गर्न कठिन हुनेछ ।  हाम्रो आव्हान सरकारले तत्कालै प्रदर्शनीस्थल बनाइदिनु पर्‍यो । विभिन्न मोडलमा प्रर्दशनीस्थल बनाउन सकिन्छ । सार्वजनिक निजी अवधारणामा प्रर्दशनीस्थल बनाउन सकिन्छ । यो अवधारणामा नाडा सहभागी हुन तयार छ ।
सडक सुरक्षाको विषयमा नाडाले खासै काम गरेको देखिएको छैन ।  तपाईंहरुले त्यसतर्फ ध्यान नदिनुभएकै हो ?
 
नाडाले यो मुद्धामा सशक्त रुपमा अघि बढेको छ । व्यवसायीहरुले सडक सुरक्षाका विषयमा सशक्त आवाज पनि उठाएका छन् । विभिन्न कार्यक्रमहरु भइरहेका छन् । सवारी चालक प्रशिक्षण पनि केही साथीहरुले दिइरहेका छन् । केही कम्पनीहरुले इनहाउस ट्रेनिङ सेन्टर पनि चलाएका छन् । नाडाले पूर्वाधार, सडक सुरक्षा र वातावरणका लागि सशक्त आवाज उठाउँछ । त्यसमा हामी तपाईंहरुलाई विश्वास दिलाउन चाहन्छौं । हामीले सरकारका विभिन्न कार्यक्रममा हाम्रा कुराहरु राखेका छौं । काठमाडौंका बाटोहरु राम्रो हुनुपर्छ । नेपालमा जति पनि बाटोहरु बनिरहेका छन् त्यसको पनि स्तरोन्नती हुनुपर्छ ।
 
हामीले राज्यले लागू गरेका ऐन निमय अनुसारका सवारी साधन ल्याएका छौं । ३ वर्ष अगाडि वातावरण प्रदुषण ऐन परिवर्तन भयो र युरो थ्री लागु भयो । सबै व्यवसायीहरुले युरो थ्री मापदण्डकै गाडी भित्र्याएका छन् । प्रदुषणको मात्रा धेरै परिवर्तन भइसकेको छ । काठमाडौंमा प्रदुषणको मात्रा धेरै परिवर्तन भएको छ । युरो थ्री होइन धेरै व्यवसायीले नेपालमा मापदण्ड लागु भएका भन्दा माथिल्लो स्तरका गाडीहरु आयात गरिरहेका छन्, युरो फोर र युरो फाइभ गाडी ल्याइसकेका छन् । विदेशमा लागू भएका मापदण्डका आधारमा गाडी आएका छन् ।
 
सरकारसँग हाम्रो माग के छ भने आयल निगमले जुन तेल ल्याइरहेको छ त्यसमा मिसावछ हुनेगरेको छ । गुणस्तरमा बारम्बार प्रश्न उठिरहेको छैन । युरो फोर र फाइभको गाडी ल्याएर मात्रै के गर्नु त्यस अनुसारको पेट्रोल छैन जसले वातावरणलाई असर पारिरहेको छ । त्यसकारण गुणस्तर मापन गर्ने ल्याब बनाउनु पर्छ । पेट्रोलियम पदार्थको गुणस्तर मापनका लागि उच्चस्तरको प्रयोगशालामा जोड दिएका छौ ।
 
भेइकल फिटनेस सेन्टर पनि सञ्चालनमा आउन सकेको छैन नि !
भेइकल फिटनेस सेन्टरमा सहकार्य गर्न तयार छौ भनिरहेका छौं । भेइकल फिटनेश सेन्टर ४/५ ठाउँमा सञ्चालन गर्नुपर्नेमा एउटै ठाउमा सञ्चालनमा आएको छैन । यो दुखको कुरा हो । यो सञ्चालन गर्न नाडा तयार छ । पिपिपी मोडलमा चलाउन हामी तयार छौं । फिटनेश सेन्टर भयो भने सवारी साधनको अवस्था राम्रो भएर दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।