भारत निकट मानिएका पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापापुत्र सुनिलबहादुर थापा अहिले वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालीरहेका छन् । भारतको अघोषित नाकाबन्दी पछि पहिलो पटक सोमबार थापा भारत भ्रमणमा जान लागेका छन् । प्रधानमन्त्री सुशील कोइरालाको 'राजनीतिक दूत'का रुपमासमेत काम गर्दै आएका थापाले नेपाल र भारतबीचको बिग्रिएको सम्बन्ध सुधारका लागि विशेष पहल गर्ने अनुमान गरिएको छ । भारतको अघोषित नाकाबन्दी पछि सिर्जित समस्या र उनको भारत भ्रमणका विषयमा बिजमाण्डूका सविन मिश्रले गरेको कुराकानी:
अहिले आन्तरिक र बाहिरी समस्याबाट नेपाल गुज्रिरहेको छ, यतिबेला सरकार के गरिरहेको छ ?
हो, हामी अहिले आन्तरिक र बाह्य दुवै समस्याबाट ग्रसित छौं । आन्तरिक समस्याको समाधान हामी आफैंले यहीँ भित्रबाट र बाह्य समस्या जुन भारतसँग छ, समाधान कुटनीतिक तहबाट समाधान गर्नुपर्छ भन्नेमा हामी छौं ।
अहिले आपूर्ति ठप्प छ, सबै कुराहरु तपाईंले नै हेरिरहनु भएको छ, कसरी समाधान गर्ने सोचमा हुनुहुन्छ ?
अहिले मुख्यत दुई वटा कुरा छ, एउटा आन्तरिक र अर्को बाह्य । अहिले जुन बाह्य समस्या सिर्जना भएको छ, त्यसको कारण भनेको आन्तरिक
अर्को कुरा हो, म विदेशमा बसेर आएको हुनाले मेरो त्यो क्षेत्रमा ज्ञान छ । अहिलेको समस्या समाधानको कुरा गर्नुहुन्छ भने हामीले सशक्त कुटनीतिक पहल नै गर्ने हो । हामीले हाम्रो कुटनीतिक क्षमता प्रदर्शन गर्ने बेला पनि हो । आन्तरिक र बाह्य दुईवटा कारणले नै समस्या उत्पन्न भएकाले मेरो बिचारमा 'टु ट्राक अप्रोच'मा नै हामी जानुपर्छ ।
यो मुद्दा नेपाल र भारतको मात्रै रह्यो कि अन्तर्राष्ट्रिय रुपमा पनि यो मुद्दा प्रवेश गर्न सक्छ ?
अहिलेसम्म यो मुद्दा अन्तर्राष्ट्रियस्तरमा प्रवेश गरेको छैन । त्यो तहमा जानु अगावै हामीले मिलाउनु पर्छ । यसमा हाम्रो आन्तरिक मुद्दा पनि उत्तिकै जिम्मेवार भएको हुनाले आन्तरिक समस्या समाधान गर्दै बाह्य समस्या समाधान गर्नुपर्छ । हामीले कुटनीतिक तहबाट नै भारतसँगको समस्या समाधान गर्नुपर्छ ।

तपाईं छिट्टै नै भारत जाँदै हुनुहुन्छ नि होइन ?
म सोमबार भारत जाँदै छु ।
तपाईंले त्यहाँ भारतीय मन्त्रीहरुसँग पनि भेटघाट गर्नुहुन्छ होला नि !
मलाई आज भन्दा २ महिना अगाडि नै साउद एसिया इकोनोमिक इन्क्लेभ भनेर मलाई बोलाएको हो । त्यसका लागि म जाँदैछु । मलाई त्यहाँका वाणिज्य मन्त्रीले निमन्त्रणा गर्नु भएको थियो । पक्कै पनि म त्यहाँ जाँदा सकेसम्म नेपालको हितमा अधिकतम उपयोग हुने गरी म त्यहाँ जाँदै छु ।
भनेपछि तपाईंको भ्रमण केही फलदायी हुन्छ ?
म अहिले कुनै विशेष दूतका रुपमा त्यहाँ जान लागेको होइन । म नेपालको एउटा मन्त्री भएपछि यस देशको हितका लागि त्यहाँ कुरा राखेर समस्या समाधानको बाटो खोल्नु पर्छ भनेर जाँदै छु ।
चीनबाट सामान ल्याउन सरकारले तयारी थालेको हो ?
सरकारले त सबै कुरा सोच्नुपर्छ । सरकारले विकल्पहरुबारे सोच्नुपर्छ । चीनसँग पनि हाम्रो पहिलेदेखि नै व्यापार भइ नै रहेको हो । खाद्यान्न भन्दा पनि अरु सामानको व्यापार धेरै भइरहेको थियो । वाणिज्य सचिवले पनि एक चरण कुरा गर्नु भएको थियो । त्यसको परिणाम आइसकेको छैन ।

अर्को कुरा चीनसँगका नाकाहरु बन्द छन् । सबैभन्दा पहिले त नाकाहरु खुलाउनु पर्यो । अहिले त्यताका सबै गतिविधि बन्द छ । भूकम्पपछि बन्द भएका नाकाहरु खुलाउन हामीले पनि पहल गर्यौं । उहाँहरुले पनि गरिरहनु भएको छ । बल्ल सडकहरु केही विस्तार भएका छन् । त्यसकारण सरकारले बाटोहरु खुलाउने विकल्पबारे सोचिरहेको छ ।
चीनले महावाणिज्यदूतावास खोल्न प्रस्ताव गर्यो भन्ने पनि कुरा आएको छ, सरकारले के सोचिरहेको छ ?
यो कुरा मैले पनि पत्रपत्रिकाबाट थाहा पाएको हुँ । पत्रिकामै पढेको कुरालाई आधिकारिक मानेर मैले टिप्पणी गर्नु पनि हुँदैन । यो विषयमा आधिकारिक मन्त्रालय छ, परराष्ट्र मन्त्रालय यसबारे उसले केही गर्छ होला ।