BIZMANDU
www.bizmandu.com

अब मिठो भाषणले कुनै काम गर्दैन, मान्छेको जीवनलाई छुनु पर्छ, अर्थमन्त्री पौडेलको अन्तर्वार्ता

२०७२ पुष ३

अब मिठो भाषणले कुनै काम गर्दैन, मान्छेको जीवनलाई छुनु पर्छ, अर्थमन्त्री पौडेलको अन्तर्वार्ता
अब मिठो भाषणले कुनै काम गर्दैन, मान्छेको जीवनलाई छुनु पर्छ, अर्थमन्त्री पौडेलको अन्तर्वार्ता


Tata
Global Ime

नाकाबन्दीले मुलुक अस्तव्यस्त छ । मूल्यबृद्धि महिना दिनमै २ प्रतिशत बिन्दुभन्दा वढिले बृद्धि भइसकेको छ । सरकारी राजश्वको स्रोत त सुकेको छ नै साधारणवाहेक खर्च केहीमा पनि हुन सकेको छैन । समग्र अर्थतन्त्र प्रतिकुल अवस्थामा गएका बेला अर्थमन्त्री बनेका छन् विष्णुप्रसाद पौडेल । मुलुकको अर्थतन्त्रको साँचो बोकेका पौडेललाई बिजमाण्डूका सविन मिश्रले सोधे- कसरी पार लगाउनु हुन्छ मुलुकलाई ?

मुलुकमा संविधान त आयो तर संविधानपछि सबै कुरा अस्तब्यस्त भएका छन् । एक हिसाबले भन्ने हो भने तपाईं अर्थमन्त्री त बन्नु भयो, यो समय चाँही चलचल्तीको उखान भूतले खाजा खाने समय भनेजस्तै पर्‍यो । तपाईं आफूलाई पनि अप्ठेरो त लागिरहेको होला नि ?
म सानो छँदा एक पटक भूतसँग भेट गर्नुपर्‍यो भनेर मसानघाट गएको थिएँ । त्यतीबेला मेरो इच्छा भूत भेट्ने, कुरा गर्ने र त्यसलाई भगाउने थियो । आज, म माक्सवादको विद्यार्थी भएको नाताले भूतमा त म विश्वास गर्दिन । यदी अहिलेको विषम परिस्थितीलाई भूत मान्ने हो भने म त्यो भूतलाई लखेट्ने संकल्पका साथ अर्थमन्त्रालयमा आएको छु । तपाईंले भनेको कुरा ठिक के हो भने संविधान निर्माणपछि राष्ट्रको कार्यसूची बदलियो भन्ने आम बुझाइ हो र यो बदलिएको पनि हो ।

संविधानसभाबाट संविधान निर्माण गरेका दुनियाँका अनुभवलाई हेर्ने हो भने संविधान जारी भएपछि विरोध भएका छन् । हामीकहाँ पनि त्यस्तो परिस्थिती देखा पर्‍यो । मैले शान्तिपूर्ण ढंगले प्रकट हुने विरोधलाई स्वभाविक मान्छु । त्यो संविधानले नै प्रत्याभुत गरेको अधिकार हो । संविधानको अन्तर्वस्तुमा पनि विरोध हुनु स्वभाविक हो । हाम्रो चाहना यति हो कि विरोधका लागि हिंशाको सहारा नलिइयोस । आफ्नो अधिकार प्रात्तिका लागि अर्काको अधिकार कुण्ठित नहोस ।

निसन्देह संविधान जारी भएपछि तराई मधेशमा विरोधका स्वरहरु सुनिएका छन् । हामीले त्यो विरोध र असहमतिलाई वार्ताको माध्यमबाट समाधान खोजिरहेका छौं । विरोध र असहमति भिन्न ढंगबाट प्रकट भयो । यसले हाम्रो अर्थतन्त्रलाई गम्भीर रुपमा प्रभाव परेको छ । हामी भूकम्पबाट नउठ्दै यो समस्यामा फसेका छौं । एकपछि अर्को समस्यामा फसेका छौं र यसले हामीलाई ठुलो असर गरेको छ ।

अर्थमन्त्रालय पाउनु सबैले भाग्यको कुरा भन्छन् । तर हामीले केही अर्थमन्त्री देखेका छौं जसले आफ्नो बजेट ल्याउन पाएनन्, आफ्ना कार्यक्रम लागू गर्न पाएनन् । तपाईं आफैं अर्काले ल्याएको बजेटमा आइरहनु भएको छ । तपाईंले ल्याएको बजेट होइन । परिस्थिती यस्तो छ । तपाईं आफैंलाई फ्रष्टेसन पनि त होला नि ?
तपाईंको प्रश्नमा संगती छ । तर म के भन्छु भने यो सरकारले बजेट ल्याउँछ कि ल्याउँदैन भन्ने कुरा छ यसमा म के भन्छु भने यो सरकारले नयाँ बजेट ल्याउने मात्रै होइन त्यसलाई कार्यान्वयन पनि गर्छ । मैले त्यसलाई हेरेको छु । केही मान्छेहरु भन्छन् नि यो पोलिटिकल म्याथ हो । नेपालका पोलिटिकल म्याथलाई सुक्ष्म ढंगले हेर्नेहरुले यो कुरालाई भन्न सक्छन् । जहाँसम्म मैले बजेट ल्याउन पाउँछु कि पाउँदिन, कार्यक्रम लागू गर्न पाउँछु कि पाउँदिन भन्दा पनि म डे वानदेखि गर्न सकिनेमध्ये अधिकतम काम गरौं भन्ने मानसिकताबाट काम गरिरहेको छु । हामी कहाँ रहन्छौं या रहँदैनौं त्यो तपसीलको कुरा हो । तर जति समय जिम्मेवारीमा रहन्छौं त्यतिन्जेल अधिकतम काम गर्छौं । परिस्थिती इच्छामा निर्भर हुँदैन नि । परिस्थितीलाई तपाईंले नियन्त्रणमा लिन नसक्नु होला । तर अप्टिमम काम त गर्न सक्छौं नि ।

भूकम्प, नाकाबन्दी र तराई आन्दोलनले हामीलाई ठुलो असर गर्‍यो । यही बीचमा सरकारले स्वेतपत्र ल्यायो । स्वेतपत्रमा त जनताका लागि आशा गर्ने ठाउँ रहेन नि !
स्वेतपत्रको सन्दर्भमा म के भन्छु भने मुलुकको तत्कालीन अवस्थामा मुलुकको अवस्था के छ भन्ने हामीले प्रष्ट पार्न खोजेका हौं । मुलुकको अवस्था कहाँनेर छ भनेर हामीले स्वेतपत्र ल्याएका हौं । हाम्रो अर्थव्यवस्थाले कस्ता चुनौतिको सामना गरिरहेको छ र हामी कुन कुन चुनौतिको पहाडमा छौं भनेर त्यसमा उल्लेख गरिएको छ । स्वभाविक रुपमा जनताको पनि अपेक्षा थियो कि तिमी मन्त्री छौ समस्याको मात्रै वर्णन नगर समाधान पनि देउ भन्ने जनताको चाहना थियो । त्यो स्वभाविक पनि हो ।

हामीले स्वेतपत्रमा केही समाधानउन्मुख विचार र दृष्टिकोण पनि प्रस्तुत गरेका छौं । तर त्यतिबेला मैले ख्याल के गर्नुपर्थ्यो भने म संविधानको सर्वोच्चता र कानुनको राजमा विश्वास गर्ने राजनीतिकर्मी भएको नाताले स्वेतपत्रमा म संसदले पास गरेका नीति व्यवस्था र बजेटको सीमा भन्दा बाहिर म जान सक्दैन थिएँ । बजेटको सीमा भित्रबाट बोल्नुपर्दा अपेक्षा अनुरुप भएन भन्ने टिप्पणी स्वभाविक हो । यो मेरा लागि प्रेरक छ । मैले त्यहाँ एउटा के उल्लेख गरेको छु भने बजेटको मध्यावधी समीक्षाका क्रममा संभवत बजेटलाई पुनर्प्राथमिकीकरण गर्नुपर्ने हुन सक्छ । त्यसक्रममा धेरै कुराहरु आउन सक्छ ।

तर स्वेतपत्रमा तपाईंले दीर्घकालीन योजना ल्याइदिनु भयो । जुन कुरा अहिले लागू गर्न नै नसकिने खालका थिए । अहिलेको विषय भनेको अर्थतन्त्र सर्भाइभलको हो । अर्थतन्त्र जोगाउनु नै चुनौति छ । त्यसले त आलोचना भएको होइन ?
स्वेतपत्रमा समावेश भएका विषयहरु हामीले लागू गर्न सक्दैनौं भन्ने मैले सोचेको छैन । त्यसपछि कार्ययोजना पनि सार्वजनिक भइसकेको छ । तपाईंले भनेको कुरा ठिकै हो कि हामीले त्यतिबेला अर्थतन्त्रलाई कसरी जोगाउने भनेर नै सोचेका हौं । जहाँसम्म वृद्धिको कुरा छ त्यतीबेला राष्ट्र बैंकले एउटा पूर्वानुमान वेवसाइटमा राखेको थियो । त्यसलाई प्रारम्भिक अध्ययन भनेको थियो । त्यो अध्ययनलई आधार मानेर राष्ट्र बैंकले ऋणात्मक वृद्धिको कुरा गरेको थियो अर्थमन्त्रीले २ प्रतिशत वृद्धिको कुरा गरेको त्यसकारण अर्थमन्त्रालय र राष्ट्र बैंकबीच सम्बन्ध बिग्रिएछ कि भन्ने कुरा प्रेसमा आयो । राष्ट्र बैंकको प्रारम्भिक अध्ययनसँग पनि स्वेतपत्र अन्तर्विरोधि छैन किनभने मैले २ प्रतिशत भनें राष्ट्र बैंकले १.७ प्रतिशत भन्यो ।

उसले त दुईवटा अवस्था भनेको छ नि!
मैले पनि दुईवटा नै अवस्था भनेको छु । यदी यही अस्था रह्यो भने यसमा अरु नकारात्मक प्रवृत्ती देखिन्छ भनेको छु । उसले अर्को भाषामा यही अवस्था रहे नकारात्मक वृद्धि हुन सक्ने भनेको छ । उसले समस्या समाधान भएन भने ऋणात्मक वृद्धि भनेको छ मैले चाँही यही अवस्था भए २ प्रतिशत पनि कायम गर्न सकिँदैन भनेको हुँ ।
२ प्रतिशत किन भनिस त भन्नुहुन्छ भने मैले मन्त्रीको हैसियतले यो समस्या लामो समयसम्म रहिरहन्न भन्ने अनुमान गर्नुपर्छ । समस्या छ र यो समस्या समाधान गर्ने जिम्मेवारी मेरो हो त्यसकारण यो समस्या लामो समयसम्म रहन्न भन्ने मैले सोच्नुपर्छ । मैले त्यही आत्मविश्वासबाट निर्देशित भएर चल्नुपर्छ र त्यही अनुसारका प्रयास पनि गर्नुपर्छ । त्यसले के २ प्रतिशतको वृद्धिदर कायम गर्छु भनेर तदअनुकुल प्रयास गर्नुपर्छ । तपाईंको प्रश्न आफ्नो ठाउँमा भ्यालिड छ ।

अर्थशास्त्रको फन्डामेन्टलले पनि २ प्रतिशत आर्थिक वृद्धिदर त केही नगरेपनि हुन्छ भन्छ होइन ?
हुन्छ । तर हामीकहाँ ऋणात्मक वृद्धिदरको अनुभव पनि छ नि ।

कृषिमा समस्या नहुने हो भने त हामीलाई समस्या छैन नि ?
यो वर्ष हामीलाई कृषिमा पनि ठुलो समस्या छ । कृषि औजारको उपकरणमा अवरोध भएको छ । इन्धन आपूर्ति छैन । रसायनिक मलखाद समयमै पाउन सकेको छैन । मौसमले पनि साथ दिएको अवस्था रहेन ।

हामी यस्तो कमजोर संरचना छौं, सरकारको खातामा टन्न पैसा हुँदा पनि खर्च गर्न सक्दैनौं । हामीले उपलब्धीको ५० प्रतिशत पनि हासिल गर्न सक्दैनौं । अनि तपाईंले भनेका उपलब्धी हासिल गर्ने आधार के छन् त ?
पुँजीगत खर्चको अवस्थाको कुरा गर्दा यो चिन्तागर्ने अवस्थामा छ । मूल्यवृद्धि उच्च गतिमा अगाडि बढिरहेको छ । जिडिपीको वृद्धिदरको कुरा छ यो हामीबाट टाढा छ । व्यापार असन्तुलनको कुरा गर्दा हामी जहिले पनि आयात बढ्यो निर्यात घट्यो भन्थ्यौं । तर यसपाली आयात पनि घट्यो, निर्यात पनि घट्यो ।

तर मलाई के लाग्छ भने हामी जसरी राजनीतिक परिस्थितीलाई सम्हाल्ने दिशामा जे काम गरिरहेका छौं त्यसबाट आशावादी पनि छु । म यहाँहरुलाई बताउँछु, पुनर्निर्माण प्राधिकरण ठुलो विवादको विषय थियो । मानिसहरुले यो पारित नै हुँदैन भन्थे । मसँग भेट हुने विकास साझेदारहरुले यो प्राधिकरणको विषय उठाइरहन्थे । हामीले जे प्रतिबद्धता ब्यक्त गरेका थियौं त्यसलाई पुरा गर्छौं भनेर मैले उनीहरुलाई भन्थें र तपाईंहरुको यो चिन्ता अर्को पटक गर्नु पर्दैन भनेर पनि भनेका थियौं । उनीहरु नाजवाफ हुन्थे तर विश्वास गर्दैनथे । हामीले आखिर सहमतिकै बीचमा टुंग्यायौं । मानिसहरुले यसलाई नयाँ ढंगका खेलहरु सुरु भएकासम्म भन्न थाले । हामीले तीनबुँदे सहमति त गर्‍यौं । अब समस्या समाधानका लागि संविधान संशोधनका कुरा पनि अगाडि बढेको छ ।

अहिलेको अवस्थामा हेर्ने हो भने सीमामा भएको अवरोध र नाकाबन्दीका कारण राजश्व संकलन ५० अर्ब रुपैयाँभन्दा धेरैले नोक्सान भइसकेको छ । बिनियोजित बजेटको ७ प्रतिशत खर्च हुन सकेको छैन । हामी त अझै ओरालो लाग्दै छौं नि होइन ?
तपाईंले परिस्थितीको चित्रण गर्दा जे फिगर राख्नु भयो त्यो ठिक हो । हमीले राजश्व ५० अर्ब रुपैयाँले गुमाइसकेका छौं । सँगसँगै हामी पुँजीगत स्थितीको विषयमा अघि पनि मैले भनें हामीले खर्च पनि गरेका छैनौं । यदी यही अवस्थाले निरन्तरता पाउने हो भने, तपाईंले यही अवस्थाको परिकल्पना गर्नुहुन्छ भने हाम्रो यात्रा अँध्यारोतिर नै छ । साँच्चै कहाँलीलाग्दो अवस्था आउँछ । मैले अघि पनि भनें हामी समाधान गर्छौं ।

राजश्व लसबाट त हामी फर्कन सक्दैनौं नि!
हामीले यो लस मेकअप गर्न के गर्न सकिन्छ भनेर लागिरहेका छौं । हामीले लस मेकअप गर्न के के मिजर्स प्रयोग गर्न सकिन्छ भनेर पनि त्यो कोणबाट अध्ययन गर्नु आवस्यक छ ।

हामी सहज अवस्थाको अर्थतन्त्र भएको देश होइनौं । राजश्वको मुख्य भाग साधारण खर्चमा जान्छ । यदी राजश्व उठेन, राज्यले सामाजिक क्षेत्रमा खर्च गर्नुपर्ने पैसा पनि जुटाउन सकेन भने हामीले साधारण खर्चमा कटौती गर्ने ठाउँमा पुग्छौं भन्ने डर छैन ?
तपाईंको प्रश्नमा डर मात्रै छैन खबरदारी पनि छ । तपाईंले एउटा अर्थमन्त्रीलाई समग्रतामा यो स्थितीमा हामी नपुगौं, यस्तो नकारात्मक सिनारियोमा हामी नपुगौं है भनेर खबरदारी गर्नु भएको छ । मैले तपाईंको चिन्तालाई यसरी बुझेका छौं ।

कर्मचारीलाई तलब नदिइ हुँदैन । विकासको कुरा छोडि दिँउ । हामी त्यसको नजिक छैनौं र ? त्यो अवस्थामा के गर्नुहुन्छ ?
मैले अहिले नै यो गर्छु भनेर त तपाईंलाई भन्दिन । तर हामीले जुन राजश्वमा नै ५० अर्बको लसमा पुगेका छौं । हामीले त्यो अवस्था भोगेका छौं, यसलाई मेट्ने उपाय के हुन सक्छन् भनेर हामीले खोजेका छौं । यसले समस्या समाधानका लागि हामीले बिलम्ब गर्न नहुने कुरालाई प्रष्ट पारेको छ । प्रयास प्रभावकारी होस भन्ने चाहन्छौं । प्रयास प्रभावकारी नभएर समस्या लम्बियोस भन्ने चाहना हाम्रो पनि होइन । त्यसतर्फ मेरो ध्यानाकर्षण भएको छ ।

तपाईं यस्तको कुर्सीमा हुनुहुन्छ जुन कुर्सी अरु मन्त्रालयले गर्न नसकेको कामको भागिदार पनि हुन्छ । विकासे मन्त्रालयले काम गर्न नसकेपनि अपजस अर्थलाई नै आउँछ । हामीसँग एउटा कर्मचारीको समस्या पनि छ । अर्थमन्त्रीले पैसा खर्च गर भन्दा पनि गर्न नसक्ने अवस्था छ । सरकारको खाता बलियो हुने तर जनताले केही नपाउने अवस्था छ । त्यसकारण तपाईंले भनिदिनुस कि म यसरी जनताकोमा पुर्‍याँउछु ।
मैले यसबीचमा केही प्रयास पनि गरेको छु । धेरै कुराहरु मैले भन्न पनि चाहन्न । कतिपय कुरा मान्छेको निजी स्वभावले पनि त्यस्तो हुन्छ । हामीले पुँजीगत खर्च बढाउन प्रत्येक मन्त्रालयसँग छलफल गरिरहेको छु । मैले औषतमा एक दिन बिराएर मन्त्रालयगत छलफल पनि गरिरहेको छु । मैले पर्यटन, स्वास्थ्य, उद्योगलगायतका मन्त्रालयसँग बजेट कार्यान्वयका अवस्थाबारे छलफल गरेको छु । ती मन्त्रालयमा बजेट खर्च गर्न के ले रोकेको छ भनेर पनि मैले सोधेको छु । समस्याहरु केके छन् र ती समस्या समाधान गर्न केके काम गर्नु भएको छ भनेर मैले सोधेको छु । हामीले केही यस्ता आयोजनाहरु अगाडि बढाउन लागिरहेका छौं । हामीसँग अहिलेसम्म ५८ सय ५० रोपनी जग्गा औद्योगिक क्षेत्रका नाममा रहेछ । हामी २०१९ सालमा औद्योगिक क्षेत्रमा प्रवेश गरेका थियौं । २०७२ मा आइपुग्दा हाम्रो हालत यस्तो छ । ५८ सय रोपनी त एउटा ठुलो औद्योगिक क्षेत्र निर्माणका लागि पनि पर्याप्त होइन । तपाईंले एउटा आङ फुकाएको औद्योगिक क्षेत्र पनि यती जमिनमा बनाउन सक्नुहुन्न ।

यदी हामीले औद्योगिकरणलाई अगाडि बढाउन चाहन्छौं भने औद्योगिक क्षेत्र त तयार गर्नुपर्‍यो । जहाँ तपाईंले निजी क्षेत्रलाई आकर्षित गर्नुस् । बाटो पुर्‍याउनुस । बिजुली पुर्‍याइदिनुस । तपाईंले वातावरण बनाइदिनुस कि जसले लगानी खेर जाँदैन । विगतमा हामीलाई एउटा निर्णयले सिमेन्टमा आत्मनिर्भर बनाएको छ । बाटो र बिजुली पुर्‍याइदिन्छौं भनेकै नाममा हामी सिमेन्टमा आत्मनिर्भर बनेका छौं । औद्योगिक क्षेत्र निर्माणलाई अगाडि बढाउने तयारीस्वरुप हामीले ७ वटा ठाउँ छनौट गरेर औद्योगिक क्षेत्र निर्माणमा लागेका छौं ।

अर्कोकुरा हाम्रोमा इन्धन भण्डारण निकै कम छ । दुनियामा विपत्ती त भूकम्प, नाकाबन्दी वा सुनामी मात्रै त होइन नि । भूकम्पले हाम्रो वाटर सप्लाइ सिस्टम ब्रेक गरेको भए के गर्थ्यौं ? कम्तिमा ९० दिनका लागि त हामीले इन्धन भण्डारण त हुनु पर्‍यो नि । हाम्रोमा १५ दिनलाई पुग्ने पनि छैन । त्यसैले न्यूनतम ९० दिनका लागि इन्धन भण्डारणको काम अगाडि बढाउन मैले भनिसकेको छु । खाद्यान्न र औषधिको कुरा छ त्यसको पनि त केही हुनुपर्‍यो । मैले आयल निगम र आपूर्ति मन्त्रालयसँग भनेको छु कि ९० दिनका लागि भण्डारण हुनुपर्‍यो । मैले भनेको छु कि चारआलीदेखि धनगढीसम्म र खैरेनीटारदेखि पाँचखालसम्म कहाँ कहाँ के के गर्न सकिन्छ ल्याउनु पर्छ । मैले उहाँहरुलाई समयसीमा तोकेर नै भनेको छु नै यती दिन भित्र तपाईंहरुको मूर्त प्रस्ताव ल्याउनुस भनेको छु । त्यसमा कसले गर्ने, के काम गर्ने र कहिले गर्ने भन्ने कुरा छुट्नु हुँदैन ।

अब मिठो भाषणले कुनै काम गर्दैन । मान्छेको जीवनलाई नछुने कुराको कुनै अर्थ छैन । मलाई यताउती टाइफाइ फुर्तिफार्तीको कुनै मतलब लाग्दैन । मैले बोलेर के अर्थ छ र ? जब मान्छेको जीवनलाई कुनै प्रभाव पार्दैन भने किन बोलिरहने ? अरु पनि यसरी नै काम गरिरहेका छौं । हामीले गर्न सक्ने कामहरु एक एक गर्दै अगाडि बढिरहेका छौं ।

अर्को कुरा ऊर्जा संकटको छ । हामीले अहिलेको अवस्थालाई वर्णन गर्नै नसक्ने अवस्थामा छौं । हामी यती अयोग्य रहेछौं कि हाम्रा अयोग्यतालाई हामीले शब्दमा भन्न सक्दैनौं । हामी यो भन्दा कति अयोग्य हुने ?

तपाईंले पनि भन्नुभयो हामी कति अयोग्य छौं भनेर । साँच्चिकै अहिले कालो अर्थतन्त्र मौलाएको देख्दा त साँच्चिकै थाहा भयो है हाम्रो वास्तविकता ?
तपाईंले भन्नु भएको कुरा ठिक हो । अहिले कालो अर्थतन्त्र हावी हुन खोज्दैछ । त्यसले शीर उठाउन खोजिरहेको छ । यो स्वभाविक रुपमा हाम्रो अर्थतन्त्रको सामुन्नेमा ठुलो चुनौति बनेको छ । मेरा सामू अर्को कुनै विकल्प छैन कि जसरी अन्डग्राउन्ड इकोनोमी फैलाउन खोजिएको छ यसको शीरमा बुटले कुल्चनु नै पर्नेछ । त्यसो नगर्ने हो भने हामी सबल अर्थतन्त्रको बाटोमा अगाडि बढ्न सक्दैनौं । हामीले यसलाई नियन्त्रण गर्न खोजिरहेका छौं र सक्छौं पनि ।

यहाँहरुले नै समाचारको विषय बनाउनु भएको छ । यो प्रवृत्ति संस्कृतिको रुपमा अगाडि बढ्न खोज्दैछ । एउटा मान्छेलै वैधानिक रुपमा आर्जन गर्नुको साटो उ अवैधानिक बाटोमा अगाडि बढिरहेको छ । त्यो कुरा प्रवृत्तिको रुपमा अगाडि नबढोस भनेर हामी लागिरहेका छौं । हामी वैधानिक गतिविधिलाई मात्रै अगाडि बढाउन चाहन्छौं ।

अर्थमन्त्री असफल हुँदा राज्य असफल हुन्छ, राज्य संयन्त्र असफल हुन्छ । हामीले प्रधानमन्त्री भन्दा तल अर्थमन्त्रीलाई मात्रै देख्छौं । तपाईंले जनतालाई भन्न सक्नु हुन्छ कि तपाईंको जीवनलाई म यसरी सहज बनाउछु भनेर भन्न सक्नुहुन्छ ? अर्को कुरा राष्ट्र बैंकले मूल्यवृद्धिको तथ्यांक नयाँ दिएको छ । विदेश जाने मान्छेको संख्या पनि घट्न थालेको छ । कसरी समाधान गर्नुहुन्छ ?
मैले असफल अर्थमन्त्रीका रुपमा आफूलाई कहिल्यै पनि हेरेको छैन । म सफल अर्थमन्त्रीकै रुपमा तपाईंहरुका सामू आफ्नो परिचय दिन्छु । दोस्रो कुरा अहिले के हुन्छ भन्दा समाधान प्रकट हुँदा र समाधानका लागि कोशिष गर्दाको अवस्था फरक हुन्छ । समाधान आएपछि मान्छेले समाधानको कोणबाट विश्लेषण गर्छ र समाधान नआउँदा समस्याको कोणबाट विश्लेषण गरिरहेको हुन्छ । कोशिषहरु प्रभावकारी देखिदैनन् तर परिणाम प्रभवकारी हुन्छ । अहिले हामी कोशिषको चरणमा रहेकाले कोशिष कामयावी हुन्छ कि हुँदैन भनेर सोचिरहेका हुन्छौं । कोशिषमाथि प्रश्न गर्नु स्वभाविक हुन्छ ।

मेरो आत्माविश्वास के छ भने यो परिस्थिती अस्थायी परिस्थिती हो । जुन कठिनाइहरु हाम्रो अर्थतन्त्रमा छन् यी सबै अस्थायी परिस्थिती हुन् । तराई मधेशका आन्दोलन अस्थायी परिस्थिती हो जुन वार्ताको माध्यमबाट समाधान हुन्छ । आपूर्ति व्यवस्थाको अवरोध त्यो पनि अस्थायी नै परिस्थिती हो त्यो पनि कुटनीतिक पहलबाट समाधान हुन्छ । जसरी कालो अर्थतन्त्र मौलाउन खोजेको छ त्यो पनि अस्थायी हो । हामी मानिसहरुलाई समाधान दिन्छौं । सबैले कानुनको सीमाभित्र रहेर आफ्ना गतिविधि गर्ने वातावरण बनाउछौं ।

आज निर्माण सामग्रीहरुको अभाव भएको छ । इन्धनको अभाव छ । त्यसलाई हामी अन्त्य गर्छौं । आपूर्ति सहज हुन्छौं र निर्माणको काममा पनि हामी लाग्छौं । जरुर यो कुरा हो कि हाम्रो समय अपव्यय भएको छ । हामीले हाम्रो युवाशक्ती प्रयोग गर्न पाएका छैनौं । पुँजी निर्माणका लागि छुट्याइएको रकम खर्च गर्न पाएका छैनौं । त्यसकारण हामीलाई लस भएको छ । हामी त्यसलाई मेकअप गर्ने गरी अगाडि बढ्छौं । म फेरि पनि नेपालको सुन्दर भविष्य देख्छू ।

निजी क्षेत्रले ब्याज मिनाहाको प्रस्ताव गरिरहेको छ । उद्योग चलेको छैन । ऋण तिर्न समस्या भएको छ । यो अवस्था लम्बिदै जाँदा झन अर्को विकराल अवस्था आउँछ भनेर व्यवसायीहरु भनिरहेका छन् । उनीहरुले करछुटको माग गरिरहेका छन् । यतातिर केही गर्न सक्ने अवस्था छ ?
मैले केही साथीहरुलाई अस्ती पनि भनेको छु तपाईंहरुले सरकार भएर सोचिदिनुस म निजी क्षेत्र भएर सोचिदिन्छु । मैले सरकार र निजी क्षेत्रलाई एक अर्काका विरोधी भनेर भनेको छैन । मैले एउटै नदीमा आबद्ध भएर हामी अगाडि बढिरहेका छौं । सरकारले निजी क्षेत्रको समस्या बुझ्दछ र निजी क्षेत्रले पनि सरकारको बाध्यता बुझ्नुपर्छ । मैले निजी क्षेत्रका छाता संगठनका प्रतिनिधिलाई सरकारले निजी क्षेत्रका कठिनाइलाई कुन हदसम्म बुझ्न सक्छ र निजी क्षेत्रले सरकारको कठिनाइलाई कुन हदसम्म बुझ्दछ भनेर अध्ययन गर्न टोली नै बनाएको छु ।

वास्तवमा केही चिजहरु ड्यामेज भएका छन् । एक्सटेन्सन गर्नेकुराहरु पनि भएका छन् । डिटेन्सनका कुरा पनि गरेका छौं । ती पर्याप्त भएन भन्ने गुनासो निजी क्षेत्रको छ । म पनि पर्याप्त छ भन्दिन । तर कति गर्न सकिन्छ भनेर निजी क्षेत्र र हामी बसेर एउटा टुंगोमा पुर्‍याउछौं ।