BIZMANDU
www.bizmandu.com

मौद्रिक समिक्षाअघि गभर्नरको अन्तर्वार्ताः पुँजी बृद्धि थप प्रभावकारी, स्थायित्वमा सफल

२०७२ फागुन १२

मौद्रिक समिक्षाअघि गभर्नरको अन्तर्वार्ताः पुँजी बृद्धि थप प्रभावकारी, स्थायित्वमा सफल
मौद्रिक समिक्षाअघि गभर्नरको अन्तर्वार्ताः पुँजी बृद्धि थप प्रभावकारी, स्थायित्वमा सफल


Tata
Global Ime

नेपाल राष्ट्र बैंकले यसै साता मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा गर्दैछ । सरकारले प्रक्षेपण गरेको २ प्रतिशतको आर्थिक बृद्धि दरमा सहमत हुँदै गभर्नर डा. चिरञ्जिबी नेपालले मूल्य बृद्धि दर एकल अंकमा नै कायम हुने बताएका छन् । बिजमाण्डूका सुदर्शन सापकोटासँग गभर्नर नेपालले भने– पुँजी बृद्धिलाई थप प्रभावकारी बनाउँदै पहुँच विस्तार र पुनर्कर्जालाई प्राथमिकतामा राखेर समिक्षा हुने छ ।

मौद्रिक नीति आएपछि देशमा कल्पना वाहिरको नाकाबन्दीजस्तो विपत्त आइलाग्यो । मौद्रिक समिक्षा सामान्य अवस्थामा भइरहेको छैन । कस्ता विषयहरुले समिक्षामा महत्व पाउने छन् ?
भुकम्पपछि मौद्रिक नीति आएको थियो, अब नाकाबन्दीपछि समिक्षा गर्दैछौं । यही पृृष्ठभूमिमा समिक्षा गर्ने काम हुन्छ । भारतीय नाकाबन्दीले मौद्रिक नीति सञ्चालनमा पनि केही असर गरेको छ । वित्तीय क्षेत्र प्रतिस्पर्धि र उदारमूखि हुन सकिरहेको थिएन, अब नाकाबन्दी समाप्त भइसकेको अवस्थामा यसलाई प्राथमिकता दिइने छ । कठिन अवस्थामा पनि हामीले सही रुपमा मौद्रिक नीतिलाई सञ्चालन गरेका कारण समस्याहरु ठूलो रुपमा आएनन् । ६ महिनापछि अझै सही रुपमा लैजाने गरी समिक्षा हुने छ ।

पहुँच विस्तार, ग्रामिण पुनर्कर्जाजस्ता क्षेत्रमा अलिकति टाइट हुने भन्ने कुरा सार्वजनिक भइरहेको सन्दर्भमा समिक्षाले ती विषयलाई पनि समेट्छ ?
वित्तीय पहुँच विस्तार त केन्द्रीय बैंकको महत्वपूर्ण नीति नै हो । त्यसमा केही गर्नै पर्छ । शाखाहरु नपुगेका ठाउँमा बैंक पुर्याउनै पर्छ । यसलाई अनवरत रुपमा लैजान्छौं नै । अति विकट र दुर्गम ठाउँमा शाखा पुर्याउने कामलाई हामीले प्राथमिकतामा राखेका नै छौं ।

पुनर्कर्जा हामीले दिइरहेका छौं । एक प्रतिशतको पुनर्कर्जा ११४ वटा गाविसको कृषि तथा व्यवसायका लागि दिने भन्ने कुरा मौद्रिक नीतिमा छ । यसलाई थप प्राथमिकता दिने छौं । अत्यन्तै  विकट १० गाविसको पुनर्कर्जालाई पनि प्राथमिकता दिने छौं । यसलाई अझै एग्रेसिभ रुपमा हामी लैजान्छौं ।

बैंक तथा वित्तीय संस्थाको पुँजी बृद्धि माथि पनि केही समिक्षा हुन्छ ?
पुँजी योजना त अहिले प्रभावकारी रुपमा अगाडि वढिनै रहेको छ । अझै प्रभावकारी रुपमा लैजान अहिले आएको स्थितिहरुलाई हेर्दै अगाडि वढ्छौं । पुँजी बृद्धिका लागि बैंकहरुले अहिले उत्साह देखाएका छन् । मर्जरबाट पुँजी बृद्धि गर्ने संस्था पनि धेरै छन् । ८३ वटा संस्था ३१ वटामा मर्जरका कारण झरिसकेका छन् । यो पुँजी बृद्धिका लागि नै हो ।

मूल्य बृद्धि दर अकासिएको छ । यसमा हाम्रो नीति कस्तो हुन्छ ?
भुकम्पपछिको नाकाबन्दीका कारण मूल्य बृद्धि अकासिएको हो । अत्यन्तै परनिर्भरता वढेका कारण नाकाबन्दी अकासिएको हो । नाकाबन्दी खुलेको छ । यसमा केही सुधार आउँछ । पुसमा १२ प्रतिशतको मूल्य बृद्धि देखिए पनि ६ महिनाको औषत मूल्य बृद्धि दर एकल अंक अर्थात ९.४ प्रतिशतमा छ । अब विकास निर्माणको काम अगाडि वढाउन सहज वातावरण बन्दै गएकाले मूल्य बृद्धि दर अन्तिमसम्ममा एकल बिन्दुमै रहन्छ ।

आर्थिक बृद्धिको प्रक्षेपण अर्थमन्त्रालयले दुई प्रतिशतको गरेको छ । राष्ट्र बैंक त्यसैमा टाइअप गरेर जान्छ ?
पक्का पनि । आर्थिक बृद्धि दर २ प्रतिशत नै हुन्छ ।

तरलता व्यवस्थापनमा केही नयाँ सोच अगाडि आउन सक्छ ?
तरलता व्यवस्थापन गर्ने काम अहिले खुला बजार हस्तक्षेपबाट गरिरहेका छौं । अब अवस्था सहज हुँदै गएका कारणले पैसा खर्च हुँदै जान्छ र  अधिक तरलताको अवस्था रहँदैन भन्ने हाम्रो अपेक्षा छ । पुनर्निर्माणका काम सुरु हुन्छ, आयात बजार फेरि पुरानो अवस्थामा फर्किन्छ । सरकारले पनि विकास निर्माणका कामहरुलाई अगाडि वढाउँछ । यसले गर्दा तरलता व्यवस्थापन हुन्छ । नेपालमा पहिलो पटक यस्तो अप्ठेरो परेको हो । भुकम्प लगत्तैको नाकाबन्दीमा पनि मौद्रिक स्थायित्वलाई कायम राख्न, वित्तीय क्षेत्रतर्फको विश्वास वढाउनका लागि केन्द्रीय बैंक सफल भएको छ ।

नाकाबन्दी खुलेपनि खराव कर्जा वढ्छ भन्ने बैंकरहरुबाट सुनिन्छ । राष्ट्र बैंकको कस्तो विश्लेषण छ ?
खराव कर्जा वढ्छ जस्तो लाग्दैन । अवस्था सहज भएकाले खराव कर्जा वढ्ने होइन अब घट्दै जान्छ । अब विकास निर्माणको काम अगाडि वढ्छ । सबैले काम सुरु गर्छन् । यसले गर्दा खराव कर्जा वढ्दैन ।