काठमाडौं। वागमती प्रदेश सरकार, राष्ट्रिय वाणिज्य बैंक, विशाल फाउण्डेशन र युनिग्लोव कलेजले संयुक्त रुपमा युवा उद्यमी प्रवर्द्धन कार्यक्रम-२०७७ सुरु गरेका छन्।
२०७७ माघ महिना भरी उद्यमी बन्न चाहने युवाहरुका लागि नवप्रवर्तन प्रवर्द्धन प्रस्ताव (स्टार्टअप आइडिया कल) माग गरिएको छ।
उक्त अवधिमा उत्कृष्ट आइडिया पठाउने युवाहरुलाई उद्यमशीलता सम्वन्धी निःशुल्क तालिम प्रदान गरी राष्ट्रिय वाणिज्य बैंकमार्फत् बढीमा तीन प्रतिशत ब्याजदरमा अधिकतम १५ लाख रुपैंयासम्म सहुलियतपूर्ण कर्जासमेत प्रदान गरिने आयोजकले जनाएका छन्।
राजधानीमा आइतबार नवप्रवर्तन प्रस्ताव आह्वान कार्यक्रमको सचिवालयमार्फत् औपचारिक रुपमा प्रस्ताव आह्वान गरिएको छ। कोभिड-१९ ले शिथिल भएको अर्थतन्त्र उकास्न र वैदेशिक रोजगारीलाई ब्यवस्थित गर्दै देशमै रोजगारीका अवसर सृजना गर्नका लागि सरकारले उद्यमी बन्न चाहनेका लागि सहुलियतपूर्ण कर्जा कार्यक्रम अघि सारेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताए।
आर्थिक समृद्धिका लागि युवाहरुलाई आर्थिक क्रियाकलापमा सहभागी गराउनुपर्नेमा मन्त्री गुरुङले जोड दिएका छन्। कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी निर्वतमान अध्यक्ष भवानी राणाले स्टार्टअप ब्यवसाय गर्न चाहनेका लागि अहिले अवसर नै अवसर रहेको बताउँदै युवाहरुमा सोच, संकल्प, निरन्तरता र ब्यवसायिक रणनीति हुनुपर्ने बताइन।
यस्तै, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले यो कर्जा एकदमै सस्तो हुनुका साथै सरल प्रक्रियाबाट पाउन सकिने जानकारी दिए।