BIZMANDU
www.bizmandu.com

गभर्नरको ‘सिए’ मोह: ६० नम्बरका सहायक निर्देशकलाई बढुवा गरेपछि कर्मचारीहरु बिरोधमा

२०७७ माघ २२

Tata
Global Ime

काठमाडौं। आन्तरिक सुधारमा निकै ध्यान दिइरहेको भनिएका गभर्नर महाप्रसाद अधिकारीमा पनि 'चार्टर्ड एकाउन्टेन्ट्स' मोह देखिएपछि राष्ट्र बैंकका कर्मचारी आन्दोलित बनेका छन्।

अघिल्ला गभर्नरले अर्थमन्त्रीको दबाब थेग्न नसकेर उपनिर्देशकको ४० नम्बरमा रहेका ज्वाइँ (तत्कालिन अर्थमन्त्री युवराज खतिवडाका ज्वाइँ रामशरण खरेल) लाई निर्देशक बनाएका थिए। अहिलेका गभर्नरले ६० नम्बरमा रहेका एक जना सहायक निर्देशकलाई उपनिर्देशक बनाएका छन्।

गभर्नर आफैं पनि चार्टर्ड एकाउन्टेन्ट हुन्। राष्ट्र बैंकमा १२३ जना सहायक निर्देशक छन्। यसमध्ये ८६ जनाले मूल्यांकन बढुवाका लागि आवेदन दिएका थिए। १२३ जनाको रोलक्रमममा जगदीश कुमार ६० नम्बरमा पर्छन्। 

राष्ट्र बैंकले १५ जनालाई उपनिर्देशकमा बढुवा गरेको हो। यसभित्र गुप्ता परेका हुन्। बढुवाको नतिजा हिजो साँझ सार्वजनिक भएको हो।

नतिजा सार्वजनिक भएपछि राष्ट्र बैंकका विभिन्न युनियनहरुले गभर्नर अधिकारीको कार्यालय घेराउको कार्यक्रम राखेका छन्। नेकपाको एक समूहको आमहड्ताल भएका कारण अधिकारी आज कार्यालय नआउने जानकारी गराइसकेका छन्। 

जगदीश कुमार रोलक्रममा निकै कनिष्ठ रहेकाले बढुवा गर्न नहुने भन्दै डेपुटी गभर्नरहरुले असहमति राखेका थिए। अन्तत: गभर्नरको दबाबमा बढुवा गरिएको भन्दै कर्मचारीहरु विरोधमा उत्रिएका हुन्।

उनीहरुले रोलक्रम मिचिएर गरिएको बढुवा भन्दै असहमति जनाएका हुन्। गभर्नरले पदपूर्ति समितिमा- 'उहाँ (कुमार) एकदमै जेन्युइन मान्छे हो। यस्ता मान्छेहरुलाई बढुवा गर्नु पर्छ' भनेर आफ्नो दलिल राखेको एक सदस्यले बताए।

गभर्नर अधिकारीकै पहलमा शाखा अडिटका लागि आउटसोर्स गर्ने निर्णय भइसकेको छ। यसको पनि कर्मचारीले विरोध गरेका छन्। आउटसोर्समार्फत बाहिरका चार्टर्ड एकाउन्टेन्टहरुलाई काम दिनु गलत भएको भन्दै कर्मचारीले विरोध गरेका हुन्।