BIZMANDU
www.bizmandu.com

लयमा फर्किदै वैदेशिक रोजगार, असोजमा पछिल्लो डेढ वर्षयताकै धेरै नेपाली वैदेशिक रोजगारीमा

२०७८ कात्तिक २३

काठमाडौं। विश्वव्यापी रूपमै कोभिड-१९ नियन्त्रणउन्मुख भएपछि नेपालको वैदेशिक रोजगारीको क्षेत्र पुनः लयमा फर्किएको छ। खोपको सहज उपलब्धतापछि असोजमा पछिल्लो डेढ वर्ष यताकै धेरै नेपालीहरु वैदेशिक रोजगारीमा गएका छन्।

Tata
Global Ime

असोजमा ३९ हजार ६७१ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। जबकी गत वर्ष असोजमा आठ हजार ९७१ जना नेपाली मात्रै वैदेशिक रोजगारीमा गएका थिए।

यो वर्ष भदौमा पनि ३६ हजार ४० जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। गत वर्ष भदौमा भने एक हजार पाँच सय २५ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए।

त्यस्तै यो वर्ष साउनमा पनि २५ हजार ४२८ जना वैदेशिक रोजगारीमा गएका छन्। गत वर्ष साउनमा भने तीन हजार १२५ जना मात्रै वैदेशिक रोजगारीमा गएका थिए।

तीन महिनामा एक लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
पछिल्लो तीन महिनामा नेपालबाट एक लाख एक हजार १३९ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। जबकी गत आर्थिक वर्ष भरीमा जम्मा एक लाख ६६ हजार नेपाली मात्रै वैदेशिक रोजगारीमा गएका थिए।

त्यस्तै असार यता विदेश जाने नेपालीको संख्या हरेक महिना बढिरहेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ। असारमा २० हजार, साउनमा २५ हजार, भदौमा ३६ हजार र असोजमा करिब ४० हजार नेपाली वैदेशिक रोजगारीमा गएका छन्।

साउदी अरब, कतार र यूएईमा सबैभन्दा धेरै
वैदेशिक रोजगारीमा जानेमध्ये अधिकांश नेपालीको यात्रा भने साउदी अरब, कतार र यूएईमा हुने गरेको छ।

असोजमा ४० हजार नेपाली विदेश जाँदा १५ हजार ५२६ जना साउदी अरब गएका छन्। १३ हजार ६०२ जना कतार र सात हजार २२६ जना युएई गएका छन्।

त्यस्तै भदौको तथ्यांकमा अनुसार सबैभन्दा धेरै कतारमा १४ हजार ७९२ जना रोजगारीको लागि गएका थिए। साउदी अरबमा १३ हजार ५८७ जना र युएईमा चार हजार ६३५ जना रोजगारीमा गएका थिए।

साउनमा भने कतारमा ११ हजार ७६९ जना, साउदी अरबमा ७ हजार ९७२ जना र यूएईमा तीन हजार २० जना नेपाली वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांक छ।