BIZMANDU
www.bizmandu.com

बैंक अफ काठमाण्डूका सीइओको तलब सुविधा वर्ष दिनमै २५ लाखले घट्यो, २ करोड ५६ लाख भुक्तानी

२०७८ मंसिर १९

बैंक अफ काठमाण्डूका सीइओको तलब सुविधा वर्ष दिनमै २५ लाखले घट्यो, २ करोड ५६ लाख भुक्तानी
बैंक अफ काठमाण्डूका सीइओको तलब सुविधा वर्ष दिनमै २५ लाखले घट्यो, २ करोड ५६ लाख भुक्तानी


काठमाडौं। बैंक अफ काठमाण्डू (बिओके) ले आफ्नो प्रमुख कार्यकारी अधिकृतलाई २ करोड ५६ लाख २७ हजार रुपैयाँ भुक्तानी गरेको छ। 

Tata
Global Ime

यो सुविधा तत्कालिन प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले बुझेका हुन्। बैंकले गत आर्थिक वर्षको वित्तीय विवरणमा उल्लेख गरे अनुसार, यसमा तलबसँगै सञ्चयकोष, औषधोपचार, सवारी साधन, मोबाइल फोन सुविधा उपलब्ध छ। यसबाहेक नाफाबाट पाइने बोनस पनि समेटिएको छ।

पन्तले अघिल्लो वर्ष २ करोड ८१ लाख रुपैयाँ पारिश्रमिक र सुविधाहरु बुझेका थिए। त्यसअघि दुई करोड ३२ लाख ८५ हजार ४९५ रुपैयाँ तलब सुविधा बुझेका थिए।

बैंक अफ काठमाण्डू (बिओके) ले मंसिर २९ गते वार्षिक साधारणसभा डाकेको छ। सभामा प्रस्तुत गर्न लागिएको वार्षिक प्रतिवेदन अनुसार, प्रमुख कार्यकारी अधिकृतबाहेक प्रबन्धक तहदेखि माथिकालाई कुल १३ करोड ५७ लाख ५२ हजार रुपैयाँ तलब भत्ता र बोनस उपलब्ध गराएको छ। 

बैंकले कुल कर्मचारी खर्च एक अर्ब १५ करोड ४८ लाख रुपैयाँ गरेको छ। सञ्चालन खर्च ६८ करोड ५७ लाख रुपैयाँ गरेको छ। 

साधारण सभामा बैंकले चुक्ता पुँजीको ४ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर दिने एजेण्डा लग्दैछ। बैंकको चुक्ता पुँजी ९ अर्ब ६५ करोड रुपैयाँ छ। यसपछि बैंकको चुक्ता पुँजी ९६ करोड ५८ लाख रुपैयाँले बढ्ने छ।

बैंकले अध्यक्षलाई प्रति बैठक १४ हजार र बाँकी सञ्चालकलाई १२ हजार दिने गरेको छ। यसबाहेक टेलिफोन, पत्रपत्रिका भनेर मासिक १६ हजार उपलब्ध गराउने गरेको छ।