BIZMANDU
www.bizmandu.com

स्मार्ट लाइसेन्सको छपाइ सुरु, माघसम्म सबै ब्याकलग सकिने, यसरी छापिँदैछ लाइसेन्स

२०७८ पुष १३

काठमाडौं। सवारी चालक अनुमतीपत्र ( स्मार्ट लाइसेन्स) छपाइ सुरु भएको छ। यातायात व्यवस्था विभागले मंगलबार दिउँसोबाट छपाइ सुरु गरेको हो।

Tata
Global Ime

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको उपस्थितिमा लाइसेन्स छपाइ सुरु गरिएको हो। मंसिर पहिलो साता नै १४ लाख कार्ड आइपुगेको थियो। गुणस्तर परिक्षणका लागि फ्रान्स पठाएर रिपोर्ट आएपछि छपाइ सुरु गरिएको हो।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले माघ मसान्तसम्म सबै ब्याकलग सक्ने दाबी गरे। उनका अनुसार करिव ४ लाख ५० हजार ब्याक लक छ। दैनिक ८ हजार कार्ड छाप्न सक्ने क्षमता छ। तीन सिफ्टमा छपाइ गर्ने तयारी भएको छ।   विभागसंग रहेको मास प्रिन्टरले १ मिनेटमा  ४ वटा कार्ड छाप्न सक्छ।

ब्याक लग सकेपछि नवीकरण गर्ने चालकले मात्रै स्मार्ट लाइसेन्स प्राप्त गर्छन्। भने ट्रायल पास गर्ने वित्तिकै परिक्षणकालीन लाइसेन्स वितरण सुरु गरिएको छ। परिक्षणकालीन लाइसेन्स लिए एक बर्षको परिक्षण अवधी पुरा गरेपछि मात्रै स्मार्ट लाइसेन्स पाइन्छ। ट्रायल पास गरेर राजश्व तिर्ने बित्तिकै परिक्षणकालीन लाइसेन्स पाइने घिमिरेको दाबी छ। जुनसुकै कार्यालयमा पनि परिक्षणकालीन लाइसेन्स तत्कालै पाइने व्यवस्था मिलाएको उनको दाबी छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री यादवले अब सहज रुपमा लाइसेन्स पाइने बताइन्। उनका अनुसार, हुलाक मार्फत घरमै लाइसेन्स पुर्याउने विषयमा समेत छलफल भैरहेको छ।

'हुम्ला,जुम्लाबाट आएर ५ दिन कुरेर लाइसेन्स लिने होइन्। उहाहरुका लागि घरमै लाइसेन्स पुर्याउने सोचिरहेका छौ,' उनले भनिन्,'घरमै ढुक्कले लाइसेन्स पाउने व्यवस्था गर्न लागेका छौ।'

अब नवीकरण गर्ने सेवाग्राहीले उपत्यकाभित्र १० देखि १५ दिन र उपत्यका बाहिर १ महिनामा लाइसेन्स  प्राप्त गर्नेछन्। गत बर्ष नै तीन महिनामा ल्याउने भन्दै यातायात व्यवस्था विभागले ठेक्का लगाएको थियो। तर वीचमा प्राविधिक समस्या आएका कारण एक बर्ष ढिला गरि कार्ड आइपुगेको हो।

यातायात मन्त्री यादवले लाइसेन्स छपाइसंगै डिजिटल प्रविधियुक्त इम्बोस्ड नम्वर प्लेट छपाइको समेत निरीक्षण गरेकी छन्। 
सरकारले राजपत्रमा नै सुचना निकालेर पहिलो चरणमा प्रदेश १ र २ बाहेकका पाँच प्रदेशमा मंसिरबाट दर्ता हुने सबै खालका सवारीमा अनिवार्यरूपमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको छ।

फागुन १ गतेबाट नामसारी गरिने सबै सवारी साधनमा र जेठबाट नवीकरण गर्ने सवारीसाधनहरुले जोड्नुपर्ने उल्लेख छ। तर तयारी नभएका कारण कार्यान्वयनमा भने आउन सकेको छैन्। विभागले त्यसका लागि तयारी गरिरहेको घिमिरेको भनाइ छ। उनले छिट्टै कार्यान्वयनमा आउने दाबी गरे।