काठमाडौं। हिमालयन बैंकले प्रमुख कार्यकारी अधिकृतलाई एक वर्षमा २ करोड १४ लाख ८९ हजार ६९७ रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ। बैंकको प्रमुख कार्यकारी अधिकृतमा अशोक राणा छन्।
बैंकले पुस ३० गते डाकेको वार्षिक साधारणसभामा प्रस्तुत गर्न लागेको वार्षिक प्रतिवेदन अनुसार, तलब एक करोड ६ लाख, भत्ता ९५ लाख ४८ हजार, विविध सुविधा ९ लाख २० हजार र टेलिफोन खर्चबापत ४ लाख १९ हजार रुपैयाँ भुक्तानी गरेको छ।
बैंकले उच्च तहका व्यवस्थापकहरुलाई २९ करोड २३ लाख ७५ हजार ७२५ रुपैयाँ भुक्तानी गरेको छ। बैंकले उनीहरुलाई तलब बापत ११ करोड ४० लाख ४४ हजार, भत्ता १३ करोड ९ लाख ४५ हजार, सञ्चय कोष योगदान सुविधा बापत एक करोड सात लाख भुक्तानी गरेको छ।
यसबाहेक टेलिफोन खर्च एक करोड ९२ लाख ९१ हजार ४ सय, विविध एक करोड ७३ लाख रुपैयाँ भुक्तानी गरेको छ।
बैंकको सभाले २१.३८ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४.६२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अनुमोदन गर्ने छ। नेपाल इन्भेष्टमेन्ट बैंकसँग हुने मर्जरको निर्णयलाई पनि साधारणसभाले अनुमोदन गर्ने छ।