BIZMANDU
www.bizmandu.com

आयल निगमको कार्यकारी निर्देशकका लागि १७ जनाको आवेदन, थानी, सिटौला, भट्टमध्ये कसले मार्ला बाजी ?

२०७८ माघ १७

काठमाडौं। नेपाल आयल निगमको कार्यकारी निर्देशक बन्न १७ जनाले आवेदन दिएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुलाएको विज्ञापनको अन्तिम मिति (आइतबार) सम्म १७ जनाले आवेदन दिएका हुन्।

Tata
Global Ime

मन्त्रालयका अनुसार आवेदन दिनेहरुमा चार्टर्ड एकाउन्टेन्टदेखि इन्जिनयरसमेत छन्। आवेदन दिनेमा उमेशप्रसाद थानी, जीवनप्रकाश सिटौला, विष्णुबाबु मिश्र, हरिभक्त शाही, प्राडा लक्ष्मण पौडेल, लोकबहादुर खड्का, लोकराज पाठक, कृष्णप्रसाद यादव, तारानाथ पौडेल, चित्तरन्जन दास, रामदेव यादव, डा. चण्डिकाप्रसाद भट्ट, पंकजकुमार दास, हरिवंश आचार्य, आनन्दप्रसाद चन्द, भुपेन्द्रप्रसाद अर्याल र सञ्जय कुमार छन्।

प्रतिस्पर्धामा रहेका मध्ये थानी र सिटौलाबीच बढी प्रतिस्पर्धा हुने देखिएको छ। थानी कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)का अध्यक्ष हुन्। 

उनी नेपाल विद्युत प्राधिकरणका संचालक समेत भइसकेका छन्। कांग्रेसको अधिवेशन भएका समयमा थानी शेरबहादुर देउवालाई जिताउन खुलेर लागेका थिए। सिटौला उद्योग विभागका पूर्व महानिर्देशक हुन्।

उनले पनि कार्यकारी निर्देशक बन्न राजनीतिक दौडधुप गरेका छन्। त्यसपछि कांग्रेस निकट रहेका डा. भट्ट समेत प्रतिस्पर्धामा अगाडि छन्। उनी अहिले विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक हुन्।

उनी यसअघि निगमको कार्यकारी निर्देशक भइसकेका छन्। निगमको प्रतिस्पर्धामा केही नेकपा माओवादी केन्द्र निकटले समेत आवेदन दिएका छन्। लोकबहादुर खड्का र आनन्दप्रसाद चन्द माओवादी निकट हुन्। खड्का युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा कार्यरत छन्। चन्द खाद्य संस्थानको अध्यक्ष भइसकेका छन्।

मन्त्रालयका अनुसार अब यी उम्मेदवारहरुको छनोट समितिले कार्यपत्र प्रस्तुतीकरण र अन्तर्वार्ता लिनेछ। अन्तर्वार्ता र कार्यपत्र  प्रस्तुतिकरणबाट धेरै अंक ल्याउने तीन जनाको नाम मन्त्रिपरिषदमा प्रस्ताव गर्नेछ। तीन जना मध्येबाट मन्त्रिपरिषद्ले कार्यकारी निर्देशक नियुक्त गर्नेछ।