विश्वव्यापी रूपमा भुक्तानीका लागि छनोटको मुद्रामा चिनियाँ युआनको लोकप्रियता र प्रयोग व्यापक बढेको छ। यो मामलामा अमेरिकी डलर, युरो, पाउण्ड र येनको हिस्सा खोस्दै युआन माथि उक्लिँदै गएको देखिएको छ।
यद्यपि, अन्तर्राष्ट्रिय भुक्तानीमा सर्वाधिक प्रयोग हुने मुद्रामा अझै पनि उत्कृष्ट दुईमा भने अमेरिकी डलर र युरो नै रहेका छन्, भलै यिनको आधार गुम्दै गएको छ।
अर्कोतर्फ, चिनियाँ मुद्रा (युआन अथवा रेन्मेन्बी/आरएमबी) को अन्तर्राष्ट्रिय कारोबार माथि चढ्दै अहिलेसम्मकै उच्च स्थानमा पुगेको छ।
अन्तर्राष्ट्रिय भुक्तानीमा प्रयोग हुने मुद्राको बजारमा रेन्मेन्बीको हिस्सा ३.२ प्रतिशत पुगेको 'सोसाइटी फर वर्ल्डवाइड इन्टर-बैंक फाइनान्सियल टेलिकम्युनिकेसन्स' लाई उद्धृत गर्दै ब्लुमबर्गले लेखेको छ। यो भुक्तानी बजार हिस्साले यसअघि सन् २०१५ को उच्चतम विन्दुलाई पनि पार गरेको जनाइएको छ।
२०१५ पछि भने चीनले निर्यात वृद्धिका लागि आफ्नो मुद्राको अवमूल्यन (करेन्सी डिभ्यालुएसन) गराएकाले अन्तरराष्ट्रिय भुक्तानीमा यसको प्रयोग खस्किएको थियो।
अहिले पछिल्लो तीन महिनामा भने चिनियाँ मुद्राको भुक्तानी बजारमा छलाङ लागेको हो। यसका पछाडि केही ठोस कारण देखिएको छ। विभिन्न अन्तर्राष्ट्रिय कोषहरुले चिनियाँ सरकारद्वारा जारी बण्डको होल्डिङ ह्वात्तै बढाएर यसमा आफ्नो हिस्सामा नयाँ रेकर्ड बनाएका छन्। यस्तै, ग्यास (पेट्रोलियम पदार्थ) उत्पादक ग्याजप्रोम नेफ्टले चीनका विमानस्थलहरुमा रसियाली विमानहरुमा इन्धन भर्दा डलरको सट्टा युआन स्वीकार गर्ने निर्णय गरेको छ। यी दुई कारणले पनि चिनियाँ मुद्राप्रतिको विश्वसनीयता र यसको लोकप्रियता उकास्न मद्दत गरेको छ।
चीनको केन्द्रिय बैंक 'पिपुल्स बैंक अफ चाइना' (सीबीसी) का गभर्नर यी ग्याङले उदयीमान अर्थतन्त्रहरुमा स्थानीय मुद्राको प्रयोगलाई बढावा दिन 'जी-ट्वेन्टी' का केन्द्रिय बैंकहरुलाई आग्रह गरेका छन्। गत बुधबार (१६ फेब्रुअरीमा) भएको ग्रुप अफ ट्वेन्टी राष्ट्रका केन्द्रिय बैंक गभर्नरहरुको भेलामा इन्डोनेसियाले पनि यसमा समर्थन जनाउँदै फेडेरल रिजर्भ (अमेरिकी केन्द्रिय बैंक) ले गरेको वित्तीय प्रोत्साहन (स्टिमुलस) फिर्ताको निर्णयबाट सिर्जना भएको जोखिमको व्यवस्थापनका लागि अमेरकी डलरप्रतिको निर्भरता घटाउन आवश्यक रहेको धारणा राखेको छ।
'थुप्रै एसियाली मुलुकहरु र चीन बीचको व्यापार तथा त्यसमा धेरैजसो युआनलाई नै आधार मानेर हुने गरेकाले यस्तो परिदृष्यमा सबैभन्दा ठूलो लाभ युआनलाई मिल्न सक्ने देखिएको छ,' हङकङस्थित रोयल बैंक अफ क्यानडामा एसिया विदेशी विनिमय रणनीति प्रमुख अल्भिन टी. टानले भनेका छन्।
नीतिगत भिन्नताका कारण चिनियाँ र अमेरिकी 'यिल्ड प्रिमियम' (प्रतिफल दर) बीचको अन्तर साँघुरिएको भए पनि युआनको बढ्दो लोकप्रियताले मुद्रामा गणना हुने सम्पत्तिका लागि थप सहयोगी हुन सक्ने बताइएको छ। उदाहरणका लागि – स्ट्यान्डर्ड चार्टर्ड बैंकको चाइना म्याक्रो स्ट्राटेजीकी प्रमुख बेकी लिउका अनुसार, सन् २०२२ मा चीनको बण्ड मार्केटमा ७०० देखि ८०० अर्ब युआन (११० अर्ब डलरदेखि १२६ अर्ब डलर) भित्रिने अनुमान छ, जुन गतवर्ष ७५५ युआन थियो।
आगामी जुलाईमा अन्तर्राष्ट्रिय मुद्रा कोषको एसडीआर (स्पेसल ड्रइङ राइट्स) बास्केटको पुनर्मूल्यांकनमा युआनको हिस्सा सबैभन्दा ठूलो हुने उनले अपेक्षा गरेकी छन्।
'चीनको क्षेत्रीय वैदेशिक व्यापार सम्झौताहरुलाई मजबुत बनाउने व्यापारसम्बन्धी विस्तृत क्षेत्रीय आर्थिक साझेदारीको सहमतिले पनि सदस्य राष्ट्रहरुलाई चीनसँग थप आर्थिक सहकार्यका लागि युआन एसेट्स होल्डिङ बढाउनमा प्रेरित गर्ने' लिउले बुधबार एक विज्ञप्तिमा लेखेकी छन्।
यो सबै पृष्ठभूमि र बदलिँदो परिदृष्यका कारण चिनियाँ मुद्राको लोकप्रियता र प्रयोग चुलिँदै जाने मुद्रा बजार विज्ञहरुका विश्लेषण छन्।
सोही अनुरुप युआन पछिल्लो दुई महिनादेखि अन्तर्राष्ट्रिय भुक्तानीमा लोकप्रिय मुद्राको सूचीमा चौथो स्थानमा कायम रहन सफल भएको छ। जबकि, संसारका २०० देशका ११ हजारभन्दा बढी वित्तीय संस्थाहरुको पेमेन्ट म्यासेजको व्यवस्थापन गर्दै आएको स्विफ्टले सन् २०१० अक्टोबरमा युआनको ट्रयाकिङ गर्न थाल्दा यो सर्वाधिक लोकप्रिय विनिमय माध्यमको सूचीमा ३५औं स्थानमा थियो।
तर अझै पनि पछाडि नै
यसरी युआन लोकप्रियताको सिंढीमा उक्लिँदो क्रममा रहनुका साथै पछिल्लो १२ वर्षमा यसले मुद्राको विनिमय बजारमा आफ्नो हिस्सा उल्लेख्य रुपमा बढाएको भए पनि अझै यो यस कारोबारमा स्थापित आफ्ना प्रतिद्वन्द्वी मुद्राहरु, अमेरिकी डलर र युरो, को तुलनामा अझै पनि निक्कै पछाडि छ।
जनवरीमा डलर सर्वाधिक लोकप्रिय मुद्राको सूचीमा सबैभन्दा माथिल्लो स्थानमा छ। यो स्थानमा डलर गत जुनयता कायम छ। यद्यपि, यसको बजार हिस्सा गत डिसेम्बरको ४०.५ प्रतिशतबाट ३९.९ प्रतिशतमा झरेको छ। युरोले पनि आफ्नो केही हिस्सा गुमाएको छ, त्यसका बाबजुद यो दोस्रो स्थानमा सुरक्षित छ। बेलायती पाउण्ड विश्वका लोकप्रिय भुक्तानी मुद्राको सूचीमा तेस्रोमा छ। युआनले यसलाई पछ्याउँदै चौथो स्थानमा आइपुग्दा जापानी येनलाई पाँचौ नम्बरमा धकेलेको छ।