BIZMANDU
www.bizmandu.com

‘डर्टी मनि’ स्क्यान्डलमा फस्यो क्रेडिट स्विस बैंक, १०० अर्ब डलरभन्दा बढी कालो धन लुकाएको आरोप

२०७८ फागुन १८

‘डर्टी मनि’ स्क्यान्डलमा फस्यो क्रेडिट स्विस बैंक, १०० अर्ब डलरभन्दा बढी कालो धन लुकाएको आरोप
‘डर्टी मनि’ स्क्यान्डलमा फस्यो क्रेडिट स्विस बैंक, १०० अर्ब डलरभन्दा बढी कालो धन लुकाएको आरोप


स्विजरल्याण्डस्थित क्रेडिट स्विस कम्पनी अवैध रकम लुकाएकोबारे विवादमा तानिएको छ। स्विस बैंकले मानवअधिकार हनन गरेका ब्यक्तिहरु, भ्रष्टाचारी तथा जालसाझीमा मुछिएका ब्यक्तिहरु तथा अवैध धन भएका प्रतिबन्धित ब्यापारीहरुको खाता व्यवस्थापन गरेकोबारे अन्तराष्ट्रिय संचारमाध्यमहरुले समाचार लेखेपछि क्रेडिट स्विस कम्पनी 'डर्टी-मनि' स्क्याण्डलमा फसेको हो। 

Tata
Global Ime

म्युनिखबाट प्रकाशित हुने साउथजर्मन न्यूजपेपरलाई एक ब्यक्तिले सन् १९४० को दशकदेखि सन् २०१० को दशकसम्म क्रेडिट स्विसले व्यवस्थापन बैंक खाताहरुबारे सूचना उपलब्ध गराएको थियो। 

जर्मन दैनिकले उक्त सामाग्री अनुसन्धान पत्रकारहरुको संस्था संगठित अपराध तथा भ्रष्टाचार रिपोर्टिङ प्रोजेक्ट तथा बिभिन्न ४६ अन्य समाचार संस्थाहरुलाई पनि पठायो।  

पानामा पेपर स्टाइलकै रिपोर्टहरु लगातार प्रकाशन हुन थालेपछि क्रेडिट स्विसले बचाउमा आफूहरु कुनै पनि गलत काममा संलग्न नभएको दावी गरेको छ। 

कम्पनीमाथि यसअघि पनि जोखिम व्यवस्थापनका बिभिन्न विषयहरुलाई  ढाकछोप गर्न प्रयासरत देखिएको आरोप लाग्दै आएको छ। 

सन् २०२१ मा कम्पनी १ अर्ब ६० करोड स्विस फ्रांक अर्थात १ अर्ब ७५ करोड डलर घाटामा गएपछि उसको शेयर मूल्यपनि प्रभावित भएको छ। लगाताररुपमा घट्दै गएको शेयर यस स्क्यान्डलपछि एकै दिनमा ३ प्रतिशतले ओरालो लाग्यो।  गत वर्षमा कम्पनीको शेयरमूल्य झण्डै एक चौथाइले घटिसकेको छ। 

न्यूयोर्क टाइम्सले लेखेको समाचारमा भनिएको छ-'प्राप्त सूचना अनुसार बैंकमा १८ हजार भन्दा बढी खाताहरु अवैध धन लुकाउन प्रयोग भएका छन्। सबै रकम जोड्दा १०० अर्ब डलरभन्दा बढी हुन आउँछ।' 

यो सूचना बाहिर आएलगत्तै फेरि स्विजरल्याण्ड एकपटक चर्चामा आएको छ। स्विजरल्याण्डका बैंकमा विश्वभरका धनाढ्यहरुले पैसा राख्दै आएका छन्। 

'स्विस क्रेडिटमाथि लगाइएका पछिल्ला आरोपहरु पुष्टि हुन बाँकी नै छ तर पनि यसले उसको सम्पत्ति ब्यबस्थापनसम्बन्धी ब्यापार अभ्यास तथा व्यवस्थापनबारे प्रश्न उठेको छ जसलाई उसले स्पष्ट पारेर मात्र अघि बढ्न उपयुक्त हुन्छ।'– आरबिसीका विज्ञले भनेका छन्।  

क्रेडिट स्विस भने यी सबै आरोपहरु निराधार तथा भ्रामक भएको भन्दै खण्डन गरिरहेको छ। 'बैंकको ब्यापार अभ्यासमाथि लगाइएको आक्षेप तथा उठाइएको प्रश्नको हामी कडा भत्सर्ना गर्दछौं।'- बैंकले आरोपहरुको खण्डन गर्दै बिज्ञप्ती जारी समेत गरेको छ। 

स्विजरल्याण्डको फाइनान्सियल वाच डग द स्विस फाइनान्सियल मार्केट सुपरभाइजरी अथोरिटी (फिनमा) ले यस आरोपहरुबारे बैंकसँग निरन्तर सम्पर्कमा रही थप जानकारी लिइरहेको बताएको छ। 

फिनमाले सन् २०१८ मा नै क्रेडिट स्विसलाई कालोधन बिरुद्धको लडाईमा देखिएको कमी कमजोरीहरु कडाइका साथ हटाउनेबारे निर्देशन दिएको थियो। 

'वर्षौदेखि लगातार रुपमा कालोधनसँग सम्बन्धित हरेक पक्षको निगरानी र नियमन गर्नमा नै हाम्रो ध्यान केन्द्रित रहेको छ।'- फिनमाका प्रवक्ताले भनेका छन्। 

क्रेडिट स्विसको पछिल्लो स्क्याण्डलबारे यूरोपेली संसदमा समेत कुरा उठेको छ। गत सोमबार यूरोपेली संसदका प्रमुख राजनीतिक दलहरुले स्विजरल्याण्डको बैंकिङ अभ्यासबारे थप समीक्षा हुनु जरुरी भएको बताए। उनीहरुले सार्वजनिक सूचीमा रहेकाहरुलाई इयूको 'डर्टी मनि ब्ल्याक लिस्ट'मा राख्नुपर्ने बिषयमा छलफल अघि बढाउन आवश्यक रहेको पनि भनेका छन्। 

क्रेडिट स्विसले भने आफुमाथि लगाइएका सबै आरोपहरुलाई खण्डन गर्दै आंशिक, असान्दर्भिक र सूचनाहरुबाट छानेर सन्दर्भ बाहिरका सामाग्रीहरु मात्र प्रकाशन गरी आफ्नो छवि धमिल्याउने प्रयास भएको दावी गरेको छ। 

यूरोपेली संसदमा सबैभन्दा ठूलो संख्या रहेको यूरोपियन पिपुल्स पार्टी इपिपीले सूचीको थप समीक्षा गर्दै इयू कमिसनमा स्विजरल्याण्डलाई 'हाइ रिस्क मनि लन्ड्रिङ कन्ट्री'का रुपमा राख्न पूनर्मूल्यांकन गर्नुपर्ने बताएको छ। 

यूरोपेली संसदका सांसदहरुले यस बारेमा कुरा उठाएपछि स्विजरल्याण्डको अर्थ मन्त्रालय अन्तर्गतको अन्तराष्ट्रिय बित्त बिभागले बिज्ञप्ती जारी गरेको छ। 

विज्ञप्तिमा 'स्विजरल्याण्डले बैंकिङ अभ्यासका क्रममा खातावालसँग सम्बन्धित  करलगायत अन्य सबै किसिमका आवश्यक जानकारीहरु माग गरी कालो धन, आतंकबाद तथा भ्रष्टाचारबिरुद्धका सबै अन्तराष्ट्रिय मापदण्ड पूरा गरेर मात्र बैंकिङ कारोबार गर्ने गरेको' दावी गरेको छ। 

उसले स्विजरल्याण्ड हाल एकसयभन्दा बढी देशहरुबाट सूचनाको आदानप्रदान गर्ने तथा खातावालाबारे पूर्ण जानकारी लिने स्वचालित संयन्त्रमा आबद्ध भएको समेत जानकारी दिँदै यस स्क्याण्डलको खण्डन गरेको छ। 

क्रेडिट स्विसले पनि यस मुद्दालाई एकदमै पुरानो समयको सूचनालाई हाल सन्दर्भ मोडेर प्रकाशन गरिएको दावी गरेको छ। बैंकमा बिगत तीन सातादेखि यी सबै बिषयमा लगातार इन्क्वाइरी आइरहेको र धेरै खाताहरुको समीक्षा गरिरहेको जानकारी समेत दिएको छ। 

'यी खाताहरुमध्ये करिब ९० प्रतिशत खाताहरु पहिले नै बन्द भैसकेका छन् । संचारमाध्यममा आउनुभन्दा धेरै अघि नै कतिपय खाताहरु बन्दको प्रक्रियामा गैसकेका थिए। संचारमाध्यममा सार्वजनिक भएका खाताहरुमध्ये ६० प्रतिशतभन्दा बढी खाताहरु सन् २०१५ अघि नै बन्द भैसकेका थिए।'- बैंकले भनेको छ।  

बाँकी खाताहरुबारे मिहिन ढंगले जाँचबुझ गर्दा आफूहरु उक्त जाँचबाट सन्तुष्ट रहेको पनि बैंकले जनाएको छ। 

स्विस बैंकर एसोसिएसनले भनेको छ- 'स्विस फिनान्सियल सेन्टरलाई कुनै पनि शंकास्पद धनप्रति रुची छैन। उसले सँधै आफ्नो प्रतिष्ठा र विश्वसनीयतालाई सबैभन्दा बढी महत्व दिँदै आएको छ।'

क्रेडिट स्विस ग्रुप ए जी अर्थात क्रेडिट स्विस स्विजरल्याण्डस्थित वित्तीय सेवा प्रदायक कम्पनी हो। कम्पनीअन्तर्गत स्विस युनिभर्सल बैंक, इन्टरनेशनल वेल्थ म्यानेजमेन्ट, एसिया प्यासेफिक डिभिजन, ग्लोबल मार्केट्स इन्भेष्टमेन्ट बैकिङ तथा क्यापिटल मार्केटस्, स्ट्र्याटेजिक रिसोलुसन युनिट र कर्पोरेट सेन्टर पर्दछन्। 

कम्पनीले निजी बैंकिङ तथा सम्पत्ति ब्यबस्थापनबारे आफ्ना ग्राहकहरुलाई आवश्यक सबै सेवा उपलब्ध गराउँछ। 

कम्पनीले आफ्नो स्विस युनिभर्सल बैंक तथा इन्टरनेशनल वेल्थ म्याजेनेमन्ट र एशिया प्यासेफिक डिभिजनमार्फत सबै किसिमका निजी बैंकिङ तथा सम्पत्ति ब्यबस्थापन समाधान दिने गरेको छ।  

साथै उसले आफ्ना ग्राहकहरुलाई लगानीको आवश्यक सरसल्लाह तथा जोखिम व्यवस्थापन सेवाहरु उपलब्ध गराउँछ। कम्पनीले पोर्टफोलियो कन्सल्टिङ देखि ब्यक्तिगत लगानीका सुझाव समेत दिँदै आएको छ।