BIZMANDU
www.bizmandu.com

छिमेक लघुवित्तको सेयरः आकर्षक लाभांशमा मूल्य समायोजनको दबाब  


छिमेक लघुवित्तको सेयरः आकर्षक लाभांशमा मूल्य समायोजनको दबाब  
छिमेक लघुवित्तको सेयरः आकर्षक लाभांशमा मूल्य समायोजनको दबाब  


काठमाडौं। लघुवित्त वर्गमा अब्बल मानिने संस्था हो छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड। प्राथमिक सेयर निष्कासनका सुरुवाती वर्षहरूदेखि नै आकर्षक लाभांश, उत्साहप्रद वित्तीय प्रदर्शनी र सबल व्यवस्थापनका कारण यसले लगानीकर्ताको मन जितेको छ।

Tata
Global Ime

दोस्रो बजारमा समावेश भए लगत्तै सेयरले दिएको सक्रियात्मक प्रस्तुति र लगानीको शत प्रतिशत सुनिश्चितताका करण पनि छिमेक लघुवित्त लगानीको उत्तम विकल्प रहेको लगानीकर्ताको बुझाइ छ। 

५२ हप्ताको न्यूनतम मूल्यमा हाल कारोबार हुँदै गरेको छिमेक लघुवित्तको सेयर मूल्य एक वर्षको अवधिमा २१.१७ प्रतिशतले घटेको छ। चालु साताको तीन कारोबार दिनमा मात्रै लघुवित्तको मूल्य ४.६१ प्रतिशत ओर्लिएको हो। पछिल्लो एक महिनाको अवधिको तथ्यांक हेर्ने हो भने लघुवित्तको सेयर मूल्यमा १०.२२ प्रतिशत गिरावट देख्न सकिन्छ। 

परिसूचकमा देखिएको निकै ठूलो उतारचढावले पनि लघुवित्तका सेयर मूल्यमा प्रभाव परेको बुझ्न सकिन्छ। यस्तै पहिलो त्रैमासमा सन्तोषजनक रहेका लघुवित्तका वित्तीय सूचक दोस्रो त्रैमासमा भने केही खस्किएका छन्। लघुवित्तको मूल्य घट्नुको प्रमुख कारणमध्ये अपेक्षा विपरीतको वित्तीय प्रदर्शनी पनि हो। 

प्रस्तावित २७ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजनले पनि लघुवित्तको मूल्यका केही दबाब परेको देखिन्छ।          

चुक्ता पुँजी २ अर्ब ३२ करोड ४१ लाख 
गत पुस २३ गते हेटौंडास्थित होटेल सामनाको सभा हलमा २० औं वार्षिक साधारण सभा डाकेको छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई २७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण गरेको छ। 

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस ७ देखि २३ गतेसम्म सेयरधनी किताब बन्द गरेको थियो। यस अनुसार पुस ६ सम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले साधारणसभामा सहभागिता जनाउनुका साथै लाभांश प्राप्त गरेका छन्। 
लघुवित्तको चुक्ता पुँजी १ अर्ब ८३ करोड रुपैयाँ थियो। २७ प्रतिशतका दरले बोनस सेयर वितरणपश्चात् लघुवित्तको चुक्ता पुँजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ पुगेको छ।

दोस्रो त्रैमासको यस्तो छ कारोबार  
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा छिमेक लघुवित्तले ४९ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ प्रतिशत घटेको हो। अघिल्लो आर्थिक वर्षको पुस अन्तिमसम्म लघुवित्तको खुद नाफा ६१ करोड ५४ लाख रुपैयाँ थियो। 

शुल्क तथा कमिसन आम्दानीसँगै सञ्चालन मुनाफा घट्दा छिमेक लघुवित्तको खुद नाफा घटेको देखिन्छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा खुद फी तथा कमिसन बापतको आम्दानी २८.३५ प्रतिशत ओरालो लाग्दा खुद सञ्चालन मुनाफा करिब साढे ८ प्रतिशत घटेको हो।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म लघुवित्तले २५ करोड ६० लाख रुपैयाँ खुद फी तथा कमिसन आम्दानी गरेको छ। यस्तै सोही अवधिमा लघुवित्तको  खुद सञ्चालन मुनाफा एक अर्ब २७ करोड रुपैयाँ छ। 

फी तथा कमिसन आम्दानीसँगै सञ्चालन मुनाफा गिरावट देखिँदा समेत लघुवित्तले व्यापार विस्तारमार्फत गर्ने ब्याज आम्दानी भने बढेको छ। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा ९८ करोड ४१ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा १४ प्रतिशत वृद्धि हुँदै एक अर्ब १२ करोड रुपैयाँ पुगेको छ। 

२ अर्ब ३२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छिमेक लघुवित्तले २४ अर्ब ५१ करोड ४२ लाख रुपैयाँ निक्षेप संकलन गरेर २८ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म लघुवित्तले ६ अर्ब १३ करोड ९५ लाख रुपैयाँ सापटी पनि लिएको देखिन्छ।  
यसै अवधिमा लघुवित्तको जगेडा कोषमा एक अर्ब २८ करोड रुपैयाँ छ। लघुवित्तको सञ्चित मुनाफा भने एक अर्ब ७ करोड रुपैयाँ रहेको विवरणमा उल्लेख छ। दोस्रो त्रैमाससम्म लघुवित्तको वितरणयोग्य मुनाफा भने ३८ करोड ८७ लाख रुपैयाँ रहेको देखिन्छ। 
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म लघुवित्तको प्रति सेयर आम्दानी ४२.८९ रुपैयाँ, प्रति सेयर नेटवर्थ २०३.२६ रुपैयाँ र अन्तिम कारोबार मूल्य १२ सय २१ रुपैयाँका आधारमा मूल्य आम्दानी अनुपात २८.४६ गुणा छ। यस अवधिमा लघुवित्तको पुँजीगत प्रतिफल भने २१.१० प्रतिशत छ।

प्राविधिक पक्ष 
५२ हप्ताको न्यूनतम मूल्य नजिक किनबेच हुँदै गरेको छिमेक लघुवित्तको अन्तिम कारोबार मूल्य १,२२१ रुपैयाँ छ। लघुवित्तको ५२ हप्ताको न्यूनतम मूल्य १,२२० रुपैयाँ हो। 

कुनै समय २६८८ रुपैयाँसम्मको उच्चतम मूल्यमा खरिदबिक्री भएको छिमेक लघुवित्त सो पश्चात् लामो समयसम्म २,००० रुपैयाँ भन्दा कम मूल्यमा नै कारोबार भएको देखिन्छ। कोभिडसँगै आएको सेयर बजारको उछालका बाबजुद लघुवित्तको सेयर मूल्य २,०६५ रुपैयाँ भन्दा माथि जान सकेन। 

तर छिमेक लघुवित्तको समायोजित प्राविधिक चार्टले भने फरक प्रकारको दृश्य दिएको छ। चार्ट अनुसार १,५०० रुपैयाँको मूल्य विन्दु सबैभन्दा ठूलो अवरोध हो। मूल्य उक्त विन्दु हाराहारी कारोबार हुँदा प्रोफिट बुक हुने सम्भावना अधिक रहेको देखिन्छ। 

१,४५० रुपैयाँ देखि १,५०० रुपैयाँको मूल्य क्षेत्र सेयरका लागि निकै ठूलो अवरोध हो। यस क्षेत्रमा मूल्य भित्रिए लगत्तै पुँजीगत लाभका निम्ति लगानीकर्ताको अत्यधिक आपूर्ति सिर्जना हुने गरेको छ। 

कैयौं पटक मूल्यले सो अवरोधको विन्दु परीक्षण गरे तापनि मूल्यले सायदै सो मूल्य क्षेत्र पार गरेको देखिन्छ। एक पटकको प्रयासमा सो विन्दु पार गरे तापनि मूल्य सो क्षेत्रभन्दा माथि स्थिर भने रहन सकेको छैन। सो क्षेत्रमा नाफा बुकिङका कारण आपूर्ति सृजना हुने सर्वाधिक सम्भावना छ। 

मूल्य घट्दा छिमेक लघुवित्तको सेयरले १,१५० रुपैयाँदेखि १,२०० रुपैयाँको मूल्य विन्दु धेरै पटक परीक्षण गरेको देखिन्छ। यस मूल्य क्षेत्रमा लगानीकर्ताको माग यसको सेयरप्रति बढेर जाने गरेको देखिन्छ। मूल्यले धेरै पटकको प्रयासमा समेत सो टेवा मूल्य क्षेत्र तोड्न सफल नभएको देखिएको छ। हाल बढेको लघुवित्तको मूल्य पनि सोहि विन्दु नजिकबाट सुरुवात भएको हो। 
   
क्यान्डल स्टिक विश्लेषण :
साताको अन्तिम कारोबार दिन छिमेक लघुवित्तको सेयर गतिविधिले बिक्रेताको तीव्र चापसहितको मरुबोजु क्यान्डल स्टिक रचना गरेको छ। दुई कारोबार दिनदेखि नै सोही क्यान्डल स्टिक आकृति देखिएको छिमेक लघुवित्तको सेयरले मूल्य आगामी दिनमा पनि घटने स्पष्ट संकेत दिएको छ। 

यद्यपि १,१५० रुपैयाँ देखि १,२०० रुपैयाँको मूल्य क्षेत्रको ‘डिमान्ड जोन’ नजिकिँदा मूल्यमा अप्रत्याशित गिरावट भने नदेखिने देखिन्छ। उक्त मूल्य क्षेत्रमा लगानीकर्ताको माग बढेको अवस्थामा भने सेयरले नयाँ लक्ष्य लिएर अघि बढ्नेछ 

‘मेजर सपोर्ट’ बाट बजारले बाउन्स ब्याक लिने सम्भावना अधिक छ। सो विन्दुमा पनि मूल्य स्थिर नरहेको अवस्थामा भने मूल्यले थप नकारात्मक प्रदर्शनी दिने अनुमान लगाउन सकिन्छ।

१४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स:
यस साताको बुधबार कम्पनीको कारोबार बन्द हुँदा १४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ३४ को स्केलबाट ५ अंक घटेर २९ प्रतिशतको स्केलमा पुगेको छ। यसले लगानीकर्ताको बिक्रेताको प्रभाव औसतमा हाबी हुँदै गएको बुझिन्छ। सामान्यता यो सूचक ३० प्रतिशतभन्दा तल रहेको अवस्थालाई 'ओभर सोल्ड' अथवा अत्यधिक बिक्री गरिएको भनी बुझिन्छ।

आरएसआईलाई ५० प्रतिशतभन्दा तल झर्छ भने बजारले आगामी दिनमा त्यति शक्तिशाली प्रस्तुति प्रदर्शन नगर्ने बुझ्न सकिन्छ।
रिलेटिभ स्ट्रेन्थ इन्डेक्सले(आरएसआई)ले बजारको प्रस्तुति कतिको शक्तिशाली छ भनेर मापन गर्दछ। सामान्यता यो सूचक ३० प्रतिशतभन्दा तल रहेको अवस्थालाई 'ओभर सोल्ड' अथवा अत्यधिक बिक्री गरिएको भनी बुझिन्छ। यदि यो सूचक ७० प्रतिशतभन्दा माथि रहन्छ भने त्यस अवस्थालाई 'ओभर बट' अथवा अत्यधिक खरिद गरिएको भनी बुझिन्छ। यी दुवै स्थितिमा बजार विपरीत ट्रेन्डतर्फ हिँड्ने गर्छ।

आरएसआईलाई ५० प्रतिशतको सीमाबाट पनि मापन गर्ने गरिन्छ। यो सूचक ५० प्रतिशतमाथि रहन्छ भने बजारको सकारात्मक गतिले निरन्तरता पाउने पूर्वानुमान लगाउन सकिन्छ। यदि आरएसआईलाई ५० प्रतिशतभन्दा तल झर्छ भने बजारले आगामी दिनमा त्यति शक्तिशाली प्रस्तुति प्रदर्शन नगर्ने बुझ्न सकिन्छ।
 
निष्कर्ष:
 निरन्तर घटिरहेको छिमेक लघुवित्तको सेयर मूल्य थप केही समय अझै घट्ने देखिन्छ। पछिल्ला दुई कारोबार दिनमा बिक्रेताको चाप अत्यधिक बढेर गएको छ। यद्यपि आरएसआई अनुसार मूल्य ३० प्रतिशतभन्दा तल छ। 

सेयर मूल्य 'ओभर सोल्ड' जोनमा प्रवेश गरेको हुँदा आगामी केही कारोबारपछि मूल्य बाउन्स ब्याक हुने सम्भावना पनि अब्बल छ। साथै घट्दो सेयर भाउ मेजर सपोर्टको मूल्य क्षेत्र १,१५० रुपैयाँदेखि १,२०० रुपैयाँको विन्दु नजिक छ। ‘डिमान्ड जोन’मा भित्रिइसकेपछि लगानीकर्ताको माग या सेयर प्रति बदर जाने अनुमान लगाउन सकिन्छ। 

तर मूल्य ‘डिमान्ड जोन’मा पनि अस्थिर भई मूल्य क्षेत्रबाट पनि ओरालो लाग्दा आगामी कारोबार दिनमा छिमेक लघुवित्तको सेयर मूल्य घट्न थप बल मिल्ने छ। 

एक दशकको अवधिमा ४५०% अधिक प्रतिफल :
प्राथमिक सेयर निष्कासन पछिका जम्मा ११ वाट आर्थिक वर्षहरूमा छिमेक लघुवित्तले आफ्ना लगानीकर्ताहरूलाई कुल ४५३.८२ प्रतिशत लाभांश वितरण गरिसकेको छ। 

औसतमा लघुवित्तले ४१.२६ प्रतिशत प्रतिफल बढ्दै आएको देखिन्छ। आर्थिक वर्ष २०७१/७२ र २०७२/७३ मा लघुवित्तले इतिहासकै सर्वाधिक मुनाफा वितरण गरेको थियो। यी दुई आर्थिक वर्षमै १०५.४ प्रतिशत लाभांश लघुवित्तले आफ्ना लगानीकर्तालाई दिएको थियो।  प्रत्येक आर्थिक वर्षमा ५२.७ प्रतिशत लाभांश प्रस्ताव भएको हो। 

आर्थिक वर्ष २०६७/६८ मा भने लघुवित्तले सबै भन्दा कम प्रतिफल प्रस्ताव गरेको देखिन्छ। उक्त आर्थिक वर्षका लागि लगानीकर्ताले २५ प्रतिशत नगद लाभांश पाएका थिए। लघुवित्तले सो आर्थिक वर्षका लागी नगद लाभांश मात्र वितरण गरेको हो। 

गत आर्थिक वर्षका लागि छिमेक लघुवित्तले २७ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण गरिसकेको छ।