BIZMANDU
www.bizmandu.com

कोभिड बीमाको दाबी भुक्तानी माग्नेविरुद्ध मुद्दा लड्न पैसा उठाउँदै निर्जीवन बीमा कम्पनी

२०७८ फागुन २८

कोभिड बीमाको दाबी भुक्तानी माग्नेविरुद्ध मुद्दा लड्न पैसा उठाउँदै निर्जीवन बीमा कम्पनी
कोभिड बीमाको दाबी भुक्तानी माग्नेविरुद्ध मुद्दा लड्न पैसा उठाउँदै निर्जीवन बीमा कम्पनी


काठमाडौं। धमाधम बीमा पोलिसी बेचे। दाबी भुक्तानी पनि सुरु गरे। तर जब कोभिड संक्रमण उत्कर्षमा पुग्यो, संक्रमितको संख्या पोलिसी बेच्ने योजना ल्याउँदाको आकलनभन्दा धेरै देखियो। कम्पनीहरुले भुक्तानी बन्द गरे। अहिले सरकारले बाचाअनुसारको रकम उपलब्ध नगराएको बहानामा कम्पनीहरु कोभिड बीमाको दाबी भुक्तानीमा चुपचाप छन्।

Tata
Global Ime

ती कम्पनीहरू अहिले आपसमा २/२ लाख रुपैयाँ उठाइरहेका छन्। केहीले यसलाई बीमा दाबीको भुक्तानी दिन भन्दै प्रचार पनि गरे। तर उक्त बक्यौता तिर्दा धेरै पैसा जाने हिसाब आएपछि निर्जीवन बीमा कम्पनीहरु जसरी हुन्छ नतिर्ने मनस्थितिमा छन्। त्यसैले अहिले मुद्दा लड्नका लागि आपसमा पैसा उठाइरहेका हुन्। 

करिब डेढ वर्षभन्दा बढी समयसम्म बीमितले कोभिड दाबी भुक्तानी रकम पाउन नसकेपछि मुद्दा हालेका थिए। उक्त मुद्दा लड्नका लागि २० निर्जीवन कम्पनीहरुबाट २/२ लाख रुपैयाँका  दरले रकम उठाएको बीमा समितिले जनाएको छ।  

'सहमतिअनुसार सरकारले कोभिडको दाबी भुक्तानी रकम १० अर्ब दिन बाँकी छ, दिने हो/होइन भन्ने टुंगो छैन। कम्पनीहरुविरुद्ध मुद्दा परेका छन्। त्यो मुद्दा लड्न पैसा उठाइरहेका छन्,' बीमा समितिका प्रवक्ता राजुरमण पौडेलले भने, 'विकल्प दिँदा पनि सरकारले बाटो देखाएको छैन, त्यसैले कम्पनीहरु सरकारको मुख ताकेर बसेका छन्।' 

कम्पनीहरुले कोभिडको दाबी भुक्तानी दिने अवस्था नदेखिएको उनले बताए। 'कोभिडको दाबी भुक्तानी तिर्नका लागि एउटा कम्पनीले कम्तिमा १२ देखि १५ करोड रुपैयाँ उठाउनु पर्छ,' उनले भने।

पछिल्लो समय  ब्याकअपमा बसेको अर्थ मन्त्रालयले दाबी भुक्तानी दिन आलटाल गरिरेहको छ। सरकारले कोभिड दाबी भुक्तानी तिर्नका लागि पटक-पटक बीमा समितिमा विकल्प मागिरहेको छ। जसमा बीमा समितिले सरकारलाई कोभिड दाबी भुक्तानीको लागि दुई विकल्प दिएको थियो। निर्जीवन कम्पनीहरुलाई तिर्न बाँकी १० अर्ब रुपैयाँ सरकार आफैंले दिने वा कम्पनीहरुसँग थप सहकार्य गरी भुक्तानी तिर्ने।

बीमा समितिले अर्थलाई पठाएको उक्त विकल्प हालसम्म कुनै पनि निर्णय बाहिर आउन सकेको समितिले जनाएको छ। दाबी भुक्तानी तिर्नका लागि कम्पनीहरुले सरकारसँग सहकार्य गरी अगाडि बढ्न तयार भएका थिए। कोभिड बीमा भुक्तानी बक्यौताले तनाव दिन थालेका कारण सरकारको निर्णय अनुसार दाबी भुक्तानी तिर्न सहकार्य गर्न लागेको जानकारी समेत दिएका थिए।

 यसअघि आफूहरुको दायित्व बराबरको भुक्तानी गरिसकेको दाबी कम्पनीहरुको छ। अर्थ मन्त्रालयले करिब १० अर्ब रुपैयाँ नतिर्दा यसको मुद्दा आफूहरुले लड्‍नुपर्ने अवस्था आएको कम्पनी प्रतिनिधिहरु बताउँछन्। 

कोभिड बीमाका लागि कम्पनीहरूसँग सहकार्य गरेपछि पोलिसी बेच्न सुरु गरिएको थियो। अर्थ मन्त्रालयले ३ अर्बभन्दा माथिको दाबी भुक्तानी तिर्ने मापदण्डमा उल्लेख छ। ५० हजार रुपैयाँ र  एक लाख रुपैयाँको दाबी भुक्तानीका लागि १ लाख ६१ हजार ५ सय ४९ जनाले कोरोना बीमा दाबी गरेका छन्।

यो दाबी अनुसार बीमा कम्पनीले भुक्तान गर्नुपर्ने रकम १५ अर्ब ३२ करोड रुपैयाँ हुन आउँछ । कम्पनीहरुले १ अर्ब २८ करोड र कोरोना बीमाको लागि स्थापना गरेको कोष अर्थात पुलबाट ३ अर्ब ५० करोड भुक्तान भएको  समितिको तथ्यांकमा छ। कोभिड बीमाको भुक्तानी तिर्नबाट हात झिके पनि बीमा कम्पनीहरु नोक्सानमा नभएको उनीहरुको वित्तीय विवरणले देखाउँछ। 

चालु वर्षको सात महिनामा २० वटा इन्स्योरेन्स कम्पनीहरुले २१ अर्ब ८१ करोड बीमा शुल्क आर्जन गरेका छन्। गत माघमा मात्रै २ अर्ब ७२ करोड आर्जन गरेका थिए। सर्वाधिक आर्जन गर्ने पहिलो, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिखर, सगरमाथा र नेको इन्स्योरेन्स छन्।