BIZMANDU
www.bizmandu.com

एनजीओ छाडेर आफ्ना लागि प्लाटफर्म आफैं बनाउनेको स्टार्टअप दिगो नेपाल, जो गर्दैछ केही नौलो

२०७८ फागुन २९

काठमाडौं। दुई वर्षअघि बर्दियाकी अन्जना मल्ल, तनहुँकी रजनी गुरुङ र काठमाडौंकी महालक्ष्मी श्रेष्ठ डेज फर गर्ल्स नेपाल नामक एनजीओमा सँगै काम गर्थे। उक्त एनजीओमा काम गरेको श्रेष्ठको पाँच वर्षभन्दा बढी भएको थियो भने मल्ल र गुरुङको दुई वर्ष। 

Tata
Global Ime

मल्ल र गुरुङ कार्यालयमा आ-आफ्नो काम गरिरहेका थिए, गुरुङले मल्लसँग मनको कुरा राखिन्। मल्ल सम्झन्छिन्, 'म पनि केही समययता आफ्नै केही सुरु गर्ने सोचमा थिएँ। रजनीको पनि मेरो जस्तै सोच रहेछ। म आफ्नो काममा व्यस्त थिएँ र ऊ उसको काममा। रजनीले आफ्नै केही व्यवसाय गर्ने सोच मलाइ सुनाइन्।' 

त्यो बेला दुवैसँग न कुनै बिजनेस आइडिया थियो न त व्यवसायको ज्ञान। थियो त केवल आफ्नै केही गर्ने जोस। त्यही जोसले जन्मिएको स्टार्टअप हो- दिगो नेपाल। जसले प्लास्टिकका वैकल्पिक र पर्यावरणमैत्री सामग्रीहरू उत्पादन र बिक्री गर्छ। 

एनजीओको जागिर छोडेर व्यवसाय 

उच्च शिक्षा हासिल गर्ने सिलसिलामा काठमाडौं आएका मल्ल र गुरुङका परिवार उनीहरूको एनजीओको जागिरदेखि निकै खुसी थिए। 'हामी दुवै पढ्दै जागिर पनि गर्दै थियौं। एनजीओको जागिर, पारिश्रमिक पनि राम्रै थियो  र चिनेजानेकाहरू बीच पनि छुट्टै प्रतिष्ठा थियो,' मल्ल भन्छिन्, 'तर हामी दुवैलाई आफ्नो भन्न मिल्ने केही गर्नु थियो।'

उनीहरु निरन्तर  विभिन्न बिजनेस आइडियामा छलफल गर्थे।  मल्ल भन्छिन् 'हाम्रो पढाइ र गरिरहेको काम दुवै नै सामाजिक क्षेत्रसँग सम्बन्धित थियो।  हामीलाई सामाज साथसाथै पर्यावरणमा पनि सकारात्मक परिवर्तन ल्याउने काम गर्नुपर्छ भन्ने लागेको थियो। तर ठ्याक्कै यही गर्ने भनेर मेसो पाएका थिएनौं।'

गुरुङ थप्छिन्, 'एनजीओमा काम गर्दा बिभिन्न मार्केट प्लेसहरुमा पर्यावरणमैत्री  र लोकल नेपालमा नै बनेको बिभिन्न सामग्रीहरु बिक्री भएको देखेकी थिएँ। त्यहीबाट प्रेरित भएर पनि मैले अन्जना दिदीसँग आफ्नो व्यवसायको कुरा राखें।'

आफ्नो व्यवसाय गर्ने योजना उनीहरुले आफू काम गरिरहेको संस्थामा उत्पादन र गुणस्तर जाँच हेर्ने महालक्ष्मी श्रेष्ठलाई सुनाए।  उमेरले श्रेष्ठ अलि सिनियर भए पनि उनीहरुको कुरा र विचार मिल्थ्यो। श्रेष्ठ भन्छिन् 'म पनि जागिर छाडेर व्यवसाय गर्ने सोचमा थिएँ।  त्यसैले म पनि उत्साहित हुँदै उनीहरूसँग मिलेर व्यवसाय गर्न जोडिएँ। फेरि यहाँ जागिर गर्नुभन्दा अगाडि म टेलरिङ व्यवसायमा थिएँ। झन् अरुको काम गरेपछि आफ्नै व्यवसाय हुनु र गर्नुको महत्व बुझें  |”

सन् २०२०को सुरुवाततिर तीनै जनाले पालैसँग आफ्नै व्यवसायिक योजनामा मिलेर काम गर्नका लागि जागिर छाडे। 
गुरुङ भन्छिन्, 'हाम्रो जागिरप्रति र छोरी आत्मनिर्भर भएकोमा गर्व गर्ने परिवारमा हामीले जागिर छाडेको थाहा पाएपछि आउने प्रतिक्रिया राम्ररी थाहा थियो,  त्यसैले हामीले हाम्रो व्यवसाय राम्ररी नचल्दासम्म परिवारलाई यो कुरा थाहा दिएनौं।'

व्यवसाय केमा सुरु गर्ने भनेर  उनीहरू समस्या पहिचान गर्न थाले। समाज र वातावरणका क्षेत्रमै केही व्यवसाय गर्नु थियो उनीहरूलाई। मल्ल भन्छिन् 'हामीले ग्लोबल वार्मिङ लागायतका मुद्दाहरुका बारेमा बुझ्यौं, अन्ततः हामी प्लास्टिकबाट भइरहेको प्रदूषण घटाउन सानो स्केलमा भए पनि मद्दत गर्ने वैकल्पिक र पर्यावरणमैत्री सामग्रीहरू उत्पादन र बिक्रीको व्यवसाय गर्ने निधो गर्यौं।' 

गुरुङका अनुसार सुरुमा उनीहरूले रिसाइकल र अपसाइकलमा बेस्ड भएर व्यवसाय गर्ने पनि सोचेका थिए। तर थप रिसर्च गर्दै जाँदा उनीहरूले समस्याको जरोमै काम गर्ने विचार गरेर मार्च २०२० मा  'दिगो नेपाल'को स्थापना गरे ।

पर्यावरणमैत्री वा शून्य अपशिष्ट जीवनशैली प्रवर्द्धन गर्ने व्यवसाय 

उनीहरू आफैंले पनि पर्यावरणमैत्री वा शून्य अपशिष्ट (जीरो वेस्ट) जीवनशैली अपनाउने प्रयास गर्दा नेपाली बजारमा प्लास्टिकका वैकल्पिक सामग्री  सजिलै उपलब्ध थिएन, भए पनि असाध्यै महँगा थिए।
मार्केट रिसर्च गर्दा पनि उनीहरूले सोचेको जस्तो व्यवसाय गर्ने खासै कोही पनि भेटेनन्। त्यसले  पनि यो व्यवसाय सुरु गर्नैपर्छ भनेर प्रेरित गरेको उनीहरू बताउँछन्।

श्रेष्ठ भन्छिन्, 'हामी सबै मिलेर जम्मा ३१ हजार लगानी गरेर दिगो नेपालको इन्स्टाग्राम पेजबाट सुरुवात गर्यौं। हामीले सुरुमा सयप्रति  बाँसले बनेको दाँत माझ्ने ब्रस इन्डियाबाट  मगायौं र बिक्री गर्न सुरु गर्यौं।'

उनीहरूले  माया मनोर बुटिक होटलमा भएको मार्केट प्लेसमा पनि आफ्नो स्टल लगाए र  बाँसले बनेको दाँत माझ्ने ब्रस, स्क्रन्चीहरू, टोट ब्याग, पर्स, कागजले बनेको कलम, आदि बिक्री गरे। गुरुङ सम्झन्छिन्, 'त्यो दिन हामीले निकै राम्रो सेल्स गरेका थियौं।' मार्केट प्लेसको सेल्सले उनीहरूलाई निकै हौस्याएको थियो। तर लगत्तै कोभिड महामारीले सबै अस्तव्यस्त बनायो। र, भर्खरै जन्मिएको दिगो नेपालको व्यवसायलाई पनि ठूलो धक्का पुर्यायो। महामारीले गर्दा स्टल पनि  लगाउन पाएनन्। इन्स्टाग्राम पेजमा पनि धेरै फलोअर्स थिएनन्। 
केहि महिनाको लागि त दिगो नेपालको व्यवसायमा ब्रेक नै लाग्यो। तर सामाजिक कार्यमा स्नातक गरेका मल्ल र गुरुङलाई लकडाउन व्यवसायक भिभिन्न पाटाहरू जान्ने बुझ्ने मौका भयो। गुरुङ भन्छिन्, 'त्यति बेला धेरै वेबिनारहरू हुन्थ्यो। हामी बिजनेस सम्बन्धि जुनसुकै वेबिनारमा भाग लिने गर्थ्यौ। हामीले धेरै कुरा सिक्ने मौका पाएम।'

सोही सिकाइ अनुसार उनीहरुले इन्स्टाग्रामतिर 'इको कन्सियस' व्यक्तिहरूलाई खोज्ने थाले र ग्राहकहरूले के चाहन्छन् भनेर पनि निकै अध्ययन गरे। साथै उनीहरू नयाँ नयाँ प्लास्टिकका वैकल्पिक र पर्यावरणमैत्री सामग्रीहरू ल्याउन ब्रेन स्ट्रोमिङ र एक्सपेरिमेट गर्न थाले।

फलस्वरुपः दिगोले बाँसको काइँयो, ब्रस, मुन्ज पेन होल्डर, लुफाह बडी स्क्रबर, लुफाह ब्याक स्क्रबर, लुफाह डिश वाश स्क्रबर, मास्क, मुंज चिया चकटी, मुंज रोटी बास्केट, ओवल ट्रे आदि बजारमा ल्यायो। जसका लागि दिगोले बर्दिया जिल्लाका आदिवासी थारु समुदायका महिलासँग पनि सहकार्य गरेको छ।

स्रोत र उत्पादन बढाउने योजना

मल्ल बताउछिन्, 'हामीसँग अहिले फुलटाइम र पार्टटाइम गरेर १४ जना आबद्ध हुनुहुन्छ, जसमध्ये ६ जना बर्दियाका थारु महिलाहरू छन्।'  

 यी महिलाहरूले स्थानीय रूपमा उपलब्ध स्रोत साधनको सहायताले आफ्नो परम्परागत सीपलाई प्रयोग गरी र त्यसमा आधुनिक डिजाइनहरू समावेश गरी विभिन्न उत्पादनहरू बनाउन गरेका छन्। यी सामान दैनिक उपभोग्य हुनुका साथै पर्यावरणमैत्री र टिकाउ हुने उनीहरू बताउँछन्। यी सामानहरूको मूल्य ४५ देखि १६ सय ५० रुपैयाँसम्म पर्दछ। 

श्रेष्ठ भन्छिन्, 'हामीले व्यवसाय सँगसँगै हाम्रो सामाजिक सञ्जालमार्फत पर्यावरणमैत्री वा शून्य अपशिष्ट जीवनशैली अपनाउन बिभिन्न तरिकाहरू र वातावरण संरक्षणको महत्व पनि बुझाउँदै आएका छौं।'

दिगोले प्रायः सामाजिक सञ्जाल प्लेटफर्म मुख्यत:  इन्स्टाग्राम पेजमार्फत सामग्रीहरू बिक्री गर्दछ, र काठमाडौं उपत्यकाका विभिन्न मल र क्याफेहरूमा लाग्ने मार्केट प्लेसहरु जस्तै फार्मर मार्केटस, स्याटरडे मार्केटमा स्टल राखेर पनि  बिक्री गर्दछ। विस्तारै सेल्सहरू बढ्दै गयो र मासिक रू १० हजारभन्दा पनि कम आम्दानी गर्ने  दिगो नेपालले आज महिनामा कम्तीमा पनि १ लाख ५० हजार आम्दानी गर्छ। माग दिन प्रतिदिन बढ्दो नै रहेको उनीहरू बताउँछन्।  

मल्ल भन्छिन्, ‘हामी अहिले मागका अनुसार स्रोत र उत्पादन बढाउने योजनामा छौं। साथै दिगो र पर्यावरणमैत्री जीवनशैलीको बारेमा बृहत रुपमा जनजेतना जगाउने पनि सोच छ।'