काठमाडौं। सफ्टवेयर डेभलपर कम्पनी भोक्स ग्रुप र कम्युनिकेशन टेक्नोलोजी रिङ्गेजको सहकार्यमा बल्क कल सेवा विस्तार गरिएको छ।
मुलुकको प्रविधि क्षेत्रमा फोन बेसको बिकास गर्ने उद्धेश्यले यो सेवा सुरु गरेको रिङगेजका अध्यक्ष दिपेश रेग्मीले बताए। 'हामी एसएमएस र एपमा मात्र केन्द्रित भयौं। फोनमा ९९ प्रतिशत पेनिट्रेसनमा छौँ। भ्वाइसको प्रविधिलाई फोनसँग जोड्न खोजेका हौँ। यसमा प्रि रेकर्डेड भ्वाइसको प्रयोग गरिनेछ।' अध्यक्ष रेग्मीले भने।
यो सेवामार्फत एकै पटकमा दुइ हजारलाई भ्वाइस कल मेसेज गर्न सकिने उनले जानकारी दिए।
सन २०२१ मा स्थापना भएको कम्पनीले पाँच सय ब्यक्ति र कम्पनीलाई यो सेवा दिइँदै आइएको उनले बताए। कम्पनीले मुलुकमा संचालित १० ठूला उद्योगलाई यो सेवा दिँदै आएको जनाएको छ।
कम्पनीले गरेको सर्वेक्षण अनुसार यो सेवा प्रवाहमा ९२.७६ प्रतिशतले कल उठाउँदै आएका छन् भने ९९ प्रतिशतले पुरा कल सुन्दै आएका छन्। अधिकतम ५ मिनेटको क्षमता रहेपनि यो सेवा अन्तर्गत ३० सेकेण्डको भ्वाइस मेसेज उचित मानिँदै आएको छ।
'कलको माध्यम भएका कारण यो भाषा र प्रविधिमार्फत सबैलाई एकै ठाउँमा ल्याउन सकिन्छ। छिटोछरितो छ। डाटामार्फत स्रोताले कत्तिको जानकारी लिएको थाहा पाउन सकिन्छ।' उनले भने।
सामान्य कलमार्फत गरिने सुचना प्रवाहको तुलनामा यो सेवा ३० प्रतिशत सस्तो रहेको उनले जानकारी दिए। यो सेवाका लागि प्रति कल न्यूनतम साढे तीन रुपैयाँ निर्धारण गरिएको छ।
सेवाग्राहीले प्रि रेकर्ड भ्वाइस र प्रापकको सम्पर्क नम्बर उपलब्ध गरिदिए अनुसार सेवा प्रवाह हुने उनले जानकारी दिए। यसरी भ्वाइस कल सेवा रिसीभ नभएको अवस्थामा तीन पटकसम्म १५ मिनेटको फरकमा रिडायल हुने उनले बताए। 'पठाइएको सन्देश प्राप्त भए नभएकोदेखि लिएर पूर्ण रुपमा श्रवण गरे नगरेको सबै डाटा लिन सकिन्छ। नेपालमै सर्भर राखिएका कारण सुरक्षित र सहज रहेको छ।' उनले भने।
एउटै सन्देश आवाजमार्फत विभीन्न स्थान र निश्चित प्रापक माझ प्रवाह गर्ने उद्धेश्यले यो सेवालाई विस्तार गर्दै आएको भोक्स ग्रुपका प्रमुख कार्यकारी अध्यक्ष सुशान्त राईले बताए। उनका अनुसार यो सेवामार्फत विना झनझट प्रयोगकर्ताले आफ्नो इच्छा अनुसार बल्कमा भ्वाइस मेसेज पठाउन सक्ने उनले जानकारी दिए।
कम लगानीमा इन्टरनेटको पहुँच नभएको सुगम र बिकट ठाउँमा यो सेवा उपयोगी रहेको राईले बताए। यो सेवामार्फत डाटाको म्यानुपुलेसन नहुनका साथै सस्तो दरमा सेवा लिन सकिने उनले जनकारी दिए।
यस अन्तर्गत ग्राहकले जुन सुकै भाषामा पनि प्रयोग गर्न सक्नेछन्। ब्यक्ति र संस्थाका लागि दुई किसीमको नम्बर प्रयोग गरिएको छ। कम्पनीले स्मार्ट सेल नेपाल टेलिकमको नम्बर प्रयोग गर्दै आएको छ।
विशेष गरी निमन्त्रणा, ब्राण्डिङ, आकस्मिक सुचना, प्रचार प्रसारका लागि यो सेवा उपयुक्त रहेको कम्पनीले जनाएको छ।
यस अन्तर्गत इमर्जेन्सी वार्निङ, पब्लिक सर्भिस, क्विक एसेस्मेन्ट, इलेक्सन क्याम्पिङ, फिड्ब्याक कम्प्लेन, अटोमेटेड फोन, हेल्पलाइन सिस्टम लगायतमा सेवा लिन सक्ने जनाइएको छ।
निकट भविष्यमा आधिकारीक एप पनि संचालनमा ल्याइने योजना रहेको कम्पनीले जनाएको छ।
बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म दिइने सेवा सार्वजनिक र संस्थागत दुबै किसिमको रहने बताइएको छ। सार्वजनिकमा रेकर्ड हुने मेसेज भेरिफाइ र अप्रुभल गरेर मात्र पठाइँदै आएको कम्पनीले जनाएको छ।