BIZMANDU
www.bizmandu.com

यती एयरलाइन्सले ल्यायो यात्रुलक्षित बीमा योजना ‘यती एक्स्ट्रा केयर,’ सानिमा जनरलसँग सहकार्य  

२०७८ चैत्र २६

यती एयरलाइन्सले ल्यायो यात्रुलक्षित बीमा योजना ‘यती एक्स्ट्रा केयर,’ सानिमा जनरलसँग सहकार्य  
यती एयरलाइन्सले ल्यायो यात्रुलक्षित बीमा योजना ‘यती एक्स्ट्रा केयर,’ सानिमा जनरलसँग सहकार्य  



काठमाडौं। निजी क्षेत्रको वायुसेवा कम्पनी यती एयरलाइन्सले नयाँ बर्ष २०७९ को अवसरमा यात्रुलक्षित बीमा योजना सार्वजनिक गरेको छ। कम्पनीले सानिमा जनरल इन्स्योरेन्ससँगको सहकार्यमा ‘यती एक्स्ट्रा केयर’ योजना ल्याएको हो। 

Tata
Global Ime

यात्रुलाई सुरक्षित र उत्कृष्ट सेवा दिनका लागि यो योजना ल्याइएको यतीका उडान सुरक्षा प्रमुख एवम प्रवक्ता सुदर्शन बर्तौलाले बताए।  उनका अनुसार यो योजनामा कम्पनीको मोबाइल एप तथा वेबसाइटमार्फत् टिकट खरिद गरी उडान गर्ने यात्रुले ३० दिन अवधि सम्मका लागि एक लाख रुपैयाँ सम्मको दुर्घटना बीमाको सुविधा प्राप्त गर्न सक्नेछन्। 

योजना आगामी वैशाख १ गतेबाट लागू हुने कम्पनीले जनाएको छ। योजना अन्तर्गत यात्रुले जति पटक यात्रा गर्यो त्यति नै पटक बीमा सुविधा प्राप्त गर्न सक्ने जनाइएको छ। कम्पनीका अनुसार ३० दिन भित्रको अवधिमा दुई पटकभन्दा बढी यात्रा भएको खण्डमा यात्रा गरेको अन्तिम मितिदेखि ३० दिनसम्मको बीमा सुविधा प्राप्त हुनेछ भने अघिल्लो यात्रा गर्दा प्राप्त गरेको पोलिसी स्वतः रद्द हुँदै जानेछ। 

हालका लागि उक्त अफर ३ महिनाका लागि लागू हुने प्रवक्ता बर्तौलाले बताए। योजनाको सुविधा अहिलेलाई नेपाली यात्रुले मात्र पाउनेछन्। कम्पनीका अनुसार बीमा योजनामा सहभागी यात्रु बीमा अवधिमा दुर्घटनामा परेका औषधि उपचारका लागि १० हजार रुपैयाँसम्म र मृत्यु भएमा बीमांकको शत प्रतिशत रकम प्राप्त गर्न सक्नेछन्। 

बीमा दाबी सम्बन्धी सर्वाधिकार बीमा समितिको पोलिसी अन्तर्गत सानिमा जनरल इन्स्योरेन्स कम्पनीमा निहित हुने जनाइएको छ। यात्रुहरुको सुरक्षाका साथै सहुलियत र सुविधालाई ध्यानमा राख्दै कम्पनीले निकट भविष्यमा थप आकर्षक योजना ल्याउने योजना जनाएको छ।