BIZMANDU
www.bizmandu.com

अरुण भ्याली हाइड्रोमा बजारको आँखा, तीन महिनामा ८ अर्ब ७१ करोड ३३ लाखको ‘टप कारोबार’


अरुण भ्याली हाइड्रोमा बजारको आँखा, तीन महिनामा ८ अर्ब ७१ करोड ३३ लाखको ‘टप कारोबार’
अरुण भ्याली हाइड्रोमा बजारको आँखा, तीन महिनामा ८ अर्ब ७१ करोड ३३ लाखको ‘टप कारोबार’


काठमाडौं। केही समययता पुँजी बजार तताउँदै आएका कम्पनीमध्ये अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर पनि हो। दिनहुँजसो टप कारोबारको सूचीमा रहने गरेको अरुण भ्याली हाइड्रो बजारका खेलाडीहरू माझ निकै लोकप्रिय सेयर मानिन्छ। केही समययता अधिकांशको आँखा पनि यसमै गाडिएको नेप्सेको गतिविधिले देखाएको छ। 

Tata
Global Ime

पछिल्लो तीन महिनाको तथ्यांकअनुसार धितोपत्र बजारमा सर्वाधिक कारोबार भएको सेयर अरुण भ्याली हाइड्रोपावर हो। माघ १ देखि चैत मसान्तसम्म यसको मात्र ८ अर्ब ७१ करोड ३३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ। १ करोड ६० लाख ९४ हजार कित्ता सो अवधिमा कारोबार भएको परिमाण हो।

यही साताको फ्लोर सिट मात्र अध्ययन गर्दा सर्वाधिक खरिद भएका सेयरहरूको सूचीअन्तर्गत अरुण भ्याली हाइड्रो पनि समावेश भएको भेटिन्छ। बोक्ररहरुमार्फत पनि अरुण भ्याली हाइड्रो उल्लेख्य मात्रामा खरिदबिक्री हुने गरेको छ। 

सबल व्यवसाय र तुलनात्मक रूपमा बलियो आधारभूत पक्ष रहेका जलविद्युत वर्गका सीमित लगानी योग्य सेयरहरूमा अरुण भ्याली हाइड्रोको सेयर पनि समेटिएको छ। जलविद्युत मै लगानीका अवसर खोज्ने लगानीकर्ताहरूले समेत प्रतिफल र लगानीको जोखिम मध्यनजर गर्दै अरुण भ्याली हाइड्रोलाई रोज्ने गरेको पाइन्छ। आउँदो ५० प्रतिशत हकप्रदको चर्चाले पनि कम्पनीको लोकप्रियतालाई बढावा दिएको छ।  

बजारको प्रदर्शनीभन्दा गुणात्मक रूपमा सक्रिय प्रस्तुति जलविद्युत कम्पनीहरूका सेयरले दिने गरेका छन्। जलविद्युतको सेयर खास गरी अल्पकालीन लगानी गर्न खोज्नेका लागि ‘हट केक’ बनेको पाइन्छ। छिटै लाभको अपेक्षा गर्नेहरूले पोर्टफोलियोको अधिकतम हिस्सा जलविद्युत क्षेत्रका सक्रियात्मक स्टकले भर्ने गरेका छन्।  

तर यो एक साताको अन्तरालमा मात्रै अरुण भ्याली हाइड्रोका लगानीकर्ताले प्रति कित्ता २० रुपैयाँ गुमाए। यस अवधिमा घट्दो परिसूचकको परिणाम कम्पनीको सेयर मूल्य साढे चार प्रतिशत अधिक घट्यो। यद्यपि एक वर्ष अघिको तुलना आजको सेयर मूल्यसँग गरिन्छ भने झन्डै ५९ प्रतिशतको छलाङ मूल्यमा देखिन्छ।     

अरुण भ्याली हाइड्रोको मात्रैको विश्लेषण गर्ने हो भने यो त्यति प्रभावशाली सेयर भने होइन। कम्पनीको बजारमा कुल एक करोड ७२ लाख ९५ हजार ९५० कित्ता सेयर छन्। र, अन्तिम कारोबार मूल्य ४१३ रुपैयाँका आधारमा कम्पनीको बजार पुँजीकरण ७ अर्ब १४ करोड ३२ लाख २७ हजार ३५० रुपैयाँ हुन् आउँछ। कुल बजार पुँजीकरणको मात्र ०.२ प्रतिशत अरुण भ्याली हाइड्रोको हिस्सा हो। 

‘लो क्याप’(कम बजार पुँजीकरण) भएका सेयरहरू भने अत्यधिक उतारचढावपूर्ण हुने गर्छन्। परिसूचकको सामान्य हलचलले मात्रै पनि यस्ता सेयरहरूको मूल्यमा उल्लेखनीय विन्दुको फेरबदल देखिन्छ। यस कारण पनि ट्रेडरहरुको आकर्षण ‘लो क्याप’ भएका स्टकहरूमा बढी पाइन्छ।  

व्यवसायको कुरा गर्दा कम्पनीले जलविद्युत आयोजनाको विकास, निर्माण, व्यवस्थापन र सञ्चालन गर्ने गरेको छ। यसका साथसाथै कम्पनीले मझौला र ठुला जलविद्युत आयोजना निर्माण गर्न विभिन्न कम्पनीहरूसँग संयुक्त लगानी र नवीकरणीय ऊर्जामा अध्ययन, अनुसन्धान र तालिम सञ्चालन गर्ने गर्छ। 

कम्पनी आफैंले जलविद्युतका पाँच आयोजनाहरूमा लगानी गरी सञ्चालन गर्ने लक्ष्य लिएको छ। पिलुवाखोला जलविद्युत आयोजना, काबेली बी-१ जलविद्युत आयोजना, अपर काबेली-२ जलविद्युत आयोजना, काबेली बी-१ को क्यासकेड आयोजना र बुधुम खोला जलविद्युत आयोजना छन्। यस अतिरिक्त पिलुवा सोलार आयोजनाको लक्ष्य पनि कम्पनीको छ। कम्पनीले हालचालै ३२ मेगावाट क्षमता भएको लुखुखोला आयोजना खरिद गरेको छ।  

कम्पनीले पिलुवा खोलाको पानी उपयोग गरी ३ हजार किलोवाट क्षमताको पिलुवाखोला जलविद्युत आयोजना निर्माण गरी २०५६ देखि नै व्यवसायिक उत्पादन गरिरहेको छ। त्यस्तै,  काबेली बी-१ जलविद्युत आयोजना सञ्चालन भएको ५ वर्ष भइसकेको छ। काबेली बी-१ को क्यासकेड १० मेगावाटको आयोजना पनि राष्ट्रिय प्रसारण प्रणालीमा समावेश भइसकेको छ।   

माथिल्लो काबेली-२ जलविद्युत आयोजनाको ग्रिड कनेक्सन सकिए तापनि पीपीए भने हुने बाँकी छ। पीपीएको प्रतीक्षामा बुधुम खोला आयोजना पनि छ। 

विद्युत् उत्पादनमा मुलुकको आत्मनिर्भर हुने लक्ष्यले जलविद्युत कम्पनीहरूको व्यवसायमा उलेखनीय प्रोत्साहन मिलेको छ। निरन्तर बढ्दो दायरा र आवश्यकताले पनि कम्पनीहरूलाई थप ऊर्जा प्रदान गर्ने गरेको छ।  

अरुण-काबेलीको सेयर बेच्न रोक 
नेपाल धितोपत्र बोर्ड(सेबोन)ले अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई अरुण-काबेलीको सेयर बिक्री गर्न रोक लगाएको छ। धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम ३८ को ‘१’ (क) को व्यवस्था अनुसार सो सेयर बिक्री गर्न नमिल्ने उल्लेख गर्दै बिक्रीमा प्रतिबन्ध लगाएको हो।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ को ‘१’ (क) मा ‘संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखा परीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रूपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले एक वर्षसम्म सम्बन्धित संगठित संस्था वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारको सदस्य वा अन्य कुनै व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरिदबिक्री गर्न गराउन वा हस्तान्तरण गर्न वा लेनदेन गर्न सक्ने छैन’ भन्ने उल्लेख छ। 

अरुण भ्यालीले भने एकल सञ्चालकको नभएर सिंगो कम्पनीको स्वामित्वमा रहेको सेयर बेच्न चाहेको बताउँदै आएको थियो। तर दुवै कम्पनीका सञ्चालकहरू एकै व्यक्ति/समूह रहेको भन्दै अरुण भ्यालीलाई अरुण काबेलीको संस्थापक सेयर बिक्रीमा रोक लगेको हो। अरुण भ्याली हाइड्रोपावरका कार्यकारी अध्यक्ष जीवनराज शाक्य र सञ्चालक रहेका रमेशप्रसाद न्यौपाने अरुण कावेली हाइड्रोपावरमा पनि सञ्चालक छन्।

सेबोनले अरुण काबेलीको सेयर बिक्री प्रतिबन्धित गरे लगत्तै राम्रो लाभको प्रतीक्षामा रहेका अरुण भ्यालीको लाखौं सेयर उठाएका लगानीकर्ताहरूलाई निकै ठूलो धक्का लागेको छ। उनीहरूको अरुण भ्यालीबाट मनग्य आम्दानी गर्ने सपना चकनाचुर भएको छ।

बजारमा केही समय अघिदेखि नै अरुण भ्यालीले अरुण-काबेलीको ठूलो परिमाणमा संस्थापक बेच्न लागेको सूचना चुहिएको थियो। अरुण-काबेलीको संस्थापक सेयर बेच्दा कम्पनीले करोडौं रुपैयाँ आम्दानी गर्ने र प्रतिफल उच्च दिने प्रक्षेपणमा लगानीकर्ता अरुण भ्यालीको लाखौं कित्ता सेयर उठाउन तयार थिए। यद्यपि सानो अवधिमै मनग्य लाभले लगानीकर्ताहरूको योजना विफल भएको देखिन्छ। 

अरुण भ्यालीले यस अघि कम्पनी तथा कम्पनीका सेयरधनीहरूको हितलाई उच्चतम प्राथमिकतामा राखी कम्पनीको वृद्धिलाई ध्यानमा राखी आवश्यकता तथा औचित्यताको आधारमा दोस्रो बजारमा अरुण-कावेली हाइड्रोपावरमा आफ्नो नाममा रहेको उल्लेखित कित्ता सङ्ख्या बिक्री गर्ने निर्णय भएको जानकारी गराउँदै ०७८ माघ २३ गते एक राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गरेको थियो। 

अरुण काबेलीलाई मर्ज गर्ने रणनीति
दुवै कम्पनीका अध्यक्षतामा गुरुप्रसाद न्यौपाने रहेका बेला अरुण भ्याली र अरुण काबेली एक आपसमा गाभिने रणनीति बनेको थियो। यी संस्था मर्ज भएको अवस्थामा जलविद्युत कम्पनीहरूको पहिलो मर्जर लगानीकर्ताले अनुभव गर्ने थिए। 

त्यो बेला दुवै संस्थाका अधिकतम संचालाक एकै भएको हुँदा मर्जरमा जाने निर्णय अघि बढेको थियो। मर्जरपछि कम्पनीको नाम अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेड रहने बताइएको थियो। यस्तै, एक बराबर एकको स्वाप रेसियोमा निर्धारण गर्ने तयारी भएको जानकारीमा आएको थियो। 

त्यति बेला अरुण कावेलीमा न्यौपाने अध्यक्ष र बच्छराज तातेड, जीवनराज शाक्य र भोजप्रसाद तिमिल्सिना सञ्चालक थिए। त्यस्तै, अरुण भ्यालीमा गुरुप्रसाद न्यौपाने अध्यक्ष र रमेशप्रसाद न्यौपाने, बच्छराज तातेड, जीवनराज शाक्य, पूजा दाहाल न्यौपाने, सञ्जीव न्यौपाने र भोजप्रसाद तिमिल्सिना सञ्चालक थिए ।

हाल भने यी दुई संस्थाहरू विद्युत् नियमन आयोगको सहमतिको प्रतीक्षामा छन्। ‘मर्जरका लागि हामीले नियमन आयोगमा निवेदन हालेका छौं। आयोग डिफर्म्ड भएका कारण प्रक्रिया अघि बढेको छैन,’ गुरुप्रसाद न्यौपानेले बिजमाण्डूसँग भने। 

प्रमुख गतिविधि
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले असोज २४ मा २४ औं वार्षिक साधारणसभा गरेको थियो। त्यसबाट गत आर्थिक वर्षका लागि १०.५२ प्रतिशत लाभांशको प्रस्ताव पारित गरी सेयरधनीहरूलाई बाँडिसकेको छ। यसमध्ये १० प्रतिशत बोनस सेयर हो।  

यसबाहेक ५० प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव पनि सोही सभाले अनुमोदन गरेको हो। कम्पनीको चुक्ता पुँजी एक अर्ब ५७ करोड रुपैयाँ छ। यसको १० प्रतिशत बोनस सेयर दिएपछि पुँजी १५ करोड ७० लाख रुपैयाँले बढेर एक अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। बोनस वितरणपछि कायम भएको यही चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर कम्पनीले सेयरधनीलाई वितरण गर्नेछ। 

कम्पनीले यस पटक कायम चुक्ता पुँजी एक अर्ब ७२ करोड ९५ लाख ९५ हजार रुपैयाँको ५० प्रतिशत अर्थात् ८६ करोड ४७ लाख ९७ हजार ५०० कित्ता सेयर हकप्रदमार्फत निष्कासन गर्नेछ। सो पश्चात् अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको चुक्ता पुँजीको आकार २ अर्ब ५९ करोड ४३ लाख ९२ हजार ५०० रुपैयाँ हुनेछ। 

कम्पनीले यस अघि पनि १:०.५(५० प्रतिशत)को अनुपातमा ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद जारी गर्न अनुमति प्राप्त गरेको थियो। कम्पनीको २३ औं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको थियो। सो बेला हकप्रद निष्कासनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेड बिक्री प्रबन्धक थियो।
कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव गरेको थियो। तर विद्युत् नियमन आयोगले कम्पनीलाई दुई चरणमा हकप्रद निष्कासन गर्न अनुमति दिएका कारण पुनः ५० प्रतिशत हकप्रद निष्कासनको तयारीमा कम्पनी छ। माथिल्लो काबेली-२ जलविद्युत आयोजनाका लागि आवश्यक पर्ने स्वपुँजी कम्पनीले जुटाउने प्रयास गरेको हो। 

२०७१ वैशाखमा पनि कम्पनीले कायम चुक्ता पुँजी ३५ करोड ४ लाख ९३० रुपैयाँको शतप्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो। 
हकप्रदबाहेक कम्पनीले सेयरधनीहरुलाई नियमित लाभांश वितरण गर्दै आएको छ। आर्थिक वर्ष २०६७/६८ देखि २०७७/७८ ओ अवधिमा कम्पनीले सेयरधनीलाई कुल ११२.२५ प्रतिशत लाभांश वितरण गरिसकेको छ। औसतमा लगानीकर्ताहरूले लगानीको ११.२३ प्रतिशत बर्सेनि फिर्ता पाउने गरेका छन्। 

दोस्रो त्रैमासमा नाफामा सुधार
चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ७ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.१० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ७३.२५ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमास अन्त्यसम्म ९९ करोड ८३ लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी हकप्रद र बोनस वितरण पश्चात् १ अर्ब ७२ करोड रुपैयाँ कायम हुन् पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोष भने ६.३३ प्रतिशत घटेको छ। १४ करोड ४३ लाख रुपैयाँ सञ्चित रहेको गत आर्थिक वर्षको जगेडा कोषमा हाल भने १३ करोड ५२ रुपैयाँ छ।  

कम्पनीको विद्युत् बिक्री आम्दानीसँगै अन्य आम्दानी बढेपछि खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी २.११ प्रतिशत बढेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले जलविद्युत बिक्री बापत ४ करोड रुपैयाँ संकलन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको आम्दानी ३ करोड ९४ लाख रुपैयाँ थियो। 

यस्तै कम्पनीको  कुल आम्दानी गत आर्थिक वर्षको तुलनामा १७.१० प्रतिशत बढेको छ। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा ९ करोड ५७ लाख रुपैयाँ रहेको कुल आम्दानी चालु आर्थिक वर्षको पुस अन्त्यसम्म आइपुग्दा ११ करोड २१ लाख रुपैयाँ पुगेको छ।  

त्यसै गरी, कम्पनीको सञ्चालन मुनाफा १३.८६ प्रतिशत बढेको छ। पछिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको सञ्चालन मुनाफा ८ करोड ७९ लाख रुपैयाँ थियो। जुन चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आइपुग्दा १० करोड रुपैयाँ छ। 

खुद नाफा बढे पनि कम्पनीको प्रति सेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ४.९७ रुपैयाँ घटेर ८.६६  रुपैयाँमा झरेको छ। चुक्ता पुँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा कम्पनीको यस्तो आम्दानी घट्न पुगेको हो। 

कम्पनीको प्रतिसेयर नेटवर्थ १०७.८२ रुपैयाँ छ र धितोपत्र बजारमा अन्तिम कारोबार मूल्य ४१३ रुपैयाँका आधारमा मूल्य आम्दानी अनुपात ४७.६९ गुणा छ।

यस्तो छ प्राविधिक पक्ष
लगानीकर्ताको अत्यधिक मागका कारण ७८५ रुपैयाँसम्मको उच्चतम मूल्य विन्दुसम्म कारोबार हुन पुगेको अरुण भ्यालीको सेयर हाल भने ४१३ रुपैयाँ प्रतिकित्ताका किनबेच हुँदै छ। उच्चतम मूल्य विन्दुबाट कम्पनीको सेयर मूल्य करिब साढे ४७ प्रतिशत घटिसकेको छ। मूल्य समायोजनको दबाबले सेयरको मूल्य घट्नुमा निकै महत्त्वपूर्ण भूमिमा निभाएको छ। 

नेप्सेले अरुण भ्यालीको १० प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन गरेको थियो। समायोजनपछि ५७५ रुपैयाँमा खरिद बिक्री भएको सेयरको मूल्य एकाएक ५२३ रुपैयाँमा झर्न पुग्यो। मूल्य समायोजनपछि निर्धारण भएको कम्पनीको मूल्यले एक-दुई दिन लगानीकर्ताको आकर्षण बटुल्न सफल पनि रह्यो। तर मूल्यको दिगो वृद्धिलाई एक दुई दिनको माग मात्र पर्याप्त थिएन। असमानुपातिक आपूर्ति र मागका कारण मूल्यमा निरन्तर गिरावट आएको समायोजित प्राविधिक चार्टले देखाउछ। ७८५ रुपैयाँसम्मको उच्चतम मूल्य विन्दुबाट घटेको सेयर मूल्यले सो बेला ३५० रुपैयाँको मूल्यमा गएर टेवा लिन पुगेको थियो। 

३५० रुपैयाँमा टेवा लिन पुग्दा मूल्यमा साढे ५५ प्रतिशतको क्षति पुग्न गयो। यही घटेको मूल्यलाई लगानीकर्ताले अवसरका रूपमा लिए। ३५० रुपैयाँमा अत्यधिक माग सृजना हुँदा मूल्यले पुनः ५५० रुपैयाँसम्मको यात्रा तय गर्न सफल रह्यो। तर छोटो समयमै २०० रुपैयाँको लाभ पाउँदा नाफा बुक गर्ने लगानीकर्ता सोही मूल्यमा खरिद गर्न चाहनेहरू भन्दा हाबी भए। कारण स्वरूप मूल्यमा फेरि पनि गिरावट आउन पुग्यो। यस पटक पनि मूल्यले ३५० रुपैयाँमा नै गैर टेवा लियो। 

सो विन्दुबाट लगानीकर्ताको माग सेयरप्रति फेरि बढेको हो। खरिदकर्ता हाबी हुँदा मूल्यले ५८२ रुपैयाँसम्मको लक्ष्य लिएर अघि बढ्न सक्यो। तर मूल्यले यस अघि निर्माण गरेको ५५० रुपैयाँको अवरोध पार गरे लगत्तै बिक्रेताहरूको प्रभुत्व बजारमा देखियो। तर खरिदकर्ताहरूले महँगोमै सेयर किन्ने लक्षण देखाएपछि मूल्यले ५०० रुपैयाँ नजिकको टेवा लिँदै  ६२३ रुपैयाँसम्म पुग्न सफल रह्यो। सो पश्चात् भने मूल्य ओरालो लाग्ने क्रमले दिनहुँ जस्तो निरन्तरता पाएको छ। 

यस अघि बारम्बार मूल्यले परीक्षण गरेको ३५० रुपैयाँको बलियो टेवा नजिकिएको पनि छ। यद्यपि मूल्यले यस पटक उक्त  टेवामा कस्तो प्रतिक्रिया दिनेछ त्यो भने हेर्न बाँकी नै छ। मूल्य गतिविधिको उतारचढावमा निकै ठूलो भूमिका निभाएको यस मूल्यरेखामा अधिकांश बजारको नजर छ। सकारात्मक प्रतिक्रिया दिने संकेत पाए लगानीकर्ताको माग सेयर प्रति पुनः बढ्ने निश्चित छ। तर बारम्बार सोही विन्दुमा टेवा लिँदा बिक्रेताको आपूर्ति सहन सक्ने क्षमता उक्त मूल्य रेखामा छ या छैन भन्ने विषय पनि विश्लेषण गर्न जरुरी देखिन्छ। 

बजारको आपूर्ति ‘एक्युमुलेट’ गर्न सके सोही टेवा विन्दुबाट मूल्यले नयाँ लक्ष्य लिएर उकालो लाग्ने सम्भावना छ। तर घट्दो मूल्य र बिक्रेताको अत्यधिक चाप सो मूल्यरेखाले भन गर्न सक्षम रहेको अवस्थामा मूल्यमा निकै नकारात्मक प्रभाव पर्ने देखिन्छ। लगानीकर्ताको गतिविधिले चार्टमा ‘हेड एन्ड सोल्जर्स’ को प्याटर्न निर्माण गरेको देखिन्छ। एक साताको अवधिबाट प्राविधिक चार्टको विश्लेषण गरिन्छ भने उक्त प्याटर्ण थप स्पष्ट तरिकाले देखिन्छ। 

यस प्रकारको चार्ट प्याटर्नले आगामी दिन मूल्यमा निकै नकारात्मक प्रभाव सृजना हुने संकेत गर्छ। उक्त ‘चार्ट प्याटर्न’ले आफ्नो उचाइ बराबरको गिरावट मूल्यमा अनुभव गर्न सकिने पूर्व संकेत दिने गर्छ।

यस अवस्थामा लगानीका निर्णय लिनु अगावै अधिकांश बजारको लय हेर्न आवश्यक छ। परिसूचकको निरन्तर ओरालोलाई एउटा कम्पनीको मागले मात्र सम्हाल्न सक्दैन। कायम तरलता अभाव र बिग्रिदा अर्थतन्त्रका समष्टिगत सूचकांकमा पनि सुधार आवश्यक छ। तर चुनावी माहोलले प्रणालीमा पैसा भित्र्याउने विश्लेषण जानकारहरू गर्छन्। विदेशी अनुदान पनि ठूलो रकममा मुलुक भित्रिएको छ। सकारात्मक सूचनाको पखाइमा रहेको बजारलाई उक्त सूचनाले सकारात्मक ऊर्जा प्रदान गर्न सक्छ। 

अब निष्कासन हुँदै गरेको कम्पनीको हकप्रद , कम्पनीप्रति लगानीकर्ताको माग, नजिकिएका अवरोध र बजारको वर्तमान ट्रेन्ड हेरी लगानीको रणनीति तयार पार्नु पर्नेछ। ‘स्ट्रिक्ट स्टप लस,’ ‘टार्गेट’ र ‘रिस्क रिवार्ड रेसियो’को पर्याप्त मूल्यांकनपछि लगानीको निर्णय लिनु उत्तम विकल्प हुनेछ।

***

आगामी साता तपाई कुन कम्पनीका बारेमा जान्न चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस्