BIZMANDU
www.bizmandu.com

परम्परागत नेवारी मिठाईलाई लक्जरी डेजर्ट ब्राण्ड बनाउने अनुष्का, मिस नेपालदेखि उद्यमीसम्म

२०७९ बैशाख ७

परम्परागत नेवारी मिठाईलाई लक्जरी डेजर्ट ब्राण्ड बनाउने अनुष्का, मिस नेपालदेखि उद्यमीसम्म
परम्परागत नेवारी मिठाईलाई लक्जरी डेजर्ट ब्राण्ड बनाउने अनुष्का, मिस नेपालदेखि उद्यमीसम्म


काठमाडौं। पढाइ सकेपछि अस्ट्रेलियामै बैंकको राम्रो जागिर खाइरहेकी अनुष्का श्रेष्ठलाई अचानक नेपाल फर्किने लहड चल्यो। मिस नेपाल २०१९ मा भाग लिनकै लागि उनी उता जमिसकेको करिअरलाई चटक्कै छाडेर फर्किएकी थिइन्। 

Tata
Global Ime

अस्ट्रेलियाको पाँच वर्षे बसाईले फेर्न नसकेको उनको ‘नेपालमा नै केही गर्ने’ जोशलाई मिस नेपालको प्रतियोगिताले थप उचाइमा पुर्‍याइदियो। मिस नेपालको ताज हात पारेपछि मिस वर्ल्डको तयारीमा व्यस्त थिइन्। मिस वर्ल्ड प्रतियोगिताको ‘ब्युटी विथ ए पर्पज’ प्रोजेक्टका लागि उनी सिन्धुपाल्चोकको सोल्सिङ गाउँ पुगेकी थिइन्। उनले उक्त गाउँको शैक्षिक र जीवनस्तर उत्थानका लागि जीविकोपार्जनका अवसर सिर्जना गर्ने काम गरिन्।

उक्त ब्युटी विथ पर्पज प्रोजेक्टको मुख्य टोलीमा अनुष्कासँगै उत्तम ब्लोन, श्याम र मिङमार तामाङ पनि थिए,  जसलाई उनी आफ्नो 'मेन्टर' पनि मान्छिन्। सोही मेन्टरहरूको सुझावलाई ध्यानमा राखी अनुष्काले सन् २०२० को नोभेम्बरमा नेवारी परम्परागत मिठाईहरुलाई नयाँ स्वरुप दिँदै लक्जरी ब्राण्डका रूपमा 'माक्कुसे' लञ्च गरिन्।

रैथाने मिठाइलाई अन्तर्राष्ट्रिय पहिचान दिने प्रयास 
मिस वर्ल्ड प्रतियोगितामा अनुष्काले ‘ब्युटी विथ ए पर्पज’को उपाधि जितेर सारा नेपालीलाई खुसी र गौरवान्वित  बनाएकी थिइन्। 'मैले मिस वर्ल्ड प्रतियोगिताको समयमा र पछि नेपालीहरुको असीमित माया र समर्थन पाएको छु। म उहाँहरूले मलाई दिनु भएको माया रेसिप्रोकेट गर्ने कुनै माध्यम खोज्दै थिए,' उनले सुनाइन्। 

नेपालमा नै रहेर नेपाली उत्पादनमा नै काम गर्ने कुरामा पनि उनी ढुक्क थिइन्। किनभने परदेसको बसाई टुंग्याएर नेपाल फर्किँदा नै उनलाई आफूमा विदेश मोह नभएको बोध भइसकेको थियो। तर यहाँ कुन करिअरमा जम्न सकिएला त ! त्यसबारे उनले निधो गरिसकेकी थिइनन्। 

उनी प्रोजेक्ट व्यवस्थापनमा पनि अब्बल छिन्।  'मलाई ठ्याक्कै यही गर्छु भन्ने ठोस आइडिया त थिएन तर यस्तो काम गर्नु थियो, जसबाट मेरो सीपको पनि सदुपयोग होस्, अनि मैले पाएको मायाको बदलामा नेपालको लागि केही गर्न सकुँ। मुख्य कुरा नेपालमा नै बसेर स्वदेशी उत्पादनमा काम गर्न सकुँ,' उनी सुनाउँछिन्।

छरिएर रहेका उनका उद्देश्य र इच्छाहरुलाई समेटेर उनले तयार पारेको माक्कुसेको अवधारणालाई पूर्णता दिन अनुष्का र उनका साझेदारहरुलाई १० महिना जतिको समय लाग्यो। 

'मैले मेरा कुराहरू सुनाएपछि मेरा मेन्टरहरुले मलाई गुदपाक र पुस्टकारीसँग केही गर्ने सोच बनाएको छौ कि भनेर सोधे। त्यतिबेला मैले त्यो सुझाव खासै वास्ता गरिन किनभने मलाई खान सम्बन्धी काम गर्ने खासै इच्छा पनि थिएन र खानामा केही गर्न सक्छु जस्तो पनि लागेको थिएन,' माक्कुसे सुरुवात अघिको समयबारे उनले खुलाउँदै गइन्। 

त्यसअघि उनले पुस्टकारी र गुदपाक नै नचाखेको दाबी गरिन्। पहिलो पटक गुदपाक र  पुस्टकारीको व्यवसाय सुरु गर्ने योजना नकारे पनि उनको दिमागबाट भने त्यो कुरा बाहिरिन भने सकेको थिएन। उनी यो आइडियाबारे पनि सोचिरहेको थिइन् र यसमा उनले सम्भावना र उनका सबै इच्छा र उद्देश्यहरूलाई जोड्ने एउटा माध्यम पनि देखिरहेकी थिइन्। झन् पहिलोपटक गुदपाक र  पुस्टकारी चाखेपछि उनी नेपालको मौलिक मिठाई(गुदपाक र  पुस्टकारी)लाई नै लिएर व्यवसाय निर्माण गर्ने कुरामा  पक्का भइन्।

आफ्ना मेन्टरलाई नै व्यापारमा साझेदार बनाएर उनले ३० लाख रुपैयाँको लगानीमा माक्कुसे लन्च गरिन्। तर महामारीको बीचमा  व्यवसाय सुरु गर्न सहज पक्कै थिएन। बजारदेखि कच्चा पदार्थ ढुवानीमा समेत असर परेको थियो। अनुष्का सम्झन्छिन्, 'म आन्तरिक र बाहिरी दुवै किसिमका चुनौतीहरूबाट गुज्रिएँ। बुवा बैंकर (रिटायर्ड) र आमा फेसन डिजाइनर भएकाले ममा जागिर खाने मानसिकता बढी हाबी थियो। यो मानसिकताबाट बाहिर आएर एउटा उद्यमीको रूपमा सोच्नु, रिस्क उठाउनु एकदमै चुनौतीपूर्ण थियो।'

तर अनुष्का टिम वर्कका साथ यी सबै चुनौतीहरूलाई विस्तारै पार लगाउनेमा ढुक्क छिन्। 'यसबाहेक हामीसँग खोजेको जस्तो सीप भएको मानव संसाधनको पनि निकै कमी छ। यो मैले महसुस गरेको समस्या हो। अझ कति जानेबुझेका पुराना मिठाई बनाउनेहरू आफ्नो रेसिपी सेयर गर्न नै हिच्किचाउने पनि पाए मैले,' यसरी पुरानो र परम्परागत सीप उनीहरुसँगै हराएर जाने खतरा देख्छिन् अनुष्का। 

माक्कुसे नेवारी शब्द हो। यो शब्दको ठ्याक्कै नेपालीमा उल्था गर्न भने  सकिँदैन। तर माक्कुसेले मन भरिने आनन्द दिने मिठो स्वादलाई जनाउँछ। 

माक्कुसे सुरु गर्नु भन्दा अघि अनुष्का काठमाडौंका रैथाने मिठाइ पसलहरुमा गएर गुदपाक र पुस्टकारी बनाउने विधि पनि  सिकिन्। घरमा पनि उनी आफैंले यसलाई निरन्तर पकाउने अभ्यास गरेको बताउँछिन्। 

मौलिक नेपाली मिठाई  गुदपाक र पुस्टकारीलाई विश्व प्रसिद्ध ब्राण्डका रुपमा चिनारी दिलाउने अभियानमा लागेको बताउने अनुष्काले यसमा हाल प्रत्यक्ष रूपमा ६ जना आबद्ध रहेको र अप्रत्यक्षरूपमा ४० जनाभन्दा बढी संलग्न रहेको जानकारी दिइन्। 

उनका अनुसार माक्कुसेका परिकारहरू माक्कुसेको इन्स्टाग्राम र फेसबुक पृष्ठहरूमार्फत पनि अर्डर गर्न सकिन्छ। साथै, माक्कुसेका परिकारहरू ग्यापु, मुन्चा र मुकुन्डो अनलाइन स्टोरहरुमा उपलब्ध छन्।  

अनुष्काका लागि सबैभन्दा ठूलो चुनौती भनेको व्यवसायको स्थिरतालाई कायम राखेर स्केल गर्नु हो। सुरु सुरुमा दिनको १० डेलिभरीबाट अहिले माक्कुसेले त्यसको दोब्बर सेल्स गर्दै आएको छ, त्यो पनि नेपाल भित्र र बाहिर। 

अनुष्का भन्छिन्, 'सुरुवाती अवस्थामा मिस नेपालबाट पाएको माया र समर्थनले पनि मलाई आफ्नो व्यवसाय बजारमा चिनाउन निकै सहयोग पुग्यो।'

उपहारको विकल्प बन्दै मिठाई
माक्कुसे अन्तर्गत  पुस्टकारी, गुलाबजल-पिस्ता गुदपाक, मोक्का गुदपाक, गुदपाक-चोको फज कुकिज, ओटमिल, पम्पकिन सीड कुकिज, ओट्स गुडपाक, पम्पकिन सीड कुकिज परिकारहरू छन्। उक्त परिकारहरू सबै ठूलो भर्यासङस्थित माक्कुसेको कारखानामा उत्पादन हुन्छ।

यसको मूल्य पाँच सय २९ रुपैयाँदेखि ६ सय ४९ रुपैयाँसम्म पर्छ भने उपहारका रूपमा दिनका लागि उपयुक्त हुने गिफ्टिङ कम्बोहरू १२ सय ४९ देखि ४ हजार ४४९ रुपैयाँसम्म पर्छ। यी गिफ्टिङ कम्बोहरूमा ग्राहकले  कस्टमाइज सन्देशहरू पनि लेखाउन मिल्ने अनुष्काले बताइन्।

सुरु सुरुमा धेरैलाई यो मूल्य निकै महँगो लागेको अनुष्का बताउँछिन्। अनुष्का भन्छिन्, 'धेरैले हाम्रो प्राइसिङ माथि प्रश्न गरे तर हामीले बजारमा पाइने जस्तै सामान्य प्रोडक्ट लिएर फेन्सी बक्समा मात्र  राखेका होइनौं। हामी काभ्रेका किसानहरूबाट खुवा लिन्छौं र उत्पादन, गुणस्तर जाँच, दिगो प्याकेजिङ लगायतमा पनि उतिकै ध्यान दिन्छौं,' उनले भनिन्। 

माक्कुसेको प्याकेजिङको पनि निकै आकर्षक र हातैले बन्ने भएकाले यी उत्पादनहरू मिठाईको रूपमा भन्दा पनि गिफ्टिङको लागि बढी प्रयोग हुने गरेको अनुष्का बताउँछिन्।

उनका अनुसार मक्कुसेले  कस्टमाइज वेडिङ, बेबी अनाउन्समेन्ट, विन्टर बक्स गिफ्ट प्याकेज पनि गर्न थालेको छ। अनुष्का निरन्तर नेपाली डायस्पोराको बलियो भएको देशहरूमा माक्कुसेलाई विस्तार गर्ने सोचमा छिन्।

'साथै हामी यो वर्षभित्र माक्कुसेको वेबसाइट लन्च गर्न र भौतिक स्टोर खोल्ने काम गर्दै छौं,' माक्कुसेलाई लक्जरी प्रिमियम ब्रान्ड बनाउने सोच लिएकी अनुष्का भन्छिन्, 'लक्जरीलाई प्रोडक्टको मूल्यले होइन, अनुभवले चिनाउँछ।'