काठमाडौं। ह्वाट्स एपले अब एप्पलको आइओएस १० र ११ भर्सनमा नचल्ने भएको छ। ह्वाट्स एप चलाउन अब आइफोन प्रयोगकर्ताहरुलाई न्यूनतम आइओएस १२ भर्सन आवश्यक पर्नेछ।
आइफोनका फाइभ र फाइभसी मोडलमा अब ह्वाट्स एप चल्ने छैन। ह्वाट्स एपले आइफोन प्रयोगकर्ताहरुलाई नयाँ मोडलमा रुपान्तरण गर्ने कारणसहित अपग्रेड गर्न आग्रह गरेको छ।
पुरानो आइओएस भर्सनमा अब ह्वाट्स एपले नयाँ अपडेटका साथै सेक्युरिटी फिक्सेस पठाउने छैन। आइओएस १२ वा त्योभन्दा पछिल्लो भर्सनका आइफोन प्रयोगकर्ताहरुले मात्रै अब ह्वाट्स एप प्रयोग गर्न सक्ने नोटिफिकेसन पठाउन थालेको छ।
आइफोन फाइभ वा फाइभसी प्रयोगकर्ताहरुले त्यसमा नयाँ आइओएस भर्सन अपडेट गर्न व्यवहारिक रुपमा सकिँदैन। तर, फाइभ एस वा त्योभन्दा पछिका आइफोन छन् भने आइओएस १२ मा परिणत गरी ह्वाट्स एप प्रयोग गर्न सक्ने बताइएको छ।