काठमाडौं। विश्वकै सबैभन्दा धनी इलन मस्क सबैभन्दा धेरै तलब बुझ्ने प्रमुख कार्यकारी अधिकृत पनि हुन्। टेस्ला र स्पेस एक्सका सीइओ मस्कले २०२१ मा २३.५ अर्ब अमेरिकी डलर तलब बुझेका छन्।
मस्कले २०१८ मा टेस्ला स्टक अप्सनको रिवार्ड २०२१ मा उपयोग गरेसँगै उनको आम्दानी ह्वात्तै बढेको देखिन्छ। फर्चुनका अनुसार यो २०२१ मा कुनै पनि सीइओले एकै दिन पाएको सबैभन्दा धेरै भुक्तानी हो।
फर्चुन ५०० कम्पनीमध्ये मस्क पहिलो नम्बरमा छन्। यो सूचीमा सबैभन्दा धेरै तलब बुझ्ने सीइओ सूचना प्रविधि वा बायोटेक कम्पनीका छन्।
सूचीमा एप्पलका सीइओ टिम कुक, नेटफ्लिक्सका रिड ह्यास्टिङ्स र माइक्रोसफ्टका सत्य नडेला छन्।
फर्चुन ५०० कम्पनीको सूचीमा टेस्ला ६५ औं नम्बरमा छ। २०२१ मा कम्पनीको आम्दानी अघिल्लो वर्षको तुलनामा ७१ प्रतिशतले बढेर ५३.८ अर्ब डलर पुगेको छ। विद्युतीय गाडी निर्माण गर्ने टेस्ला विश्वको सबैभन्दा मूल्यवान अटो कम्पनी मानिन्छ।
एप्पलका सीइओ टिक कुकले २०२१ मा ७७.५५ करोड अमेरिकी डलर तलब बुझेका छन्। यसको अधिकांश हिस्सा सेयर रहेको बताइएको छ। १० वर्षको ग्रान्टको रुपमा कुकसँग १.७ अर्ब डलरको सेयर छ। फर्चुन ५०० कम्पनीको सूचीमा एप्पल तेस्रो नम्बरमा छ। विश्वभर चिप अभावका कारण उत्पादनमा चुनौती थपिएको छ।
अमेरिकी बहुराष्ट्रिय सफ्टवेयर कम्पनी एनभीआइडीआइएका सहसंस्थापक जेनसेन हुआगले २०२१ मा सबैभन्दा बढी तलब बुझ्ने सूचीको तेस्रो नम्बरमा छन्। उनले २०२१ मा ५०.७ करोड अमेरिकी डलर तलब पाएका छन्।
त्यसैगरी, नेटफ्लिक्सका सीइओ रिड ह्यास्टिङ्स चौथो नम्बरमा छन्। उनले २०२१ मा ४.०८ करोड डलर तलब बुझेका छन्।