BIZMANDU
www.bizmandu.com

एमएस वायरमा मात्र नभई अन्य फलामे ४ वस्तुको आयात शुल्क बढाइयो, उद्योग संकटमा

२०७९ जेठ ३०

विराटनगर। जेठ १५ को बजेटले एमएस वायर रडको आयातलाई महँगो बनाएपछि पूर्वका उद्योगी सडकमा उत्रिए। अर्थमन्त्रीले हतारहतार उद्योगीलाई वार्तामा बोलाए र असार १ गते समस्या समाधान गरिदिने आश्वासन दिएका छन्।

Tata
Global Ime

तर बजेटले फलामका अन्य उद्योगलाई चाहिने अन्य कच्चा पदार्थ पनि महँगो बनाइदिएको छ। यसका कारण देशका १ दर्जनभन्दा बढी उद्योग संकटमा परेका छन्।

विशाल ग्रुपअन्तर्गतको सुनसरीको दुहबीमा सञ्चालित मैनावती स्टिलले बजेट वक्तव्यले सीआर क्वाइल, एमएस स्ट्रिप्स, एमएस फ्ल्याट्स र जिआई सकेट गरी चार कच्चा पदार्थको आयातशुल्क महँगो बनाउँदा उद्योग चल्न नसक्ने जनाएको छ।

उद्योगका विक्री प्रबन्धक रोहित अग्रवालका अनुसार सीआर क्वाइलको भन्सार महसुल यसअघि ४ दशमलव ७५ प्रतिशत थियो। यसलाई वृद्धि गरेर १५ प्रतिशत बनाइएको छ। त्यस्तै यस वस्तुमा अन्तःशुल्क प्रति किलो २ रुपैयाँ २० पैसा थियो। नयाँ बजेटले सीआर क्वाइलमा अन्तःशुल्कको दर पनि वृद्धि गर्दै प्रति किलो ४ रुपैयाँ ५० पैसा तोकेको छ।

सीआर क्वाइलबाट सटर बनाउने सामग्री, हलुका स्वायर पाइप, दराज, टेबुल आदिको निर्माण गरिन्छ।

त्यस्तै एमएस स्ट्रिप र एमएस फ्ल्याट्सको पनि आयातशुल्क वृद्धि गरिएको छ। दुबै वस्तुको आयातमा अन्तःशुल्क प्रति किलो २ रुपैयाँ २० पैसा रहेकोमा नयाँ बजेटले ७ रुपैयाँ ५० पैसा निर्धारण गरेको छ।

एमएस स्ट्रिपबाट फलामको ३ इन्चको कालो पाइपको उत्पादन गरिन्छ। घरमा छाना, ट्रस आदिको निर्माण गर्दा उक्त कालो पाइपको प्रयोग गरिन्छ।

अग्रवालले जिआई सकेट्सको भने नेपालका पाइप उद्योगले आयात गर्ने गरेको बताए। 

सकेट्सको नेपालमा उत्पादन गर्दा थोरै उत्पादन हुने र नेपालका उद्योगलाई लागत महँगो पर्ने भएकाले आयात गर्ने गरिएको हो। यसको उत्पादन नेपालका कुनै उद्योगले पनि गर्दैनन्।

जिआई सकेट्स यसअघि साफ्टाअन्तर्गत ७ दशमलव २५ प्रतिशत भन्सार महसुल तिरेर आयात गर्न सकिन्थ्यो। यसपटकको बजेटले जिआई सकेट्सको उक्त साफ्टा सुविधा हटाइदिएको छ। यसमा १५ प्रतिशत भन्सार महसुल लाग्ने उल्लेख गरिएको छ।

त्यस्तै जिआई सकेट्समा अन्तःशुल्क पूर्ण छुट रहेकोमा नयाँ बजेटले प्रति किलो २ रुपैयाँ ५० पैसा तोकेको छ।

हुलास वायर इन्डस्ट्रिजका महाप्रबन्धक मुकेश कोठारीले फलामका उपरोक्त ४ प्रकारका सामग्रीमा तोकिएको नयाँ आयात दरले उद्योग सङ्कटमा पर्ने बताए।