काठमाडौं। विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले डिजिटल नेपाल एक्सेलेरेसन (डीएनए) परियोजनाको लागि ब्रोडब्यान्डको पहुँच विस्तार गर्न र डिजिटल अर्थतन्त्रमा थप मानिसहरूलाई संलग्न गराउन १४० मिलियन अमेरिकी डलर (१७ अर्ब ४७ करोड) स्वीकृत गरेको छ।
माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय प्रबन्धकले भन्छन्, 'समावेशी र सुरक्षित डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गरेर मानिसहरू र व्यवसायहरूलाई सूचना, सेवा र बजारमा जोड्ने नेपालको लक्ष्यलाई समर्थन गर्न पाउँदा विश्व बैंक गौरवान्वित भएको छ।'
उनका अनुसार यो परियोजनाले २०१९ मा नेपाल सरकारले घोषणा गरेको देशको डिजिटल अर्थतन्त्र रणनीति, डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा सहयोग गर्नेछ। साथसाथै परियोजनाले ग्रामीण क्षेत्रका बासिन्दा, व्यवसायका लागि गुणस्तरीय र किफायती ब्रोडब्यान्ड सेवाहरूमा पहुँचमा सुधार गर्नेछ।
यसले नेपालको डाटा पूर्वाधार र साइबर सुरक्षामा सुधार गर्दै डिजिटल सरकारी सेवाहरूको डेलिभरीलाई समर्थन र सुरक्षित पनि गर्ने बताइएको छ। यस परियोजनाले डिजिटल सीप विकास तालिम दिएर करिब १,५०० जनालाई रोजगारीका अवसरहरू पनि सिर्जना गर्नेछ।
उक्त परियोजनाका लागि विश्व बैंक टास्क टिम लिडर सिद्धार्थ राजा भन्छन्, 'डीएनए परियोजनाले उच्च गतिको ब्रोडब्यान्ड कनेक्टिभिटी र डिजिटल सीप र सेवाहरूमा लगानी गरेर नेपालको आर्थिक वृद्धि विकासलाई प्रतिनिधित्व गर्दै समस्त नेपाली, नेपालीहरू र यहाँका व्यवसायहरूलाई थप प्रतिस्पर्धात्मक र विश्वव्यापी डिजिटल अर्थतन्त्रमा एकीकृत बनाउँछ।'
डीएनए परियोजना विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) ले चलाएको हो।