काठमाडौं। सन् २०१५ मा सन्नी राजोपाध्यायले च्याउको छाला (मस्रूम लेदर)को बारेमा एउटा भिडियो हेरेका थिए। प्राय शाकाहारी तरकारीको रुपमा मात्रै खाइरहेको च्याउको छाला पनि बन्ने कुरा देख्दा उनलाई निकै रोचक लागेको थियो।
थप अध्ययन गर्दा उनले च्याउको अचम्मलाग्दो विशेषताहरु थाहा पाए। च्याउबाट छाला मात्र होइन विभिन्न वातावरणमैत्री विकल्पहरू तयार पार्न सकिने कुराहरू पनि उनलाई ज्ञात भयो। सन्नी त्यो समय यसरी सम्झन्छन्, 'थाहा पाएर पनि यसमा काम अघि बढाउन न मसँग कुनै प्रकारको स्रोतसाधन थियो न व्यवसाय सुरु गर्ने ज्ञान।'
त्यसैले त्यो ज्ञानलाई उनले केही वर्षलाई ज्ञानमै सीमित राखे र सन् २०१८ मा अर्को व्यवसाय सुरु गरे। त्यो बेलामात्र उनले पहिले आँट्न नसकेको च्याउबाट केही काम लाग्ने उत्पादन बनाउने निर्क्यौल गरे।
उनको यो प्रयासमा मेकानिकल इन्जिनियर गुन्जन घिमिरे र पल्लव श्रेष्ठ पनि जोडिए। तीन जनाको दिमागको उपजले जन्मियो च्याउ बायो टेक्नोलोजिज। यो एउटा रिसर्च कम्पनी हो जसले कृषि वेस्ट (बाइ-प्रोडक्ट), एलजी लाई कच्चा पदार्थ रूपमा प्रयोग गर्दै माइसिलियम प्रविधिको साथ कम्पोस्टेबल इन्सुलेसन प्यानल, निर्माण सामग्रीहरू तथा ल्याम्पशेडहरू, एलजी बायो रियाक्टर जस्ता उत्पादनहरू बनाउँछ।
माइसिलियम उत्पादनमा जुटेका दुई युवा
सन्नी प्रोटोटाइप गर्नमा जुटे। उनी त्यो पल सम्झन्छन्, 'म बायो टेक्नोलोजी क्षेत्रको व्यक्ति पनि थिइन। मलाई केहि प्रोडक्ट बन्छ कि बन्दैन भन्ने पनि थाहा थिएन। तर म यसमा आफ्नै बलमा निरन्तर लागिपरिरहेको थिएँ। त्यसपछि गुञ्जन भेटे पछि इन्जिनियरिङको पार्टमा प्लस पोइन्ट आयो।'
च्याउबाट उपयोगी केही प्रोडक्ट बनाउने प्रक्रियामा उनी चितवनको एउटा कम्पनीमा जोडिन पुगे। गुञ्जन पनि सोही कम्पनीसँग मिलेर बायो टेक सम्बन्धी काम गर्न कोसिस गरिरहेका थिए। सन्नी र गुञ्जनको भेट भने सन् २०१८ को सार्क सम्मेलनमा नै भएको थियो। त्यतिबेला गुन्जन भर्खर अमेरिकामा मेकानिकल इन्जिनियरिङमा स्नातक सकाएर फर्केका थिए।
तर उनीहरू कसरी एउटै कामको लागि यसरी जोडिएको सन्नी सुनाउँछन्, 'त्यो कम्पनीले हामीलाई एउटै टेबलमा ल्यायो। तर त्यो कम्पनीसँग कारणवश काम अघि बढ्न सकेन। तर हामी दुईले भने माइसेलियम उत्पादनमा काम अघि बढाउने निधो गर्यौं।'
सन्नी र गुञ्जनसँग फ्याब ल्याबका पल्लव श्रेष्ठ लगानीकर्ताका रूपमा जोडिए। उनीहरू मिलेर च्याउ बायो टेक्नोलोजिज नामाकरण गरेर रिसर्च कम्पनीको रुपमा दर्ता गरे।
'हामीले एक वर्षभन्दा बढी समय प्रोटोटाइपिङमा नै बितायौं। हामीले चाहेको जस्तो प्रोडक्ट बनेपछि हामी लगानी जुटाउनतिर लाग्यौं। तर हाम्रो प्रोडक्ट नेपाली बजारको लागि एकदमै नयाँ भएकाले हामीले देखेको माइसिलियम प्रोडक्टको मार्केट उहाँहरूले देख्नु भएन,' उनले सुनाए।
सन्नीका अनुसार माइसिलियम प्रोडक्टको आइडिया नवीनतम र नाफामुखी भएपनि सानो सानो ब्याचमा प्रोडक्टहरू बनाउँदा निकै महंगो पर्ने हुँदा धेरैले किन्न सक्दैनन्। यसलाई बल्कमा उत्पादन गर्नुपर्छ, जसका लागि उनीहरूलाई ठूला कारखाना चाहिन्छ। र त्यसको लागि करिब ५-७ करोड लगानी चाहिने उनीहरू बताउँछन्।
लगानी जुटाउन गरेको संघर्ष
कारखानाको लागि लगानी नजुटे पनि उनीहरुले हार नमानी कम्पनीलाई सस्टेन गराउन च्याउकै प्रयोगबाट विभिन्न प्रोडक्टहरू बनाएर टेस्ट गर्न थाले। यो सन् २०१९ को कुरा हो।
त्यति नै बेला काठमाडौँमा वायु प्रदूषण निकै उच्च भएको थियो। संयोगवश सन्नीले त्यहीबेला नेपालको हिमाली भेगको हावालाई बोतलमा प्याकेजिङ गरेर चीन, भारत जस्ता देशमा बेचिरहेको थाहा पाए।
सन्नी सम्झन्छन्, 'साथै मैले एउटा भविष्यवादी सर्ट फिल्म पनि हेरे जसमा मान्छेहरू बाँच्नका लागि हावा किनिरहेका थिए। एकदिन म र गुञ्जन बसिरहेको थियौं र मैले एक्कासि उसलाई म हावा बेच्न चाहन्छु भनेर भने। उसले मलाई दुष्ट मानिसको संज्ञा दिँदै उसलाई र उनीहरूको अफिस आउने १० जनालाई कन्भिन्स गराउन भन्यो।'
सन्नीले आजभोलि भइरहेको बोतलको पानीको बजारको उदाहरण दिँदै गुञ्जनलाई कन्भिन्स गराएको उनी सुनाउँछन्। आज भन्दा २०-३० वर्ष अघि अमानवीय मानिने र सोच्नै नसकिने पानीको बेचबिखन हिजोआज मजाले फस्टाएको छ। त्यस्तै एउटा मान्छेलाई बाँच्नका निम्ति प्रति दिन ५५० लिटर अक्सिजन चाहिन्छ। त्यो पनि बेचबिखन भइरहेकै छ। यसरी नै उनीले गुञ्जन र बाँकी १० जनालाई पनि कन्भिन्स गरे।
त्यति नै बेला भारतको नयाँ दिल्लीमा अक्सिजन बार खुल्यो, जहाँ गएर मानिसहरूले पैसा तिरेर अक्सिजनयुक्त हावामा सास फेर्न सक्छन्। गफ त भइरहेको थियो तर के सामाग्री उत्पादन गर्ने कसरी बनाउने केही क्लिक नै भइरहेको थिएन। त्यसै क्रममा कोरोना महामारी फैलियो र जताततै अक्सिजनको अभाव भयो। 'कतिले त अक्सिजन नभएकै कारण आफ्नो ज्यान गुमाउन पर्यो। त्यसपछि हामीले गर्न खोजेको सबै कुराको अर्थ भयो,' उनी भन्छन्।
त्यस लगत्तै उनीहरू आल्गी बायोरियाक्टर बनाउन तिर लागे। सन्नी यसको काम सम्झाउँछन्, 'यसले घामको किरण, फोहोर पानी र प्रदूषित हावा खान्छ र फोटोसिन्थेसिसको प्रक्रियाबाट अक्सिजन र बायोमास उत्पादन गर्दछ। तर यो बनाइरहँदा पनि हामीलाई यसको ग्राहक को हुन् भन्ने थाहा थिएन।'
प्रदूषण बढाउनेहरु आफूले गरेको फोहोरले के कतिसम्म घातक असर गरिरहेको छ भन्ने कुरा खासै वास्ता गर्दैनन् भन्ने प्रवृत्तिसँग अवगत थिए उनीहरू। त्यसैले उनीहरू एलजी बायोरियाक्टर लिएर सरकार सामु पुगे, धेरै सरकारी निकायहरूमा पुगे। तर सबै ठाउँमा यो प्रोडक्ट समय भन्दा निकै छिट्टै आएको भन्ने जवाफ मात्र लिएर फर्कन्थे।
आशाको किरण- आल्गी बायोरियाक्टर
उनीहरु वाग्मती प्रदेशका मुख्यमन्त्रीलाई भेट्न हेटौंडा समेत पुगे। 'हामीले उहाँलाई उहाँको कार्यालय बाहिर बसेर १३ घण्टाभन्दा बढी पर्खियौं। राति साढे ९ बजे बाहिर निस्कँदा उहाँले हामीलाई हाम्रो आइडिया पिच गर्न दिनु भयो र हाम्रो काम र प्रोडक्टलाई प्रोत्साहन गर्दै ५ लाख रुपैयाँको अनुदान पनि दिनु भयो।– सन्नीले सुनाए।
सोही अनुदानबाट उनीहरूले केही हप्ता अघि मात्र पुल्चोक, ललितपुरमा १ हजार लिटरको आल्गी बायोरियाक्टर स्थापना गरेका छन्। यो आल्गी बायोरियाक्टरले एक महिनामा १.८ टन कार्बनडाइअक्साइडलाई १.५ टन शुद्ध अक्सिजनका रुपमा परिवर्तन गर्छ। यो एक वर्षमा ५ रूखले उत्पादन गर्ने अक्सिजन बराबर हुने उनीहरूको दाबी छ।
च्याउ बायो टेक्नोलोजिज इसिमोड, इन्स्टिच्युट फर लर्निङ सोलुसन तथा अन्तरप्रेरणा प्रालिले संयुक्त रूपमा आयोजना गरेको ‘क्लाइमेट एक्सन फर क्लिन एयर’ कार्यक्रमको नेपालबाट भएका पाँच बिजेतामध्ये एक पनि हुन सफल भयो।
सो कार्यक्रमबाट प्राप्त १२०० अमेरिकी डलर उनीहरूले प्रोटोटाइपिङमा खर्च गरेको सन्नी बताउँछन्। क्लाइमेट एक्सन फर क्लिन एयर इनोभेसनले वातावरणलाई बढावा दिन र समाजमा वायु प्रदूषण प्रभावहरूलाई न्यूनीकरण गर्न युवाहरूलाई परिचालन गरेर उद्यम-मैत्री वायु प्रदूषणको समाधान गर्ने लक्ष्य लिएको छ।
अहिले च्याउ बायोटेक्नोलोजीजमा सन्नी, गुञ्जन, रिवाज सुवेदी, पल्लव, र प्रसिल न्यौपाने गरी पाँचजना आबद्ध छन्। दुई बायो टेक वैज्ञानिकहरू पनि सल्लाहकारको रुपमा यो टिमसँग जोडिएका छन्। उनीहरूको ल्याब मंगलबजारमा छ, जहाँ उनीहरू विभिन्न रिसर्च र प्रोटोटाइप बनाउँछन्।
गत वर्ष वाग्मती प्रदेशले छुट्याएको कुल ३४ लाख रुपैयाँको अनुदानबाट ८००० लिटरको आल्गी बायोरियाक्टर बनाउन यो टिम हाल तल्लिन छ। सन्नी उनीहरूको भावी योजना सुनाउँछन्, 'आउने दिनमा हामी हाम्रो प्रोडक्टलाई इन्सिनरेटरहरूमा पनि विस्तारको लागि काम गर्दैछौं।'
