BIZMANDU
www.bizmandu.com

महँगा मोबाइलमा एलसी बन्दले दुई तिहाइ घट्यो फोन आयात, जेठमा सवा अर्बभन्दा कमको भित्रियो

२०७९ असार ८

महँगा मोबाइलमा एलसी बन्दले दुई तिहाइ घट्यो फोन आयात, जेठमा सवा अर्बभन्दा कमको भित्रियो
महँगा मोबाइलमा एलसी बन्दले दुई तिहाइ घट्यो फोन आयात, जेठमा सवा अर्बभन्दा कमको भित्रियो


काठमाडौं। सरकारले ६०० अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइल सेट भित्र्याउन प्रतिबन्ध लगाएसँगै जेठमा त्यसको प्रष्ट प्रभाव देखिएको छ। वैशाखमा आयात ह्वात्तै घटेको मोबाइल फोनको आयात जेठमा पनि त्यही लयमा थप ओरालो लागेको छ।

Tata
Global Ime

जेठमा एक अर्ब १२ करोड रुपैयाँ बराबरको दुई लाख २१ हजार ४ सय ६३ थान सेट मात्रै भित्रिएको भन्सार विभागको तथ्यांकले देखाएको छ।

चैतमा एलसी बन्द हुने भेउ पाएपछि व्यापारीहरुले स्टक भरथेग गर्न चार अर्ब रुपैयाँबराबरको ७ लाख ४० हजार ८ सय ७० थान मोबाइल सेट आयात गरेका थिए। त्यसपछि वैशाखमा यो आयात १ अर्ब ९६ करोड रुपैयाँबराबरको ३ लाख ६४ हजार २ सय ५६ सेटमा झरेको थियो। उक्त आँकडा चैतको तुलनामा तीन लाख ७६ हजार ६१४ थानले कम हो।

सोही क्रम पछ्याउँदै वैशाखको तुलनामा जेठमा पनि मोबाइल आयात थप ओरालो लाग्दै १ लाख ४२ हजार ७ सय ९३ थानमा झरेको छ। रकमका हिसाबले यो वैशाखको भन्दा ८३ करोड ६२ लाख ८२ हजार रुपैयाँले कम हो। 

जेठमा आयात घट्दा मोबाइल आयातबाट सरकारले संकलन गर्ने भन्सार पनि १३ करोड ११ लाख २३ हजार रुपैयाँले घटेको छ। जेठमा सरकारले मोबाइल आयातबाट १७ करोड ७९ लाख रुपैयाँ भन्सार उठाएको देखिन्छ। 

चालु आवको ११ महिनामा ३८ अर्ब रुपैयाँबराबरको ५५ लाख ८६ हजार ५ सय ७८ थान मोबाइल आयात भएको छ। जसबाट सरकारले ११ महिनामा ६ अर्ब रुपैयाँ माथिको भन्सार संकलन गरेको छ।  

सरकारले आयात प्रतिबन्ध लगाएसँगै चर्चित कम्पनीका दुई दर्जनभन्दा बढी हाइ रेन्ज मोडेलका सेट नेपाल भित्रिन सकेका छैनन्। सरकारले २०७९ असार मसान्तसम्मलाई प्रिमियम स्मार्टफोनहरुको आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ।

फोन आयातमा प्रतिबन्ध लागेसँगै मोबाइल आयात आधाभन्दा बढीले घटेको व्यवसायीहरुले बताएका छन्। यसलाई भन्सार विभागको तथ्यांकले पनि पुष्टि गर्छ।

राष्ट्र बैंकले मोबाइलको आयातका कडाई गरेकै कारण व्यवसायीहरुले चैतमा स्टक कायम गर्नकै लागि धेरै आयात गरेको र त्यसपछि घट्दै गएको मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनका उपाध्यक्ष सञ्जय अग्रवालले बताए। 

६ सय डलरमाथिको फोन आयातमा प्रतिबन्ध लगाउँदा सबैभन्दा ठूलो मार एप्पललाई परिरहेको छ। मंगलबारको विनिमयदर अनुसार एक अमेरिकी डलरबराबर १२४.७७ रुपैयाँ छ। ६०० अमेरिकी डलरबराबर नेपाली मुद्रा ७४ हजार ८६२ रुपैयाँ हुन्छ।

यसैले एप्पलले नेपालमा बिक्री गर्ने सबै सेटको आयात रोकिएको छ। एप्पलका विभिन्न सातवटा मोडलका १९ वटा सेट ७३ हजार रुपैयाँ माथि रहेकाले आयात पूर्ण रूपमा रोकिएको छ। एप्पलको आइफोन १३ प्रो म्याक्स, १३ प्रो, १३, १३ मिनी, १२, ११, एसइ (२०२२) को आयात रोकिएको छ। यी सेटहरुको मूल्य न्यूनतम ८७ हजार रुपैयाँदेखि अधिकतम २ लाख ७८ हजार रुपैयाँ पर्छ। 

एप्पलले बिक्री गर्ने केही सेटहरु बजारमा भए पनि केही 'आउट अफ स्टक' रहेको कम्पनीले जनाएको छ। यस्तै, एप्पलपछि मोबाइल सेट आयात प्रतिबन्धको असर सामसङलाई परिरहेको छ। सामसङका ६ वटा विभिन्न फ्ल्यागशीप स्मार्टफोनका आठवटा भेरियन्टहरु ७४ हजार रुपैयाँ माथि पर्छन्। 

सामसङको ग्यालेक्सी जी फोल्ड थ्री फाइभजी, जी फ्लिप थ्री फाइभजी, एस२१ एफइ फाइभजी, एस२२, एस२२ प्लस र एस२२ अल्ट्राको आयात रोकिएको छ। यी प्रिमियम सेटहरुको मूल्य न्यूनतम ९० हजार रुपैयाँदेखि २ लाख ३० हजार रुपैयाँसम्म पर्ने सामसङले जनाएको छ। 

त्यसैगरी, सरकारी प्रतिबन्धको असर चिनियाँ स्मार्टफोन ब्राण्ड हुवावेका फ्लागशीप फोनमा बढी परिरहेको छ। हुवावेका सातवटा मोडलहरु ७४ हजार रुपैयाँ माथिका छन्। हुवावेका पी ३०, पी २० प्रो, पी ३० प्रो, मेट २० प्रो, मेट ३० प्रो, पी ४० प्रो र मेटप्याड प्रो १०.८ (२०२१) को आयातमा प्रतिबन्ध लागेको छ। 

यी सेटहरुको मूल्य ८५ हजार रुपैयाँदेखि १ लाख ३० हजार रुपैयाँसम्म पर्ने हुवावेले जनाएको छ। यस्तै, वानप्लसका चारवटा स्मार्टफोन मोडलहरुको आयात रोकिएको छ। वानप्लसको एट टी, नाइन, नाइन प्रो र टेन प्रो प्रिमियम स्मार्टफोन हुन्। जसको मूल्य नेपाली बजारमा ७९ हजार रुपैयाँदेखि एक लाख ३५ हजार रुपैयाँसम्म पर्ने वानप्लसले जनाएको छ।

त्यसैगरी, साओमीका पनि तीनवटा प्रिमियम स्मार्टफोन मोडलका चारवटा भेरियन्टको आयात रोकिएको छ। साओमी १२ प्रो, साओमी १२ र साओमी १२ एक्स कम्पनीका प्रिमियममध्येका फोन हुन्, जसको आयातमा बन्देज लागेको छ। यी स्मार्टफोनहरुको मूल्य ७७ हजार रुपैयाँदेखि एक लाख १५ हजार रुपैयाँसम्म पर्ने साओमीले जनाएको छ।

नेपाली बजारमा बिक्री हुने अन्य स्मार्टफोन ब्राण्डहरु पोको, रियलमी, नोकियासहितलाई भने प्रतिबन्धले खासै असर परेको देखिँदैन। यी कम्पनीहरुले बार फोन, इन्ट्री लेभल स्मार्टफोनदेखि मिड रेन्ज स्मार्टफोन बिक्री गर्दै आएका छन्।