BIZMANDU
www.bizmandu.com

११ महिनामा वीरगंजका दुई भन्सारको १ खर्ब ३३ अर्ब संकलन, एउटाले लक्ष्य भेट्दा अर्कोको अपुरो

२०७९ असार १७

११ महिनामा वीरगंजका दुई भन्सारको १ खर्ब ३३ अर्ब संकलन, एउटाले लक्ष्य भेट्दा अर्कोको अपुरो
११ महिनामा वीरगंजका दुई भन्सारको १ खर्ब ३३ अर्ब संकलन, एउटाले लक्ष्य भेट्दा अर्कोको अपुरो


वीरगंज। वीरगंजस्थित दुईवटा भन्सार कार्यालयमध्ये वीरगंज भन्सारले राजस्व लक्ष्य भेटेको छ भने सिर्सिया सुक्खा बन्दरगाह भन्सारले लक्ष्य भेट्टाउन सकेको छैन ।

Tata
Global Ime

वीरगंज भन्सारले चालू आवको साउनदेखि जेठ महिनासम्म ११ महिनाको अवधिमा लक्ष्यभन्दा करीब  ३ अर्ब रुपैयाँ बढी राजस्व संकलन गरेको छ । ११ महिनाको लागि भन्सार विभागबाट एक खर्ब ८५ अर्ब ६१ करोड ९५ लाख १९ हजार राजस्व लक्ष्य पाएकोमा वीरगंज भन्सारले यस अवधिमा १.७० प्रतिशत बढी एक खर्ब ८८ अर्ब ७८ करोड ६४ लाख १० हजार राजस्व उठाएको हो ।

जेठ महिनामा इन्धन आयात बढेसँगै त्यसको सकारात्मक प्रभाव राजस्वमा परेको वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए ।

त्यसैगरी, वीरगंज भन्सारले गत जेठमा १८ अर्ब आठ करोड ३७ लाख ४१ हजार राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले जेठमा पाएको लक्ष्यभन्दा १०.९१ प्रतिशत बढी राजस्व संकलन गरेको जनाएको छ । यस कार्यालयले जेठमा १६ अर्ब ७५ करोड ६८ लाख ८५ हजार राजस्व संकलनको लक्ष्य पाएको थियो ।

वीरगंज भन्सारले यसअघि चालू आवको पछिल्लो पाँच महिना अर्थात् गत पुसदेखि वैशाखसम्म लगातार मासिक राजस्व लक्ष्य भेट्टाउन असफल हुँदै आए तापनि जेठमा इन्धन र सवारीसाधनको आयात बढ्दा ११ महीनाको राजस्व संकलनमा सकारात्मक वृद्धि देखिएको वीरगंज भन्सारका सूचना अधिकारी सुमित गुप्ताले बताए ।
 

सुक्खा बन्दरगाहले भेटेन राजस्व लक्ष्य

नेपाल सरकारले आयातमा कडाइ गरेपछि वीरगंजस्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सारको जेठ मसान्तको लक्ष्य संकलन हुन सकेको छैन । भन्सार विभागले बन्दरगाह भन्सार कार्यालयलाई जेठमा चार अर्ब ५१ करोड ५४ लाख ५८ हजार राजस्व संकलन लक्ष्य दिएकोमा लक्ष्यभन्दा पाँच प्रतिशत कम अर्थात् चार अर्ब २९ करोड ८५ लाख ८७ हजार राजस्व मात्रै संकलन गरेको छ ।

भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष न्यौपानेका अनुसार विदेशी मुद्राको सञ्चिती घट्दै गएपछि सरकारले विलासिताका वस्तु (सवारीसाधन, मदिरा, विद्युतीय सामान) आयातमा रोक लगाउँदा राजस्व  प्रभावित भएको उनले बताए ।

त्यसैगरी, यस भन्सार कार्यालयले गत साउनदेखि जेठसम्म चालू आवको ११ महीनामा विभागले ४७ अर्ब ५२ करोड ४७ लाख ४० हजार राजस्व संकलनको लक्ष्य लिएकोमा लक्ष्यभन्दा तीन प्रतिशत कम अर्थात् ४६ अर्ब १४ करोड ८४ लाख ६४ हजार मात्र राजस्व सङ्कलन गरेको छ । भन्सार अधिकारीका अनुसार बढी राजस्व उठ्ने वस्तुको आयातमा सरकारले रोक लगाएपछि राजस्व संकलन प्रभावित भइरहेका हो ।