काठमाडौं। कोरोनाकालपछि वायु सेवाहरुले खानेकुरा बाँड्ने इनफ्लाइट सर्भिस बन्द गरे। संक्रमणको त्रास घट्यो तर खर्च कटौतीमा ध्यान दिएका कम्पनीहरुको योजना फेरबदल भएन। यस्तोमा निजी क्षेत्रको वायुसेवा कम्पनी यती एयरलाइन्सले भने आफ्ना जहाजमा इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा सुरु गर्ने भएको छ।
आन्तरिकतर्फ नौलो र मनोरञ्जनात्मक अनुभव दिने उद्देश्यले यो सेवा सुरुवातका लागि परीक्षण सुरु गरेको उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन वर्तौलाले बताए।
'अहिले हामीले नाइन एन-एएमएम कलसाइनको जहाज उडानमा परीक्षण सुरु गरेका छौं। सबै जहाजका लागि हामीले अनुमति पाइसकेका छौं। यसमा यात्रुको प्रतिक्रिया अनुसार सुधार गर्दै निकट भविष्यमा सबै जहाजमा समावेश गर्नेछौं,' प्रवक्ता वर्तौलाले भने, 'यो सुविधाले यात्रुले थप नौलो र रोमाञ्चक अनुभव लिन सक्नु हुने आशा लिएका छौं।'
यो सेवा अन्तर्गत यात्रुले कम्पनीबाट उपलब्ध लिंकमा भएको गीत, संगीत, गेमिङ, चलचित्र लगायत सामाग्री इच्छाअनुसार प्रयोग गर्न सक्ने उनले जानकारी दिए। सबै उमेरवर्ग लक्षित मनोरञ्जनात्मक सामाग्री समावेश गरिएको उनले जानकारी दिए।
यही नेटवर्किङका आधारमा यात्रुले जहाजबाटै राइड सेयरीङ एप, होटल बुक गर्न सक्ने व्यवस्था लागू गर्ने योजना रहेको उनले बताए।
आउँदो एक सातामै कम्पनीले आफ्ना बाँकी चार जहाजमा पनि यो सुविधा जडान गर्ने उनले जानकारी दिए। यतीले पाँचवटा एटीआर जहाजमार्फत मुलुकका विभिन्न सुगम गन्तव्यमा नियमित उडान गर्दै आएको छ।