काठमाडौं। स्टार्टअप वर्ल्ड कपको नेपाल क्षेत्रीय प्रतियोगिताको फाइनल बुधबार काठमाडौंको अलफ्ट होटलमा हुँदै छ। संसारका ७० देशमा हुने प्रतिस्पर्धा नेपालमा भने स्टार्टअप हब तथा वर्ल्ड ट्रेड ग्रुप नेपालले संयुक्त रुपमा आयोजना गरेका हुन्।
स्टार्टअप हब नेपालका अनुसार स्टार्टअप वर्ल्डकपको नेपालमा छनोट भएका उत्कृष्ट १५ स्टार्टअपहरु बीच प्रतिस्पर्धा भइरहेको छ। १५ कम्पनीहरूमध्ये उत्कृष्ट एउटाले अमेरिकाको सिलिकन भ्यालीमा हुने स्टार्टअप वर्ल्ड कपको ग्रान्ड फिनालेमा सहभागी हुने अवसर पाउनेछ।
प्रत्येक क्षेत्र/देशका शीर्ष स्टार्टअपहरू/विजेताहरूलाई ग्रान्ड फिनाले कार्यक्रमको लागि सिलिकन भ्यालीमा पठाइनेछ, जहाँ उनीहरूले लगानीमा १० लाख अमेरिकी डलर पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन्।
यी स्टार्टअपहरूले शीर्ष सिलिकन भ्याली लगानी फर्महरूका निर्णायकहरूसहित प्रतिष्ठित निर्णायक प्यानलको अगाडि पिच गर्नेछन्। मुख्य कार्यक्रम भने सेप्टेम्बर २०२२मा सन फ्रान्सिस्कोमा आयोजना हुनेछ।
स्टार्टअप वर्ल्ड कप नेपालका उत्कृष्ट १५ मा पर्न सफल स्टार्टअपहरुमा अवधारणात्मक खेल एप डार्क म्याटर्स गेम्स प्रोडक्सन, शिक्षा प्रविधिमा आधारित सफ्टवेयर प्रणाली वेद, अन्तरक्रियात्मक लर्निङ प्लेटफर्म चिम्पभाइन, ट्याटू डिजिटलाइजेसनमा आधारित इन्क्स भिला, मानसिक स्वास्थ्य प्लेटफर्म ह्यापी माइन्ड्स, यातायात इन्नोभेसनमा आधारित ओमनिकल, होम निरीक्षण सेवा प्रदायक स्किल सेवा, पोस्टाम, ट्रेड नेपाल अनलाइन, डिजिटल एज नेपाल, साओनी टेक नेपाल, ग्रीन कोइन्स, मेडिपजल फरेवर यङ, र ह्यापी इट्स रहेका छन्।