BIZMANDU
www.bizmandu.com

निर्माणको एक वर्षपछि पर्यटकीय बसपार्क पोखरा उपत्यका नगरविकास समितिलाई हस्तान्तरण

२०७९ असार २२

निर्माणको एक वर्षपछि पर्यटकीय बसपार्क पोखरा उपत्यका नगरविकास समितिलाई हस्तान्तरण
निर्माणको एक वर्षपछि पर्यटकीय बसपार्क पोखरा उपत्यका नगरविकास समितिलाई हस्तान्तरण


पोखरा। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय बसपार्कको स्वामित्व पोखरा उपत्यका नगरविकास समितिलाई हस्तान्तरण गरेको छ। बसपार्क बनेको एक वर्षपछि पर्यटन विभागले आज एक कार्यक्रमबीच उपत्यका नगरविकास समितिलाई बसपार्क हस्तान्तरण गरेको हो।

Tata
Global Ime

बसपार्कको स्वामित्व हस्तान्तरण गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरावासीलाई बधाई दिए। उनले पर्यटकीय बसपार्क निर्माणले पर्यटकीय क्षेत्रमा उत्साह थप्ने अपेक्षा प्रकट गरे।

मन्त्री श्रेष्ठले पोखरामा थप पर्यटकीय पूर्वाधार बन्ने र त्यसका लागि पोखरा महानगरपालिकासहित समग्र पर्यटनसम्बद्ध संस्थाहरुसँग मन्त्रालयले सहकार्य गर्ने भनाइ राखे।

सो क्रममा पोखरा महानगरका प्रमुख तथा पोखरा उपत्यका नगरविकास समतिका अध्यक्ष धनराज आचार्यले पर्यटकीय बसपार्कको उपयोग गर्ने र सेवा दिने बताए।

१८ रोपनी क्षेत्रफलमा पर्यटकीय बसपार्कमा ४० वटा पर्यटकवाहक बस आवतजावत गर्न सक्नेछन्। १० वटा माइक्रो बस, २० वटा ट्याक्सी पार्किङ गर्ने स्थल र केही कार समेत राख्ने स्थल छ। बसपार्कको दक्षिण पूर्वबाट बस प्रवेश गर्ने र दक्षिण पश्चिमबाट बस बाहिरिने व्यवस्था छ।

बसपार्कको पश्चिम र पूर्वी भागमा दुवै तर्फ एक सय ३० मिटर लामा नाला (ढल) निर्माण भएका छन्। बसपार्कको बिचमा आकर्षक आइल्यान्ड गार्डेन बनेको छ। जहाँ पर्यटक ओर्लिएपछि एकै छिन उत्तरी हिमाल तर्फको सिन लिँदै तस्बिर खिच्न पाउनेछन्।

महानगरका अनुसार डिभाइडरमा समेत फूल रोपेर आकर्षक बनाइने छ। बसपार्कमा व्यवस्थित शौचालय, चमेना गृह लगायतका प्रयोजनका लागि भवन निर्माण भएको छ।

पर्यटन विभागका निर्देशक तारानाथ अधिकारीका अनुसार ८ करोड ४५ लाख ८३ हजार रुपैयाँ लागतमा बसपार्क निर्माण भएको हो।

पोखरा महानगर पालिका वडा नम्बर ७, राष्ट्र बैंक चोक नजिक निर्माण भएको आधुनिक पर्यटकीय बसपार्क निर्माणको सम्झौता २८ फागुन २०७५ मा भएको थियो। निर्माण कम्पनीका अनुसार २ असोज २०७७ भित्र बसपार्क निर्माण सम्पन्न भएर हस्तान्तरण गर्ने सम्झौता थियो। तर, कोरोना संक्रमणका कारण निर्माणमा केही ढिलाइ भएको थियो।