मेटाले प्रयोगकर्ताहरूले आफ्नो भर्चुअल रियलिटी हेडसेटहरूमा लग इन गर्ने तरिकालाई परिमार्जन गर्दैछ। मेटा भर्चुअल रियालिटी (भीआर) उपकरणहरूमा लग इन गर्ने वैकल्पिक तरिकाको प्रस्ताव गरेको छ।
मेटाले भीआर रियालिटी हेडसेटमा लगइन गर्न पहिला फेसबुक लगइन अनिवार्य गरेको थियो, जुन निकै अलोकप्रिय र समस्याग्रस्त पनि थियो। त्यस लगत्तै, यस सोसल मिडिया जाइन्टले गत वर्ष भीआर लग-इनका फेसबुक लग-इन आवश्यकता हटाउने योजनाको घोषणा गरेको थियो।
मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले बिहीबार फेसबुक पोस्टबाट कम्पनीले आफ्नो नयाँ 'मेटा खाताहरू' अगस्टमा सुरु गर्ने जानकारी दिएका छन्। यसका साथै फेसबुकको मूल कम्पनीले मेटा होराइजन नामको छुट्टै सामाजिक प्रोफाइलको साथ नयाँ, प्यारेड-ब्याक खाता प्रणालीको सुरुवात गर्ने भएको छ।
नयाँ लगइन संरचनाको साथ, मेटा खाताहरूले उपकरण-स्तर पहुँचलाई नियन्त्रण र एप खरिदहरू व्यवस्थापन गर्नेछ। त्यस्तै मेटा होराइजन प्रोफाइलहरूले भने प्रयोगकर्ताहरूको नाम र अवतारहरूका साथ भर्चुअल रियालिटीमा उनीहरूको सामाजिक उपस्थिति दर्साउने कम्पनीले एक ब्लग पोस्टमार्फत जानकारी दिएको छ ।
प्रयोगकर्ताहरूसँग एक एकीकृत मेटा खाता केन्द्रमा उनीहरूको प्रोफाइल कनेक्ट गर्ने विकल्प पनि हुनेछ, जसले उनीहरूको फेसबुक, इन्स्टाग्राम वा मेसेन्जरमा भएका सोसियल मिडियाका कनेक्सनलाई भर्चुअल रियालिटी अनुभवहरूमा एकीकृत गर्नेछ।
खाता केन्द्रमा नजोडिएका खाताहरूका लागि भने कम्पनीले प्रयोगकर्ताहरू गणना गर्न र सुरक्षा नियमहरू लागू गर्नका लागि एपहरूमा प्रयोगकर्ता डेटा मात्र संयोजन गर्ने एक प्रवक्ताले बताएका छन्। (रोयटर्सबाट साभार)