काठमाडौं। ४४ अर्ब अमेरिकी डलरको डिल भाँडिएपछि ट्वीटरले धनाढ्य इलन मस्कविरुद्ध विश्वका शीर्ष कर्पोरेट ल फर्म नियुक्त गरेको छ।
ट्वीटरले मस्कसँग कानूनी लडाइका लागि वाचटेल, लिपटन र रोसेन एण्ड काट्ज एलएलपीलाई उतारेको छ।
ट्वीटरका अनुसार खरिद भाँडिएपछि अबको केही साताभित्रै डेलावर अदालतमा सुनुवाई सुरु भएर केही महिनामा टुंगिने छ। यी फर्महरु मर्जरसम्बन्धी मुद्दाका साथै डेलावर अदालत प्रणालीसँग नजिक एवम् अनुभवी मानिन्छन्। टेस्लाका सीइओसमेत रहेका मस्कविरुद्ध ट्वीटरले सम्भवतः १-२ दिन भित्रै मुद्दा हाल्ने छ।
मस्कले भने ट्वीटरविरुद्ध क्विन इम्यानुअल अर्क्युहार्ट एण्ड सुल्लिभ्यान एलएलपी नामक ल फर्म उतार्दै छन्। जुन ल फर्मले मस्कलाई सन् २०१९ मा मानहानि सम्बन्धी मुद्दमा जिताएको थियो।
मस्कले केही हप्तायता ट्वीटरको डेटा र नक्कली एकाउन्टको संख्या तय गर्ने विधिमा गहिरो असहमति पोख्दै आएका छन्। यही कारण मस्क ट्वीटर किन्ने निर्णयबाट पछि हटेका हुन्।
मस्कले ट्वीटरसँगको डिलबाट पन्छिए ब्रेकअप फी वापत एक अर्ब डलर तिर्नुपर्ने हुनसक्छ, जसका लागि नै कानूनी लडाइ सुरु हुँदैछ।