BIZMANDU
www.bizmandu.com

एनटिसीले निजी आईएसपीभन्दा दुई गुणा महँगो हालेर किन्दैछ इन्टरनेट ब्यान्डविथ, चक्कर के हो?


एनटिसीले निजी आईएसपीभन्दा दुई गुणा महँगो हालेर किन्दैछ इन्टरनेट ब्यान्डविथ, चक्कर के हो?
एनटिसीले निजी आईएसपीभन्दा दुई गुणा महँगो हालेर किन्दैछ इन्टरनेट ब्यान्डविथ, चक्कर के हो?


काठमाडौं। निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक (आईएसपी) र टेलिकम कम्पनीहरुले सस्तोमा इन्टरनेट ब्यान्डविथ भित्र्याउँदा सरकारी स्वामित्वको नेपाल टेलिकम (एनटिसी) ले भने दुई गुणाभन्दा बढी मूल्य हालेर ब्यान्डविथ किनिरहेको फेला परेको छ। 

Tata
Global Ime

निजी क्षेत्रका कम्पनीहरुले प्रतिमेगाबिट (एमबी) ३ अमेरिकी डलरमा ब्यान्डविथ भित्र्याइरहँदा नेपाल टेलिकम भने दोब्बर मूल्य यसलाई तिरिरहेको हिसाब छ। ‍

नेपाली बजारमा प्रतिबिट न्यूनतम ३ डलरदेखि ६.५ डलरमा ब्यान्डविथ भित्रिरहेको संचार मन्त्रालयनिकट स्रोतले बिजमाण्डूलाई जानकारी दिएको छ।

स्रोतकाअनुसार इन्टरनेट ग्राहक सबैभन्दा बढी रहेको वल्डलिंकले प्रतिबिट ३ डलरमा ब्यान्डविथ भित्र्याइरहेको छ। यो नै नेपाली बजारमा आयात हुने सबैभन्दा सस्तो मूल्यको ब्यान्डविथ हो। 

एनटिसीले भने प्रतिबिट ६ डलर हाराहारी ब्यान्डविथ आयात गरिरहेको स्रोतले जानकारी दिएको छ। टेलिकमभन्दा १ सेन्ट महँगोमा पछिल्लो समय भित्रिएको चौधरी समूहको सिजी नेटले ब्यान्डविथ भित्र्याइरहेको छ। सिजी नेटले प्रतिबिट ६.५ डलरमा ब्यान्डविथ भित्र्याइरहेको छ। 

टेलिकमको चिरप्रतिद्वन्दी एनसेलले ५.१५ डलरमा नेपालमा ब्यान्डविथ भित्र्याइरहेको स्रोतले जानकारी दिएको छ। 

नेपाल दूरसंचार प्राधिकरणमा नेटवर्क सेवा प्रदायक (एनएसपी) को लाइसेन्स लिएको नेपाल डिजिटल सर्भिसले प्रतिबिट २.८ डलरमा ब्यान्डविथ भित्र्याइरहेको छ। एनएसपीको हकमा यो नै सबैभन्दा सस्तो ब्यान्डविथ हो।

यस्तै, भायनेटले प्रतिबिट ३.४ डलर, सुबिसुले प्रतिबिट ४.५ र ५.४ डलरमा ब्यान्डविथ भित्र्याइरहेको स्रोतले जानकारी दिएको छ। 

नेपाल दूरसंचार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले पनि विभिन्न इन्टरनेट सेवा प्रदायक तथा टेलिकम कम्पनीहरुले फरक फरक मूल्यमा ब्यान्डविथ नेपाल भित्र्याइरहेको जानकारी दिए। नेपालका इन्टरनेट सेवा प्रदायक र टेलिकम कम्पनीहरुले न्यूनतम प्रतिमेगाबिट तीन अमेरिकी डलरदेखि ६/७ डलरसम्म रहेको उनले बताए।

'ब्यान्डविथको रेट फरक फरक छ। बजारमा प्रतिस्पर्धा हुने भएकाले प्राधिकरणले सार्वजनिक गर्न मिल्दैन। यो कन्फिडेन्सियल हुन्छ। पहिला प्रतिएमबी ६ डलर सामान्य थियो अहिले निरन्तर घट्दै गएको हामीले पाएका छौं। प्रतिमेगाबिट साढे ३, ४ डलरमा धेरैले ल्याइरहेका छन्। योभन्दा कम पनि ल्याउनेहरु पनि छन्,' पौडेलले भने। 

केही वर्षदेखि नै टेलिकमले महँगोमा ब्यान्डविथ खरिद गरिरहेको विषयलाई लिएर भित्रका कर्मचारीहरु पनि असन्तुष्ट छन्। उनीहरुले सेवालाई सुलभ बनाउन ब्यान्डविथ खर्च घटाउन व्यवस्थापनदेखि बोर्डसम्म आग्रह गर्दै आएका छन्। 

'निजी क्षेत्रका कम्पनीहरु हेरिकन हामीले खरिद गरिरहेको ब्यान्डविथ महँगो भयो भनेर हामीले बारम्बार भनिरहेका छौं। असारपछि टेलिकमले ब्यान्डविथ किन्न पुन: ठेक्का निकाल्ने तयारी गरिरहेको छ। केही वर्षदेखि यो फेरिएको छैन। अब सस्तोमा ब्यान्डविथ किनेर हामीले संचालन खर्च घटाउँदै उपभोक्तालाई थप सुलभ मूल्यमा इन्टरनेट सेवा दिनुपर्छ भनिरहेका छौं,' टेलिकमका एक कर्मचारीले भने।

टेलिकमका प्रवक्ता शोभन अधिकारीले आफूलाई यस विषयमा कुनै जानकारी नहुने भन्दै प्रतिक्रिया दिन नसक्ने बताए।

नेपालमा भारतीय कम्पनीहरु एयरटेल र टाटाले बिक्री गर्ने ब्यान्डविथको हिस्सा धेरै छ। 

ब्यान्डविथ किन्न कति खर्चिन्छन् सेवा प्रदायक

ब्यान्डविथ किन्न सबैभन्दा धेरै खर्चिनेमा वर्ल्डलिंक छ। वर्ल्डलिंकले ४०० जीबीपीएस (४ लाख मेगाबिट) ब्यान्डविथ ३ डलरमा किन्दा १२ लाख डलर (हालको विनिमय दरअनुसार १५ करोड १९ लाख रुपैयाँ) खर्चिन्छ।

वर्ल्डलिंकभन्दा २४० जीबीपीएस (दुई लाख ४० हजार मेगाबिट) कम ब्यान्डविथ अर्थात् १६० जीबीपीएस (एक लाख ६० हजार मेगाबिट) मात्रै आयात गरिरहेको नेपाल टेलिकमको महँगो दरकै कारण १० लाख २४ हजार डलर (करिब १३ करोड रुपैयाँ) खर्चिरहेको छ। कम ब्यान्डविथ आयात गर्दा पनि चर्को मूल्यकै कारण नेपाल टेलिकमले वर्ल्डलिंकभन्दा दुई गुणाभन्दा बढी मूल्य तिरिरहेको छ। 

भायनेट, सुबिसु, एनसेलले समेत नेपाल टेलिकमको भन्दा कम परिणामको ब्यान्डविथ आयात गर्दा उसको भन्दा सस्तो मूल्यमा भित्र्याइरहेको छ। 

भायनेटले १०० जीबीपीएस (एक लाख मेगाबिट) ब्यान्डविथ ३.४ डलरमा किन्दा तीन लाख ४० डलर (चार करोड ३० लाख रुपैयाँ) खर्चिन्छ।

सुबिसुले पनि १०० जीबीपीएस (एक लाख मेगाबिट) ब्यान्डविथ ४.५ डलरमा किन्दा चार लाख ५० डलर (पाँच करोड ७० लाख रुपैयाँ) र ५.४ डलरमा किन्दा पाँच लाख ४० हजार डलर (६ करोड ८३ लाख रुपैयाँ) खर्चिन्छ।

कम्पनीहरुले खरिद गर्ने ब्यान्डविथको परिमाण भने कति अवधिका लागि वा अवधिको हो भन्ने निश्चित हुँदैन। ग्राहकको माग तथा खपत अनुसार कम्पनीहरुले ब्यान्विथ खरिद गर्ने हुन्। 

कति आयात भइरहेको ब्यान्डविथ?

सरकारी तथ्यांकअनुसार अहिले ठुला टेलिकम कम्पनी, इन्टरनेट सेवा प्रदायक र नेटवर्क सेवा प्रदायक (एनएसपी) ले ११७० गिगाबिट पर सेकेन्ड (जीबीपीएस) हाराहारी ब्यान्डविथ आयात गरिरहेका छन्। जसमध्ये सबैभन्दा ठूलो हिस्सा इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकको छ।

वर्ल्डलिंकले अहिले ४०० जीबीपीएस ब्यान्डविथ आयात गरिरहेको नियामक नेपाल दूरसंचार प्राधिकरणको तथ्यांक छ। वर्ल्डलिंक पछि सरकारी स्वामित्वको नेपाल टेलिकमले १६० जीबीपीएस र निजी क्षेत्रको एनसेलले ११० जीबीपीएस हाराहारी ब्यान्डविथ नेपाल भित्र्याइरहेका छन्।

यस्तै, एनएसपी नेपाल डिजिटल सर्भिसले १५० जीबीपीएस, सुबिसुले १०० जीबीपीएस, भायनेटले १०० जीबीपीएस, टेकमाइन्ड्सले १०० जीबीपीएस र क्लासिक टेकले ५० जीबीपीएस ब्यान्डविथ नेपाली बजारमा ल्याइरहेको तथ्यांक प्राधिकरणको छ। 

२०७६ चैतमा सरकारले लगाएको देशव्यापी लकडाउन अघि कुल ब्यान्डविथ खपत चार सय जिबिपिएस थियो। झण्डै चार महिना लामो लकडाउन पछि नेपालमा इन्टरनेट ब्यान्डविथ खपत २५ प्रतिशतले बढेर पाँच सय जिबिपिएस पुगेको थियो।

२०७८ भदौमा लोकप्रिय बनेको मोबाइल एप टिकटकको प्रयोग अत्यधिक बढ्दा ब्यान्डविथ खपत करिब सात सय जिबिपिएस पुगेको थियो। कोरोना महामारीका कारण धेरै क्रियाकलापहरु भर्चुअल माध्यममा सीमित भएसँगै आइएसपीहरुले भारतबाट आयात गर्ने ब्यान्डविथ संख्या निरन्तर बढ्दै गएर ११ सय जीबीपीएस पार गरिसकेको छ। 

झण्डै पौने ३ अर्ब रुपैयाँ ब्यान्डविथ खरिदमा खर्च

नेपालबाट चालू आवको चैत (नौ महिना) सम्ममा ब्यान्डविथ खरिदको भुक्तानीमा करिब पौने तीन अर्ब रुपैयाँ बाहिरिएको छ। नेपाल दूरसंचार प्राधिकरणले यस अवधिमा ब्यान्डविथ खरिद तथा अन्य शुल्कका लागि दुई अर्ब ६८ करोड रुपैयाँबराबरको विदेशी मुद्रा सटहीको सिफारिस गरेको छ। 

चालु आवको पुसमा प्राधिकरणले ब्यान्डविथ भुक्तानीका लागि ७४ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सटही सिफारिस गरेको छ। साउनमा ५२ करोड ८० लाख, भदौमा ४० करोड ४६ लाख, चैतमा ३१ करोड, असोजमा १७ करोड, मंसिरमा १६ करोड ७६ लाख रुपैयाँबराबरको विदेशी मुद्रा सटहीको सिफारिस गरेको छ।

यस्तै, प्राधिकरणले माघमा करिब १६ करोड, फागुनमा १५ करोड १८ लाख र कात्तिकमा चार करोड ७१ लाख रुपैयाँ  बराबरको विदेशी मुद्रा सटहीको सिफारिस गरेको छ।

नेपाल दूरसंचार प्राधिकरणमा नेटवर्क सेवा प्रदायक (एनएसपी) को लाइसेन्स लिनेको संख्या २१ छ। एनएसपीको अनुमति पाएका कम्पनीहरुले मात्रै ब्यान्डविथ आयात गर्न पाउँछन्। 

मर्कन्टाइल कम्युनिकेसन्स, कम्युनिकेन्सन्स एण्ड कम्युनिकेट, वर्ल्डलिंक, वेबसर्फर नेपाल, सुबिसु केबलनेट, सीता बीभी, ब्रोडलिंक नेटवर्क, क्लासिक टेक, टेकमाइन्ड्स, नेपाल डिजिटल सर्भिस, एनसेल, भायनेट, नेपाल इन्फ्र एण्ड कम्युनिकेसनले एनएसपीको लाइसेन्स पाएका छन्। 

यस्तै, पर्सा टेलिकम्युनिकेसन, बाराही इन्टरनेट, फर्स्टलिंक कम्युनिकेसन्स, डिस मिडिया नेटवर्क, सीजी कम्युनिकेसन्स, फाइबर वर्ल्ड कम्युनिकेसन, स्पेस लिंक र आइटेल नेटवर्कले पनि एनएसपीको अनुमति लिएका छन्।