BIZMANDU
www.bizmandu.com

भारतले थाल्यो भारुमै अन्तरदेशीय व्यापार, दबावमा नेपाली अर्थतन्त्र, रेमिटेन्स प्रभावित हुने


भारतले थाल्यो भारुमै अन्तरदेशीय व्यापार, दबावमा नेपाली अर्थतन्त्र, रेमिटेन्स प्रभावित हुने
भारतले थाल्यो भारुमै अन्तरदेशीय व्यापार, दबावमा नेपाली अर्थतन्त्र, रेमिटेन्स प्रभावित हुने


काठमाडौं। भारतीय केन्द्रिय बैंक रिजर्ब बैंक अफ इन्डिया (आरबीआई) ले अन्तरदेशीय (क्रसबोडर) व्यापार भारतीय रुपैयाँ (भारु) मा गर्ने व्यवस्थाले नेपाली अर्थतन्त्र पनि तरङ्गित हुने भएको छ।

Tata
Global Ime

यसले नेपालको वाह्य क्षेत्रलाई थप दबाबमा पार्नेदेखि रेमिटेन्स आप्रवाहमा समेत नकारात्मक प्रभाव पार्न सक्छ। साथै, यो निर्णयले अमेरिकी डलरको प्रभुत्वलाई कमजोर पनि बनाउनेछ। यसअघि रुस र चीनले आफ्नै मुद्रामा व्यापार थालिसकेका छन्।

आरबीआइले सोमबार राति एक निर्देशन जारी गर्दै सबै प्रकारका आयात र निर्यातको बिजक भारुमा हुने व्यवस्था गरेको छ। यसरी हुने व्यापारको विनिमय दर अहिले दुई देशबीच जसरी कायम भएको छ, त्यसैगरी कायम हुनेछ।

भारतसँग कुनै देशले अन्तरराष्ट्रिय व्यापार कारोबार गर्नु परेमा त्यहाँ निर्यात मुलुक वा त्यहाँको निर्यातक कम्पनीले 'भोस्ट्रो' खाता खोल्नुपर्ने हुन्छ। उदाहरणका लागि, रुसले भारतलाई तेल बिक्री गरिरहेको छ। त्यसको भुक्तानी लिनका लागि रुसले भारतमा भोस्ट्रो खाता खोलेको छ। भारतले तेल किनेको पैसा त्यही खातामा राखिदिन्छ। पछि रुसले भारतसँग कुनै सामान किन्नु परेमा त्यही खातामा भएको पैसा प्रयोग गरेर भुक्तानी फिर्ता गर्छ।

दुई देशबीचको व्यापारमा हुने यस्तो बैंक कारोबारमा भौतिक नगद भुक्तानी नभएर बैंक ट्रान्सफरबाटै सबै लेनदेन हुने हो। यसैले अहिले भारतले अन्तरराष्ट्रिय व्यापारमा प्रयोगमा ल्याउने भएको भारुमा भुक्तानी पनि यसरी बैंक ट्रान्सफरमार्फत नै हुन्छ।

भारतले आफ्नो सीमा जोडिएका नौवटा मुलुकसँग भारुमा कारोबार गर्ने व्यवस्था गरेको हो। यद्यपि, निर्देशनमा मुलुकको  नाम तोकिएको छैन, अन्तर्देशीय व्यापार भारुमा हुने भनेको छ। अन्तरदेशीयलाई सामान्यत: 'एक देशबाट अर्को देशमा हुने' भनेर बुझिन्छ। भारतसँग नेपालसहित अफगानिस्तान, बंगलादेश, भुटान, चीन, माल्दिभ्स, म्यान्मार, पाकिस्तान र श्रीलंका पर्छन्।

भारतीय सञ्चारमाध्यमले भने अन्तर्देशीयलाई बृहत्त अर्थमा व्याख्या गरेका छन्। उनीहरुले 'कारोबार हुने सबै मुलुक' भन्ने हिसाबले व्याख्या गरेका छन्। व्यापारको हकमा अन्तरदेशीयले आफ्नो देशबाहिर कुनै पनि मुलुकसँग हुने अन्तरराष्ट्रिय व्यापारलाई जनाउँछ।

विदेशी विनिमय क्षेत्रका एक विज्ञले भने आरबीआइको निर्देशन नेपाललक्षित नभएको बताए। निर्देशनमा स्वीकृति लिएर कारोबार गर्नुपर्ने व्यवस्था भएकाले यो नीति सबै मुलुकलाई लागू हुन नसक्ने नेपाल राष्ट्र बैंकका पूर्व कामु गभर्नर कृष्णबहादुर मानन्धर बताउँछन्। उनी यो व्यवस्था रुस र म्यान्मारसँगको अन्तरराष्ट्रिय व्यापारमा मात्र लागू गर्ने गरी आएकाे बताउँछन्। 'नेपालसँगको व्यापारमा त अहिले पनि भारुमा नै ठूलो भुक्तानी भइरहेकै छ नि। त्यसैले यसले नेपाललाई असर गर्दैन। यो ठूलो कुरो होइन,' उनले बिजमाण्डूसँग भने।

नेपालको भारतसँग हुने कुल व्यापारमध्ये ८० प्रतिशत भारुमा नै हुन्छ। बाँकी २० प्रतिशत मात्र डलरमा हुन्छ। त्यसैले व्यापारका हिसाबले भारतले गरेको व्यवस्थाले धेरै ठूलो प्रभाव नेपाललाई पर्दैन तर भारुसँग नेपालको स्थिर विनिमय दर छ। भारुमै कारोबार हुने भएपछि भारुको मागमा हुने बृद्धिले अन्य देशसँगको मुद्रा प्रभावित हुन्छ। त्यसले नेपाललाई बढि नै प्रभावित गर्ने छ।

भारतअघि आफ्नै मुद्रामा व्यापार गर्ने व्यवस्था चीन र रुसले गरेका थिए। युक्रेनसँग युद्ध चर्किएलगत्तै रुसी मुद्रा रुबेल विश्वकै सबैभन्दा कमजोर मुद्रा बन्दै गएको थियो। जब रुससँग हुने व्यापार रुबेलमा हुने व्यवस्था गरियो, रुबेल बलियो बन्दै गएर विश्वकै शक्तिशाली मुद्रामध्येमा पर्न थालेको छ। विश्व आपूर्ति श्रृंखलामा इन्धनदेखि कृषि उपजसम्म रुसको हिस्सा असाध्यै ठूलो भएकाले पनि रुबलमा अन्तरराष्ट्रिय व्यापार भुक्तानीले रुसी मुद्रा बलियो हुन थालेको हो।

भारतले पनि आफ्नो मुद्रामा मात्र कारोबार गर्ने भनेपछि भारुको माग बढ्ने देखिन्छ। यद्यपि सोमबार रातिबाट यो व्यवस्था गरिएपछि अफसोर बजारमा भारु कमजोर भने देखिएको छ। भारतीय सञ्चार माध्यमहरुले अन्तर्राष्ट्रिय व्यापार भारुमा हुँदा भारतलाई आर्थिक रुपमा आत्मनिर्भर बन्न सहयोग पुग्ने छ।

मुद्राको खेल:  यसअघि रुस-युक्रेनले आफ्नो मुद्राबाट व्यापार सुरु गरेका थिए। अब भारतले पनि आफ्नै मुद्रामा व्यापार थाल्ने व्यवस्था गरेको छ।

विश्व बजारमा डलरको शक्ति  कसरी कमजोर बन्दैछ? यस बारेमा आदर्श बजगाईले  ३० चैत २०७८ मा बिजमाण्डूमा लामो लेख लेखेका छन्।  पढ्न यहाँ क्लिक गर्नुस्:

विश्वव्यापी मुद्राको यो विकसित खेलमा अफशोचको कुरा के छ भने, नेपाली रुपैयाँ (नेरु) को जन्मदेखि नै भारतीय रुपैयाँ (भारु) सँग स्थिर विनिमय दर छ। स्वतन्त्र देश नेपालको मौद्रिक नीतिले आफ्नो प्रारम्भिक उद्देश्यका रुपमा रहने मूल्य स्थिरता कायम गर्न नसक्नु पछाडि विनिमय दरमाथिको नियन्त्रणको अभावले गर्दा सबै नीतिगत औजारहरु निष्प्रभावी हुन पुग्नु हो।

अहिलेसम्म आयात-निर्यातका लागि भारतसमेत अधिकांश देशमा व्यापारका लागि डलरमा निर्भरता छ। साथै विनिमय दरको जोखिम पनि कम हुने र सस्तो दरमा आर्थिक डिल गर्न सहयोग पुग्ने सञ्चार माध्यमको विश्लेषण छ।

अहिले विश्व बजारमा डलरमार्फत ८० प्रतिशत भुक्तानी हुने गरेको छ। यही कारण विश्व बजारमा डलरको प्रभुत्व बढी छ। पछिल्ला दिनमा रुस र चीनसँगै भारतले पनि आफ्नै मुद्रामा व्यापार गर्ने भएपछि डलरको प्रभुत्वता घट्दै जाने विश्लेषण गरिएको छ।

‘रुबेल बलियो भएजस्तै अब भारु बलियो हुँदा नेपाली अर्थतन्त्रमा केही दबाब बन्न सक्छ, खासगरी विश्वबजारका अन्य मुद्राका कारण,’ अन्तर्राष्ट्रिय बजारलाई नजिकबाट नियाल्दै आएका बैंकर आदर्श बजगाईंले भने, ‘युरो, डलर, पाउन्ड, क्यानिडियन डलरसँग भारुको अवस्था के हुन्छ? भन्ने कुराले नेपाली मुद्रालाई पनि प्रभावित गर्छ।‘

उनको बुझाइमा भारुमा व्यापार भुक्तानी हुने भएपछि भारुको माग बढ्छ। त्यसो हुँदा स्थिर विनिमय दरका कारण नेपाली रुपैयाँ पनि बलियो बन्छ। ‘डलरमा रेमिटेन्स आउँछ। डलरको भाउ घटेमा रेमिटेन्स आय पनि घट्ने हुनसक्छ’ उनको विश्लेषण छ।

उनले भारुमै कारोबार गर्नुपर्ने व्यवस्था ऐतिहासिक भएको र यसमा नेपालले बलियो विश्लेषण गर्नुपर्ने बताए। उनका अनुसार, डलर र भारुको विनिमय दर कस्तो हुन्छ? नेपालको आयात महँगो या सस्तो हुन्छ? यस्ता विषयमा विश्लेषण हुनुपर्छ।

नेपाल राष्ट्र बैंकले आफ्नो कोष व्यवस्थापन विभिन्न मुद्रामा गरेको छ। अब त्यसमा पनि असर पर्न सक्छ। नेपाली बैंकहरुले भारुमा अहिले निक्कै कम निक्षेप राख्ने गरेका छन्। राष्ट्र बैंकले भारुमा व्याज आउने गरी निक्षेप राख्न रोकेको छ। त्यसैले, उनीहरुले थोरै भारु राखेर बाँकी सबै राष्ट्र बैंकमा साट्दै आएका छन्। पहिलेदेखि नै भारु कम भएकाले नयाँ निर्णयले डलर बेचेर थप भारु किन्नु पर्ने वाध्यता सिर्जना गर्नेछ।

आरबीआइको निर्देशनपछि नेपाललाई पनि भारतबाहेकका वैदेशिक व्यापारमा हुने विनिमय जोखिम कम हुनेछ। भारतपछि सबैभन्दा बढी व्यापार हुने चिनसँग पनि नेपालले धेरैजसो डलरमै कारोबार गर्छ।

नेपाल र भारतीय मुद्राको स्थिर विनिमय दर (एक सय भारु बराबर एक सय ६० नेपाली रुपैयाँ) छ। भारु बलियो बन्दा नेपाली रुपैयाँ पनि बलियो बन्छ। यस्तोमा भारतबाहेकका मुलुकबाट गरिने आयात सस्तो हुन्छ। तर, रुबेलमा भएजस्तो चमत्कार भारुमा भएन र भारु थप कमजोर भयो भने त्यसको नोक्शानी नेपालले पनि सहनुपर्ने हुन्छ।