काठमाडौं। पोखरामा कोभिडका कारण बन्द भएको हट एयर बेलुन तीन वर्षपछि पुनः सञ्चालनमा आउने भएको छ। यसका लागि सञ्चालकले तयारी गरिरहेका छन्।
यतिखेर नागरिक उड्डयन प्राधिकरणको निरीक्षणको चरणमा रहेको साहसिक खेल सेवा आउँदो दसैंबाट पुनः चलाउने योजना रहेको सञ्चालक विक्रम वादेले बताए।
सेवा बन्द गरेदेखि बेलुन र आवश्यक सामान कम्पनीले थन्क्याइएको थियो। कम्पनीले २० लाख रुपैयाँको लागतमा मर्मत सम्भार सुरु गरिसकेको उनले जानकारी दिए। 'अहिले इन्स्पेक्सनको काम भइरहेको छ। अगस्ट महिना भरीमा सबै कामहरु सक्नेछौं। सेप्टेम्बरबाट सेवा सुरु गर्नेछौं,' संचालक वादेले भने,'आन्तरिक र बाह्य पर्यटकको चहलपहल सुरु भएसँगै हामीले आफ्नो सेवा पुनः सुरु गर्न लागेका हौं।'
हाल दुईवटा हट एयर बेलुन रहेको कम्पनीले सूर्योदय र सूर्यास्तका बेला उडान सेवा दिँदै आएको थियो। उनका अनुसार यो उडानमा विदेशीका लागि करिब १३ हजार र आन्तरिक पर्यटकका लागि आठ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
उडानमा आन्तरिकको तुलनामा भारतीय र चिनियाँ पर्यटकको सहभागिता राम्रो हुँदै आएको थियो। हट एयर बलुन फेवातालको माथिल्लो किनार पामेबाट उडान सुरु गरिने उनले जानकारी दिए। 'फेवा किनारबाट तीनदेखि चार हजार मिटर उचाइ लिँदै गर्दा सुन्दर पोखरा उपत्यका र आसपास छर्लङ्गै देखिन्छ। बलुनले सराङ्कोट डाँडा नाघेपछि अन्नपूर्ण हिमशृंखलाको अदभूत दृश्य हेर्न पाइन्छ।' उनले भने,' बर्खाका तीन महिना असार, साउन र भदौ बाहेक हरेक महिना मौसम अनुकूल भएको दिन उडान गर्दै आइएको छ।'
दुईवटा बेलुनमा क्रमशः ५४० केजी र २४० किलो वजन क्षमता छ। एक पटकमा अधिकतम १० जनाले उडान सेवा लिन सक्ने उनले जानकारी दिए।
यो सेवामा प्रति व्यक्ति २० हजार डलर बराबरको इन्स्योरेन्स समेत रहेको कम्पनीले जनाएको छ। बेलुन उडान अवधि ३० देखि ४० मिनेट रहनेछ। २१ मिटर अग्लो बेलुनको तल्लो भागमा ३२ वर्ग फिटको बास्केट जडान गरिएको छ।
कम्पनीले सन् २०१८ नोभेम्बरबाट हट एयर बेलुन उडान सेवा सुरु गरेको हो। तर कोभिड-१९ संक्रमणका कारण पर्यटकको आवगमन नै बन्द भएपछि कम्पनीले आफ्नो सेवा बन्द गरेको थियो।