BIZMANDU
www.bizmandu.com

‘एम अधिकारी र गभर्नर महाप्रसाद अधिकारी’ फरक भएको एमाले प्रष्टीकरण, दुवैले लेखेको पत्र हेर्नुस्

२०७९ असार ३०

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्नो पार्टीको अर्थ तथा योजना विभागमा ‘नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको’ प्रष्टीकरण दिएको छ।

Tata
Global Ime

गभर्नर अधिकारीले असार २९ अर्थात बुधबार एमाले केन्द्रीय कार्यालयलाई पत्र लेख्दै ‘पार्टीले गठन गरेको समितिमा परेको नामबाट भ्रम सृजना गरेको भन्दै त्यस विषयमा स्पष्ट पारी मलाईसमेत जानकारी उपलब्ध गराई दिन’ भनेपछि एमालेले प्रष्टीकरण दिएको हो।

एमालेले बुधबार नै गभर्नरको पत्रको उत्तर दिएको हो। पत्रमा भनिएको छ- पार्टीको विधान बमोजिम केन्द्रीय विभाग गठन गर्दा अर्थ तथा योजना विभागमा उल्लेखित एम. अधिकारी, खोटाङ नाम सदस्यको रुपमा उल्लेखित भएकोमा सामाजिक सञ्जाल, सञ्चारमाध्यम समेतमा उक्त व्यक्ति नेपाल राष्ट्र बैंकको गभर्नर हो भनी भ्रम सिर्जना हुन गएकोमा हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ।

‘हाम्रो कमिटी र विभागहरुमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरू रहने वैधानिक व्यवस्था छैन। तसर्थ, उक्त विभागमा उल्लेखित एम. अधिकारी खोटाङ भनी उल्लेखित व्यक्ति तपाईं राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको व्यहोरा स्पष्ट गर्दछु,’ एमालेका कार्यालय सचिव डा. भीष्म अधिकारीले लेखेको पत्रमा उल्लेख छ।

एमालेले दिएको प्रष्टीकरण

त्यसअघि गभर्नर अधिकारीले एमाले कार्यालय सचिवलाई पत्र लेखेका थिए। उनले ‘पार्टीको अर्थसम्बन्धी विभाग गठन भएको र सो विभागमा एम अधिकारी (खोटाङ) सदस्य रहेको भनी सोसियल मेडिया तथा अन्य सञ्चार माध्यमबाट जानकारी भयो। उक्त नामसँग म नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीलाई जोडेर म नै सो व्यक्ति रहेको भान हुने गरी समाजमा भ्रम सृजना भएको देखिन्छ।‘

गभर्नरले लेखेको पत्र

उनले पत्रमा लेखेका छन्- म सम्पूर्ण राजनैतिक दल र नेतृत्वको सम्मान गर्दछु। साथै, त्यस दललगायत कुनै पनि राजनैतिक दलको सदस्य नरहेको व्यहोरा समेत अनुरोध गर्दछु। यसरी राजनैतिक पार्टीमा आवद्ध नरहेको तथा गभर्नर जस्तो जिम्मेवार पदमा रहेको व्यक्ति कुनै पार्टी विशेषको कुनै समितिमा रहने, बस्ने भन्ने कल्पना बाहिरको विषय हुँदाहुँदै यस प्रकारको भ्रम उक्त समिति गठनले सृजना गरेको हुँदा सो विषयमा स्पष्ट पारी मलाई समेत जानकारी उपलब्ध गराई दिनु हुन अनुरोध गर्दछु।