काठमाडौं। आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा धेरै कर तिर्ने १ नम्बरमा सूर्य नेपाल प्रालि परेको छ। कम्पनीले सूर्य चुरोट उत्पादन तथा वितरण गर्छ। कम्पनी १० अर्ब ७२ करोड कर दाखिला गर्दै १ नम्बर कम्पनी बन्न सफल भएको हो।
यो रकममा मूल्य अभिवृद्धि कर (भ्याट) र आयकरलगायत शीर्षकका कर समावेश छन्। अर्थ मन्त्रालय स्रोत अनुसार, गएराति १२ बजेसम्म (असार मसान्तसम्म) दाखिला भएको कर विवरण अनुसार १ नम्बरको ताज सूर्यले यो पटक पनि जोगाएको हो।
अघिल्लो वर्ष पनि यो कम्पनीले ९ अर्ब ३४ करोड कर दाखिला गर्दै पहिलो नम्बरमा परेको थियो। यो पटक पहिलेभन्दा १ अर्ब ३८ करोड धेरै कर दाखिला गरेको हो। सूर्य नेपालले चुरोट, सलाई, अगरबत्ति र कन्फेसनरी बिक्री गर्दै आएको छ। कम्पनीको सिमरा र तनहुँमा चुरोटको दुई वटा उद्योग छ।
कम्पनीले विभिन्न ब्राण्डमा वार्षिक ३ अर्ब खिल्ली चुरोट उत्पादन र बिक्री वितरण गर्दै आएको छ। कम्पनीमा आइटीसी इन्डियाको ५९ प्रतिशत, नेपाली लगानीकर्ताको ३९ प्रतिशत र ब्रिटिस अमेरिकन टोब्याको (इन्भेष्टमेन्ट) लिमिटेड युकेको दुई प्रतिशत सेयर छ। सन् १९८६ मा स्थापना भएको यो कम्पनी धेरै कर तिर्ने सूचीको टपटेन भित्र सधैं पर्दै आएको छ।
| कम्पनी | बुझाएको कर रकम |
| सूर्य नेपाल प्राली | १० अर्ब ७२ करोड |
| नेपाल दूरसंचार कम्पनी लिमिटेड | ९ अर्ब ८२ करोड |
| एनसेल आजियाटा लिमिटेड | ७ अर्ब ७९ करोड |
| गोर्खा ब्रुअरी प्रालि | ५ अर्ब ६९ करोड |
| विद्युत प्राधिकरण | ३ अर्ब ९५ करोड |
| एनआइसी एसिया बैंक लिमिटेड | ३ अर्ब ४१ करोड |
| नबिल बैंक लिमिटेड | ३ अर्ब ३२ करोड |
| ग्लोबल आइएमई बैंक लिमिटेड | ३ अर्ब १७ करोड |
| सिद्धार्थ बैंक लिमिटेड | २ अर्ब ७७ करोड |
| राष्ट्रिय वाणिज्य बैंक लिमिटेड | २ अर्ब ६५ करोड |
यसैगरी धेरै कर तिर्ने दोस्रो नम्बरमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटीसी) रहेको छ। यो कम्पनीले ९ अर्ब ७२ करोड कर दाखिला गर्दै धेरै कर तिर्नेमा दोस्रो नम्बरमा परेको हो। अघिल्लो वर्ष यो कम्पनीले ९ अर्ब कर दाखिला गरेको थियो। यो वर्ष अघिल्लो वर्षको तुलनामा ८२ करोड धेरै कर तिरेको हो।
निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेल आजियाटा लिमिटेडले गत वर्ष ७ अर्ब ५९ करोड राजस्व तिर्दै तेस्रो स्थानमा कायम गरेको छ। अर्थ मन्त्रालयका अनुसार, कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा ४१ करोड कम राजस्व तिरेको हो। पछिल्लो समयमा सामाजिक संजाल (ओटिटी) को बढ्दो प्रयोगले कम्पनीको भ्वाइसको व्यापार लगातार घट्दा नाफामै प्रभाव परेको छ।
यसैगरी धेरै कर तिर्ने चौथो नम्बरमा गोर्खा ब्रुअरी रहेको छ। नेपालमा सबैभन्दा धेरै बियर बिक्री गर्ने कम्पनीमा पर्छ। यो कम्पनीको गोर्खा, काल्सबर्ग, स्यानमिगल, सोमर्बी र टुबोर्ग बियर उत्पादन र बिक्री गर्दै आएको छ।
कम्पनीले गत वर्ष ५ अर्ब ६९ करोड कर तिरेको छ। यसमा भ्याट र अग्रिम आयकर समावेश छ। अघिल्लो वर्ष यो कम्पनीले ४ अर्ब २४ करोड राजस्व तिर्दै चौथो नम्बरमा नै रहेको थियो।
विद्युत प्राधिकरणले गत वर्ष ३ अर्ब ९५ करोड कर दाखिला गर्दै पाँचौं स्थानमा परेको छ। सरकारी कम्पनी र निजी क्षेत्रको कम्पनीबाट उत्पादित विद्युत खरिद बिक्री गर्दै आएको प्राधिकरणले नाफा गरेको र अन्य शीर्षक गरी सो बराबर कर दाखिला गरेको हो। सरकारी संस्थान विद्युत प्राधिकरणले अघिल्लो वर्ष २ अर्ब ९० करोड राजस्व तिरेर आठौं नम्बरमा परेको थियो।
निजी क्षेत्रबाट संचालित एनआइसी एसिया बैंक धेरै कर तिर्नेमा छैटौं नम्बरमा परेको छ। यो बैंक तथा वित्तिय क्षेत्रमध्येबाट सबैभन्दा धेरै कर तिर्ने बैंक बनेको छ। यो बैंकले ३ अर्ब ४१ करोड कर दाखिला गर्दै धेरै कर तिर्नेमा सूचिकृत भएको हो।
प्रत्येक वर्ष आन्तरिक राजस्व विभागले क्षेत्रगत धेरै कर दाखिला गर्ने कम्पनीलाई सम्मान गर्दै आएको छ। एनआइसी एसिया बैंकले कर दिवसमा सम्मानित हुने अवसर प्राप्त गर्नेछ। अघिल्लो वर्ष ३ अर्ब ६१ करोड कर दाखिला गर्दै पाँचौं नम्बरमा परेको थियो। तर यसपटक भने कर रकम भने घटेको छ।
यसैगरी नबिल बैंकले ३ अर्ब ३२ करोड कर दाखिला गर्दै धेरै कर तिर्नेको सातौं नम्बरमा परेको छ। अघिल्लो वर्ष यो बैंकले ३ अर्ब ९७ करोड कर तिर्दैं बैंकिङ क्षेत्रभध्ये धेरै कर तिर्नेको १ नम्बरमा परेको थियो।
यस्तै आठौं स्थानमा ग्लोबल आइएमई बैंक परेको छ। यो बैंकले गत वर्ष ३ अर्ब २१ करोड राजस्व तिरेको छ। सिद्धार्थ बैंक पनि धेरै कर तिर्नेको नवौं नम्बरमा परेको छ। दशौं नम्बरमा भने राष्ट्रिय वाणिज्य बैंक लिमिटेड रहेको छ।