काठमाडौं। नेपाल दूरसंचार प्राधिकरणले नौवटा जिल्लाहरुमा ब्रोडब्याण्ड इन्टरनेट संचालनमा ल्याएको छ। प्राधिकरणले चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, गुल्मी, पाल्पा, अर्घाखाँची र प्यूठानमा ब्रोडब्याण्ड सेवा संचालनमा ल्याएको जनाएको छ।
प्राधिकरणले उक्त सेवा दुई वर्षसम्म नि:शुल्क न्युनतम स्पिड (कम्तिमा १ एमबीपीएस ब्यान्डविथ) मा उपलब्ध गराइरहेको छ।
ग्रामीण दूरसंचार विकास कोष (आरटीडीएफ) परिचालन गरी यी जिल्लाहरुका सबै पालिका, वडा कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, केन्द्र, अस्पतालमा इन्टरनेट जडान गरी संचालन गर्दै आएको छ।
प्राधिकरणले चितवन, नवलपुर, नवलपरासी, रुपन्देही र कपिलवस्तुमा सुबिसु केबलनेट र गुल्मी, पाल्पा, अर्घाखाँची र प्यूठानमा टेकमाइण्ड्सले परियोजना संचालन गरिरहेका छन्।
यी जिल्लाहरुमा उल्लेखित संस्थाहरुमा इन्टरनेट जडान छुटेको वा जडान नभएमा १५ दिन भित्र प्राधिकरणलाई जानकारी गराउन आग्रह गरेको छ। साथै, सर्वसाधारणले व्यक्तिगत इन्टरनेट जडान गरी सेवा लिनुपरेमा प्राधिकरणबाट स्वीकृत दरमा इन्टरनेट जोड्न पनि प्राधिकरणले सूचित गरेको छ।