काठमाडौं। भारतीय पुँजीबजारको अध्ययन भ्रमणबाट फर्किएको नेपाल धितोपत्र बोर्ड(सेबोन)को टोलीले छिमेकको नेपालका लागि उपयोगी हुने जनाएको छ।
भारतीय पुँजी बजारको नियामक निकाय सेक्युरिटीज एण्ड एक्सचेञ्ज बोर्ड अफ इण्डिया (सेबी) को निमन्त्रणामा सेबोन अध्यक्ष रमेशकुमार हमाल नेतृत्वमा टोली भ्रमणमा गएको थियो।
गत असार २७ देखि टोलीले चारदिने भ्रमण गरेको हो। बोर्डका पदाधिकारीहरुले सेबी, बम्बई स्टक एक्सचेञ्ज(बीएसइ), नेशनल इन्स्टिच्युट अफ सेक्युरिटी मार्केटस(एनआइएसएम) र मल्टी कमोडिटी एक्सचेज अफ इण्डिया(एमसीएक्स) का उच्च पदाधिकारीसँग भेटघाट तथा विविध विषयमा छलफल गरेको बताएका छन्।
भ्रमणका क्रममा सेबी अध्यक्ष माधवी पुरी बुच र बोर्ड अध्यक्ष हमालबीच द्धिपक्षीय सहयोग आदानप्रदान सम्बन्धमा छलफल भएको थियो।
नेपालको पुँजी बजार विकासका लागि भारतीय अभ्यासहरुको मुख्यतः संस्थागत क्षमता अभिवृद्धि, बजार नियमन तथा सुपरिवेक्षणमा स्वचालित अनलाइन सुपरिवेक्षण प्रणाली, नियामकीय सूचना प्रविधि व्यवस्था र वित्तीय साक्षरता अभिवृद्धिका लागि गरिनुपर्ने कार्य सम्बन्धमा आपसी सहयोग आदानप्रदान सम्बन्धमा छलफल भएको सेबोनले जनाएको छ।
टोलीले बीएसइका प्रमुख कार्यकारी अधिकृत आशिषकुमार चौहानसहित उच्च पदाधिकारीहरुसँग भेटघाट गरी उक्त एक्सचेञ्जले प्रयोग गरिरहेको कारोबार प्रणाली, सुपरिवेक्षणका लागि गरेको व्यवस्था र साइबर जोखिम कम गर्नका लागि गरेको व्यवस्था सम्बन्धमा जानकारी लिएको थियो।
भ्रमणले खेल्नु पर्ने भूमिका र बजारको अनुगमन तथा सुपरिवेक्षण कसरी गर्नु पर्छ भन्ने विशेष जानकारी प्राप्त भएको सेबोनका सहायक प्रवक्ता तेजप्रसाद देवकोटाले बताए।