(1).jpg)
काठमाडौं। नयाँ नेतृत्वसँगै एग्रेसिभ व्यवसाय बिस्तारले ‘हाइलाइट’मा आएको वाणिज्य बैंक हो एनआइसी एसिया। आर्थिक वर्ष २०७४/७५ देखि बैंकको व्यवसायले भिन्नै उचाइ लिन थालेको थियो। सो पछि बर्सेनि १६ प्रतिशतको वृद्धि बैंकको व्यवसाय विस्तारमा देखिन्छ।
गत आर्थिक वर्षको अन्त्यसम्म ‘टप टायर’ वाणिज्य बैंकको सूचीभित्र समावेश छ बैंक। नाफासँगै विविध वित्तीय सूचकांकको उच्च श्रेणी अन्तर्गत एनआइसी एसिया बैंक समावेश भएको पाइन्छ। वित्तीय सूचक मात्र नभएर सेयर बजारमा पनि वाणिज्य बैंक मध्येकै मूल्यवान मानिन्छ एनआइसी एसियाको सेयर।
पुँजीबजारमा दोस्रो सबैभन्दा महँगो वाणिज्य बैंकको सेयर एनआइसी एसिया बैंकको हो। ७१३ रुपैयाँमा साताको अन्तिम कारोबार भएको सेयर मूल्यले साताभर २.४४ प्रतिशतको वृद्धि लिन सफल रह्यो। यो साता मात्र मूल्य करिब १७ रुपैयाँ बढेको छ। यस्तै, साताको लोकप्रिय स्टक पनि एनआइसी एसिया नै हो।
शिवम् सिमेन्ट र हिमालयन डिष्टिलरीपछि सर्वाधिक कारोबार भएको सेयर एनआइसी एसिया बैंकको हो। बैंकको ३४ करोड रुपैयाँभन्दा धेरैको सेयर किनबेच भयो। पछिल्लो दुई सातामा बैंकको झन्डै ८८ करोड रुपैयाँको कारोबार भएको छ। जुन दुई साता यता कै दोस्रो ठूलो कारोबार भएको स्क्रिप हो।
आर्थिक वर्षको अन्त्यसँगै सुरु भएको वित्तीय विवरण प्रकाशन हुने सिजनले लगानीकर्ताको ध्यान एनआइसी एसियाको सेयरमा छ। यस दौरान बैंकको सेयर मूल्यमा करिब ७ प्रतिशतको वृद्धि देखिन्छ।
बिहीबार सार्वजनिक भएको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणमा पनि बैंकको प्रदर्शनी उत्साहजनक थियो। बैंकले खुद साढे ४ अर्ब खुद नाफा कमाएको छ भने वितरणयोग्य मुनाफा सवा दुई अर्ब रुपैयाँभन्दा धेरै। जस अनुसार बैंकसँग गत आर्थिक वर्षका लागि झन्डै २० प्रतिशत लाभांश दिने क्षमता छ।
यद्यपि बैंकको सेयर मूल्यमा भने नकारात्मक प्रतिक्रिया देखियो। निरन्तर बढेको सेयर मूल्य प्रगति विवरण प्रकाशन भएलगत्तै घट्न थालेको छ। विवरण प्रकाशन भएको दिन पनि सेयर मूल्य ६ रुपैयाँ उचालिएको थियो। तर सो लगत्तैको कारोबारमा भने सेयरले ९ रुपैयाँ गुमाएको छ।
मुख्यतया, प्रमुख परिसूचक नेप्से र उपसूचक वाणिज्य बैंक दुवैमा शुक्रबार सृजना भएको दबाबका करण पनि सेयर मूल्यले नकारात्मक प्रतिक्रिया देखेको थियो। वाणिज्य बैंकहरुको प्रतिनिधि उपसमूह शुक्रबार १.१० प्रतिशत ओर्लिदा नेप्से परिसूचक स्वयं १.३३ प्रतिशत खस्न पुग्यो। विशेषगरी मौद्रिक नीतिको सार्वजनिक हुनुअघिको प्रभाव बजारले उदृत गरेको थियो।
बैंकले राष्ट्र बैंकको निर्देशन बमोजिम पुँजी पर्याप्तता अनुपात पनि ११ प्रतिशत भन्दा बढी कायम गरिसकेको अवस्था छ। प्राथमिक पुँजी कोषको अनुपात पनि ८ प्रतिशत भन्दा बढी देखिन्छ।
पछिल्लो तथ्यांक अनुसार बैंकको कुल पुँजी पर्याप्तता अनुपात १३.५१ प्रतिशत छ। र प्राथमिक पुँजी कोषको अनुपात (कन्जरभेसन बफरसहित) ८.९३ प्रतिशत छ। यस कारण पनि बैंकलाई अघिल्लो आर्थिक वर्षको जस्तै लाभांश वितरणमा अनुपालनको कुनै कठिनाइ छैन। लगानीकर्ता यस कारण पनि बढेको नाफा र वितरणगोग्य मुनाफामा उत्साहित छन्।
आम लगानीकर्ता मात्र नभएर संस्थापक आफै पनि पछिल्ला दुई आर्थिक वर्षको लाभांश नपाएर तिर्खाएका छन्। एनआइसी एसिया नियन्त्रण गर्ने चासो नेपालका दुई परिवारको स्वामित्वमा रहेका व्यवसायिक घरानाहरूका प्रवर्द्धकहरूले राखेका छन्- विशाल र सांघाई समूह।
बैंकको प्रमुख सेयरधारक अशोककुमार अग्रवाल हुन्। उनीसँग कुल सेयर स्वामित्वको ६.४ प्रतिशत होल्डिङ छ। यस्तै, त्रिलोकचन्द अग्रवालको ५ प्रतिशत स्वामित्व बैंकमा छ। रामचन्द्र संघाईको ४, सुभाषचन्द्र सांघाईको ४ प्रतिशत र बाँकी अग्रवाल र सांघाई परिवारका सदस्यहरूबाट धेरैजसो हिस्सेदारी छ। यस कारण पनि बैंक नेपालको सबैभन्दा ठूलो निजी क्षेत्रको वाणिज्य बैंकमध्ये पर्छ।
सन् १९९८ मा नेपाल इन्डस्ट्रियल एण्ड कमर्सियल बैंक (एनआईसी) को रूपमा स्थापना भएको एनआईसी एसिया बैंकले मर्जरपछि हालको नाम पाएको हो। जुन २०१३ मा एनआईसी बैंक अर्को ‘क’ वर्गको बैंक अफ एसिया लिमिटेडसँग गभिएपछि एकीकृत स्वरुप हो एनआइसी एसिया। दुई ‘क’ वर्गका बैंकबीचको भएको यो पहिलो मर्जर थियो नेपालको बैंकिङ क्षेत्रमा।
खुद नाफा ३९ प्रतिशत वृद्धि
एनआइसी एसिया बैंकको नाफा करिब ३९ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षमा बैंकले ४ अर्ब ५२ करोड रुपैयाँ नाफा गरेको छ। अघिल्लो वर्ष ३ अर्ब ५८ करोड रुपैयाँ खुद नाफा गरेको थियो।
बैंकको वितरणयोग्य मुनाफा पनि १७ प्रतिशत वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको असरमा १ अर्ब ९२ करोड रुपैयाँ रहेको बैंकको वितरणयोग्य मुनाफा हाल २ अर्ब २४ करोड रुपैयाँ छ। बैंकको वितरणयोग्य मुनाफा ३२ करोड ४७ लाख रुपैयाँले बढेको हो।
जसको आधारमा गत आर्थिक वर्षका लागि १९.४३ प्रतिशत लाभांश दिने क्षमता बैंकसँग छ। मुख्यतया कर्जा जोखिम व्यवस्थापन बापतको रकम घटेपछि बैंकको खुद नाफा ३९ प्रतिशत बढेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको कर्जा जोखिम व्यवस्थापन बापतको रकम २९ प्रतिशत घटेको हो।
साढे ३५ करोड रुपैयाँभन्दा धेरैले बैंकको यस्तो रकम खुम्चिएको छ। गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले ८७ करोड रुपैयाँ कर्जा जोखिम व्यवस्थापनको शीर्षकमा छुट्याएको छ।
निक्षेप संकलन कर्जा बिस्तारमा बैंक कमजोर भएपछि कर्जा जोखिम व्यवस्थापन बापतको रकम घटेको हो। गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले ग्राहकहरूसँग कुल २ खर्ब ८९ अर्ब ९० करोड रुपैयाँ बराबरको निक्षेप संकलन गरेर कुल २ खर्ब ५२ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा निक्षेप संकलन एक प्रतिशत घटेको हो भने मात्र डेढ प्रतिशतको वृद्धि कर्जा विस्तारमा देखिन्छ।
चौथो त्रैमासको अन्त्यसम्म बैंकको कर्जा निक्षेप अनुपात ८८.२६ प्रतिशत छ। समीक्षा अवधिमा बैंकको आम्दानीमा पनि सन्तोषजनक वृद्धि छ। कर्जा बिस्तारबापत सञ्चित भएको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा २७.५८ प्रतिशत बढेको हो। यसै अवधिमा बैंकको खुद फी तथा कमिसनको आम्दानी २४.३७ प्रतिशत बढेको छ। आम्दानी बढ्दा नाफामा टेवा पुगेको हो।
आम्दानीसँगै खर्चका आकार पनि बढेका छन्। कर्मचारी र सञ्चालन खर्च दुबै बढेका छन्। कर्मचारीको खर्च ३५.८४ प्रतिशत बढ्दा सञ्चालन खर्चको आकार २९.११ प्रतिशत बढेको हो। यसका बाबजुद बैंकको सञ्चलन मुनाफा पनि साढे ३३ प्रतिशतको वृद्धि देखिएको छ।
खुद नाफा उत्साहजनक तरिकाले बढ्दा प्रति सेयर आम्दानीमा करिब ११ रुपैयाँको वृद्धि देखिन्छ। गत आर्थिक वर्षको अन्त्यसम्म बैंकको प्रति सेयर आम्दानी ३९.१३ रुपैयाँ छ। विशेगरी गत आर्थिक वर्षका लागि लाभांश वितरण नहुँदा चुक्ता पुँजी अघिल्लो आर्थिक वर्षको जस्तै यथावत् छ। चुक्ता पुँजीको अनुपातमा खुद नाफा उल्लेख्य रूपमा बढ्दा प्रति सेयर आम्दानीमा सकारात्मक वृद्धि देखिएको हो।
यस अवधिमा बैंकको प्रति सेयर नेटवर्थ पनि ३८.५२ रुपैयाँले बढ्दा २१७.५२ रुपैयाँ कायम हुन् पुगेको हो। र धितोपत्र बजारको अन्तिम कारोबार मूल्य प्रति कित्ता ७१६ रुपैयाँका आधारमा बैंकको मूल्य आम्दानी अनुपात १८.३० गुणा छ।