नेटफ्लिक्सले गत हप्ता सावर्जनिक गरेको आय रिपोर्ट अनुसार दोस्रो त्रैमासमा लगभग १० लाख सब्स्क्राइबर (ग्राहक) हरू गुमाएको छ। यो कम्पनीको इतिहासमा नै सबैभन्दा ठूलो ग्राहक क्षयीकरण भए पनि नेटफ्लिक्सले अप्रिलमा निकालेको निराशाजनक पहिलो त्रैमासिक प्रतिवेदनले गरेको २० लाखभन्दा धेरै ग्राहक गुमाउने पूर्वानुमानभन्दा निकै कम हो। यसकारण नेटफ्लिक्सले यसलाई ठूलो संकट टरेको रुपमा लिएको छ।
यस ओटीटी स्ट्रिमिङ जायन्टले पहिलो त्रैमासिकमा दुई लाख ग्राहकहरू गुमाउँदा र दोस्रोमा त्योभन्दा निकै गुणा बढी सब्स्क्राइबरहरू गुमाउने सम्भावना देखिएको थियो। त्यससँगै हलिउड र वालस्ट्रिटका लगानीकर्ताहरुमध्ये धेरैमा स्ट्रिमिङ व्यवसायमा अनन्त वृद्धिको सुनौलो दिनहरूको अन्त्य भएको सन्देश गएको थियो।
तर दोस्रो त्रैमासिक रिपोर्टले भने केही आशा देखाएको छ। नेटफ्लिक्सको आय ९ प्रतिशतले बढेर ७.९ अर्ब अमेरिकी डलर पुगेको छ। डलरको मूल्यले विश्वभरका मुद्राहरूको मूल्यलाई तल नधकेलिएको भए नेटफ्लिक्सको आम्दानी अझै बढ्ने थियो। समग्रमा, नेटफ्लिक्स सह-प्रमुख कार्यकारी रीड हेस्टिङ्सले यसलाई ‘कम खराब नतिजा’को रुपमा वर्णन गरेका छ। उनी भन्छन् ‘एक मिलियन सब्सक्राइबर गुमाएर पनि यसलाई सफलता मान्न निकै गाह्रो छ।’
यति हुँदा पनि हेस्टिङ्स स्ट्रिमिङको भविष्य प्रति निकै आशावादी तथा उत्साहित छन्। अहिले विश्वव्यापी रूपमा २२०.७ मिलियन सब्सक्राइबरहरू भएको नेटफ्लिक्सले गत क्वाटरमा गुमाएको १० लाख सब्स्क्राइबरहरूलाई आगामी क्वाटरमा फिर्ता थप्न सक्ने आफ्नो लगानीकर्ताहरूलाई आश्वासन दिएको छ।
नेटफ्लिक्सले सेयरधनीहरूलाई लेखेको पत्र अनुसार नेटफ्लिक्सले अबको दिनमा ग्राहकहरूलाई स्ट्रिमिङ सामग्री उपलब्ध गराउनमा आफ्नो ध्यान केन्द्रित गर्नेछ साथै नेटफ्लिक्सको अन्य प्रतिस्पर्धीहरू जस्तै अन्य सम्भावित आम्दानी स्ट्रिमहरूको बारेमा चिन्ता गर्ने छैन।
‘यस स्वतन्त्रताको अर्थ हामी विस्तारित वा विशेष थिएटरल विन्डोज (चलचित्र पहिलो पटक थिएटरहरूमा रिलिज हुँदा र वाल-मार्ट, अमेजन, डीबीडी, नेटफ्लिक्स जस्ता प्लेटफर्महरूमा बिक्रीमा जाने बीचको समयको अन्तर)को आवश्यकता बिना नै नेटफ्लिक्समा ठूला चलचित्रहरू स्ट्रिम गर्न सक्छौं, र प्रत्येक हप्ता नयाँ एपिसोड आउने प्रतीक्षा नगरी सब्सक्राइबरहरूले एकै पटक सबै हेर्न सक्ने छन्,’ कम्पनी भन्छ, ‘सब्सक्राइबरहरूको लागि छनोट र नियन्त्रणमा हुने यो फोकसले हाम्रो रणनीतिका सबै पक्षहरूलाई प्रभाव पार्छ, जसले गर्दा हामीलाई महत्त्वपूर्ण दीर्घकालीन व्यापार लाभ सृजना हुने विश्वास छ।’
नेटफ्लिक्सले विगत तीन महिना व्यवसायलाई समायोजन गर्दै वर्षको बाँकी अवधिमा सामना गर्नुपर्ने चुनौतीहरूलाई अझ राम्रोसँग सामना गर्न खर्च गरेको छ। यस अन्तरालमा कम्पनीले करिब ४ सय ५० कर्मचारीलाई निकालेको छ।
अप्रिलमा, यस कम्पनीले यसको सेवा तथा कन्टेन्टहरूमा कहिल्यै विज्ञापनहरू समावेश नगर्ने अडानलाई उल्टाउँदै विज्ञापनहरू समावेश गरी एक कम महँगो सब्सक्रिप्सन टियर ल्याउने घोषणा गरेको थियो। यो सब्सक्रिप्सन टियर नेटफ्लिक्सले सन् २०२३ को प्रारम्भमा नै ‘विज्ञापन खर्च उल्लेखनीय भएको केही बजारहरूमा’ संचालन गर्ने भएको छ।
फोरेस्टरका उपाध्यक्ष माइक प्रोलक्स भन्छन्, ‘अतिरिक्त सब्सक्रिप्सनहरू बाहेक, विज्ञापनहरूले यस प्लेटफर्मको सम्बन्धित दर्शकहरूमा पुग्न उत्सुक ब्रान्डहरूबाट नयाँ राजस्व स्ट्रिमको रूपमा नेटफ्लिक्सलाई एक सकारात्मक वृद्धि पनि प्रदान गर्दछ। तर नेटफ्लिक्सको विज्ञापन व्यवसाय विस्तार गर्न भने केहि समय लाग्नेछ।’
उक्त स्ट्रिमिङ जाइन्ट अनुसार नेटफ्लिक्सले भुक्तान नगरी यसको सेवा प्रयोग गरिरहेका १० करोड प्रयोगकर्ताहरूलाई प्रभावकारी रूपमा मुद्रीकरण गर्न पासवर्ड सेयरिङमा थप कडाइ गर्नेछ। जसका लागि यसले कुन तरिका बढी प्रभावकारी हुन्छ भनेर जान्नको लागि ल्याटिन अमेरिकामा दुईवटा दृष्टिकोणहरू प्रस्तुत गरेको छ।
एउटाले प्रयोगकर्ताहरूलाई ‘अतिरिक्त सदस्य थप्न’ दिन्छ भने अर्कोले प्रयोगकर्ताहरूलाई थप ३ अमेरिकी डलर प्रति महिनामा ‘एड अ होम’ गर्न दिन्छ।
लाइटशेड भेन्चर्सका प्रबन्ध निर्देशक रिचर्ड ग्रीनफिल्डका अनुसार यो घाटा त्यति नराम्रो पनि थिएन, तर त्यो भन्दा पनि तेस्रो क्वाटरमा बृद्धिको ( मामूली वृद्धि नै भए पनि) अपेक्षा गर्नु मानिसहरूलाई धेरै उत्साहजनक छ। कम्पनीले २०२३मा पर्याप्त फ्रि-क्यास-फ्लो वृद्धि गर्ने अपेक्षालाई लिएर गरेको पूर्व घोषणा नै त्रैमासिकको सबैभन्दा महत्त्वपूर्ण समाचार हुने उनी थप्छन्।
ग्रीनफिल्ड बुझाउँछन्, ‘उनीहरू मूलतया के भनिरहेका छन् भने यस क्षेत्रमा रहेका अरू सबैले अरबौं डलर गुमाइरहँदा, उनीहरू केवल २०२२ मा मात्रै पैसा कमाइ रहेका छैनन् तर आउने वर्ष २०२३ मा पनि अझै धेरै पैसा कमाउने छन्।’
यसको व्यापारिक मुद्दाहरूको अतिरिक्त, नेटफ्लिक्सले केबल नेटवर्क र यसको स्ट्रिमिङ अफशूट, एचबिओ म्याक्स भन्दा बढी प्रोग्रामिङको सुविधा दिए तापनि यसको प्राथमिक प्रतिद्वन्द्वी एचबिओ भन्दा यस महिना कम एमी मनोनयनहरू प्राप्त गर्यो। एचबिओले १४० मनोनयनहरू पाउँदा नेटफ्लिक्सले जम्मा १०५ पाएको थियो।
नेटफ्लिक्सको सेयर अप्रिलदेखि ४६ प्रतिशत र वर्षको सुरुदेखि करिब ७० प्रतिशतले तल झरेको थियो।
दोस्रो त्रैमासिकमा, नेटफ्लिक्सले संयुक्त राज्य अमेरिका र क्यानडामा १३ लाख सब्स्क्राइबरहरू गुमाएको थियो भने २०२१ को सोही अवधिमा ४००,००० सब्स्क्राइबरहरू गुमाएको थियो। साथै नेटफ्लिक्सको आम्दानीमा १० प्रतिशतको वृद्धि भएको छ भने यस त्रैमासिक अवधिमा ग्राहक रिटेन्सनमा सुधार भएको छ।
आम्दानीको कुरा गर्दा एसिया-प्यासिफिक क्षेत्रमा ११ लाख प्रयोगकर्ताहरू थप्दै नेटफ्लिक्सको आम्दानी २३ प्रतिशतले बढेको छ। त्यस्तै ल्याटिन अमेरिकामा, प्रयोगकर्ताहरू समान नै रहेपनि आम्दानी भने एक वर्ष अघिको तुलनामा १९ प्रतिशतले बढेको छ।
यो सकारात्मक वृद्धिमा विशेष गरी 'स्ट्रेन्जर थिंग्स' को सिजन ४ को बलियो प्रदर्शनको महत्त्वपूर्ण भूमिका रहेको नेटफ्लिक्स जनाउँछ। यस कम्पनी अनुसार स्ट्रेन्जर थिंग्स १.३ बिलियन घण्टा हेरिएको छ, जुन कुनै अंग्रेजी भाषाको शोको लागि सबैभन्दा धेरै हो। सोही शोमा समावेश गरिएको केट बुशको 'रनिङ अप द हिल' र मेटालिकाको 'मास्टर अफ पपेट्स' गीतहरूले पनि दर्शक तानेको उनीहरूको बुझाइ छ।
नेटफ्लिक्सले अहिले सिरिजहरू भन्दा पनि फिल्ममा राम्रो प्रगति गरिरहेको छ। यसको उदाहरण: १८६ मिलियन घण्टा हेरिएको ‘हस्सल’ एडम स्यान्डलर बास्केटबल चलचित्रले गत क्वार्टरमा सबैभन्दा धेरै प्रयोगकर्ताको ध्यान तानेको थियो। त्यस्तै ‘सिनियर एयर’ १६१ मिलियन घण्टाको लागि प्रयोगकर्ताहरूले हेरेको थिए।
यसैलाई अगाडि बढाउन कम्पनीले एनिमेसनमा थप लगानी गरिरहेको छ। भर्खरै मात्र नेटफ्लिक्सले अस्ट्रेलियाको एनिमेसन स्टुडियो एनिमल लजिक अधिग्रहण गरेको छ।
‘मलाई लाग्छ यस कठिन आर्थिक समयमा, उपभोक्ताहरूले नेटफ्लिक्सको ठूलो मूल्य छ भन्ने देख्नु पर्ने निकै महत्त्वपूर्ण छ,’ नेटफ्लिक्सका अर्का सह-प्रमुख कार्यकारी टेड सारान्डोस बताउँछन्।
तेस्रो त्रैमासिकको लागि उत्साहित पूर्वानुमानको बावजुद, केही विश्लेषकहरू नेटफ्लिक्सले वर्षको बाँकी अवधिमा आउने सिरिजहरू र चलचित्रहरू आफ्ना प्रतिस्पर्धीहरूले ल्याउने सिरिज र फिल्महरूको तुलनामा नराम्रो प्रदर्शन गर्नेछ भनेर चिन्तित छन्।
‘मेरो लागि, ठूला मुद्दा भनेको सामग्रीको गुणस्तर हो,’ बेन्चमार्कका विश्लेषक म्याथ्यू ह्यारिगन भन्छन्। एचबीओले ‘गेम अफ थ्रोन्स’ प्रिक्वेल, ‘हाउस अफ ड्रयागन’ अगस्टमा रिलिज गर्दैछ। त्यस्तै अमेजनले सेप्टेम्बरमा ‘लर्ड अफ द रिङ्स: द रिङ्ग्स अफ पावर’ रिलिज गर्दैछ भने नेटफ्लिक्समा 'द क्राउन' सम्भवतः यस कम्पनीहरको सबैभन्दा उच्च प्रोफाइल क्यु-४ शो हो।