काठमाडौं। नेपाली बजारमा सस्तो चिनियाँ फोनको दबदबा कायमै देखिएको छ। फिचर फोनदेखि स्मार्टफोनसम्म उत्पादन गर्ने चिनियाँ कम्पनीका सस्ता सेटले नेपाली मोबाइल फोन बजारमा शक्तिशाली ब्राण्डलाई पछाडि पार्दै आएका छन्।
यो क्रम आर्थिक वर्ष २०७८/७९ मा पनि देखिएको हो। गत आवमा १३ वटा विभिन्न मोबाइल ब्राण्डहरुका कुल ४५ लाख २२ हजार ८ सय ८० सेटले नेपाल दूरसंचार प्राधिकरणबाट टाइप अप्रुभल लिएका छन्। जसमध्ये यी फोनहरुको कुल ८९ लाख ३६ हजार ८८ आइएमइआई दर्ता भएको देखिन्छ।
प्राधिकरणको तथ्यांकअनुसार चिनियाँ स्मार्टफोन कम्पनी आइटेल सबैभन्दा बढी बिक्री हुने ब्राण्ड बनेको छ।
प्राधिकरणले गत आव २०७८/७९ को तथ्यांक उपलब्ध गराउँदै शीर्ष १२ ब्राण्ड समावेश गरेको छ। नेपालमा वैध रूपमा भित्रिएका र आवश्यक कागजात पेस गरेर प्राधिकरणमा इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई) दर्ता गरेका मोबाइल ब्राण्डहरुको सूचीमा आइटेल सबैभन्दा अघि देखिएको हो।
गत आवको शीर्ष १३ मोबाइल ब्राण्डहरुमा आइटेलपछि क्रमश: एमआई (साओमी), लाभा, कलर्स, सामसङ, नोकिया, रियलमी, भिभो, किवी, ट्याम्बो, ओप्पो, वानप्लस र एप्पल छन्।
टाइप एप्रुभल ग्रे मार्केट (अवैध रूपमा) बाट भित्रिएका फोनहरुको हुँदैन। आइएमइआई नम्बर त जसले पनि दर्ता गराउन सक्छन् तर, टाइप एप्रुभल भने आयातकर्ताहरुले दूरसञ्चार प्राधिकरणबाट गराउनुपर्छ।
आइटेल चिनियाँ ब्राण्डको मोबाइल हो। चीनको सेन्जेनमा रहेको मोबाइल ब्राण्ड उत्पादक ट्रान्सन होल्डिङ आइटेलको माउ कम्पनी हो। महालक्ष्मी मोबाइल प्रालि आइटेल फोनको नेपालको आधिकारिक वितरक हो।
गत आवमा आइटेलको ११ लाख ३३ हजार १५० थान फोनको टाइप एप्रुभल प्राधिकरणबाट लिइएको छ। आइटेल ब्राण्डका फोनहरुको २२ लाख ६६ हजार ३०० वटा आईएमईआई उक्त अवधिमा प्राधिकरणमा दर्ता भएको छ। आइटेलका फिचर फोनदेखि इन्ट्री लेभलका स्मार्टफोन नेपाल बजारमा उपलब्ध छ।
त्यसैगरी, हुवावेको दबदबा खस्किएपछि नेपाली बजारमा कब्जा जमाएको अर्को चिनियाँ ब्राण्ड एमआई प्राधिकरणबाट गत वर्ष टाइप अप्रुभल लिने दोस्रो मोबाइल ब्राण्ड हो। गत आवमा एमआईका ८ लाख ११ हजार ७१ थान फोनले प्राधिकरणबाट टाइप एप्रुभल लिएका छन्। एमआईका १६ लाख २२ हजार १४२ फोनहरुको आईएमईआई नम्बर प्राधिकरणमा दर्ता भएको छ। एमआईले नेपाली बजारमा एमआई, रेडमी र पोको गरी तीनवटा ब्राण्डमा स्मार्टफोन बिक्री गर्दै आएको छ।
तेस्रोमा भने भारतको बहुराष्ट्रिय इलेक्ट्रोनिक्स कम्पनी लाभा छ। गत आवमा लाभाका ५ लाख १६ हजार ८०७ थान फोनले टाइप एप्रुभल लिएका छन्। १० लाख ३३ हजार ६१४ आइएमइआई प्राधिकरणमा दर्ता भएको देखिन्छ। लाभाले फिचर फोन र स्मार्टफोन दुवै उत्पादन गर्दै आएको छ। अम्बे ग्रुपअन्तर्गतको अम्बे मोबाइल्स् प्रालि नेपालका लागि लाभा फोनको आधिकारिक वितरक हो।
चौथोमा नेपाली होमग्रोन ब्राण्ड कलर्स छ। कलर्सका ४ लाख ९४ हजार १८० थान मोबाइलले नेपालमा टाइप अप्रुभल लिएको प्राधिकरणले जनाएको छ।
साथै, ९ लाख ८८ हजार ३६० वटा आइएमइआई प्राधिकरणमा दर्ता भएको तथ्यांक छ। पाँचौंमा दक्षिण कोरियाली स्मार्टफोन जायन्ट सामसङ छ। गत आवमा सामसङका ४ लाख २८ हजार ५७४ थान फोनले प्राधिकरणबाट टाइप एप्रुभल लिएका छन्। सामसङका ८ लाख ४३ हजार २३६ फोनहरुको आईएमईआई नम्बर प्राधिकरणमा दर्ता भएको छ।
छैटौं स्थानमा पुरानो मोबाइल ब्राण्ड छ। त्यो हो नोकिया। गत आवमा नोकियाका ३ लाख १७ हजार ३९६ थान फोनले प्राधिकरणबाट टाइप एप्रुभल लिएका छन्। नोकियाका ५ लाख ४३ हजार ३५२ फोनहरुको आईएमइआई नम्बर प्राधिकरणमा दर्ता भएको देखिन्छ।
शंकर समूहको जगदम्बा मोबाइल्स प्रालि आधिकारिक वितरक रहेको भारतीय ब्राण्ड रियलमी सातौं स्थानमा छ। रियलमीका २ लाख ७६ हजार ८३३ थान मोबाइलले नेपालमा टाइप अप्रुभल लिएको प्राधिकरणले जनाएको छ। ५ लाख ५३ हजार ६६६ वटा आइएमइआई प्राधिकरणमा दर्ता भएको छ।
आठौं स्थानमा पनि चिनियाँ ब्राण्ड नै छ। त्यो हो भिभो। गत आवमा भिभोका एक लाख ८३ हजार ७०८ थान फोनले प्राधिकरणबाट टाइप एप्रुभल लिएका छन्। भिभोका ३ लाख ६७ हजार ४१४ फोनहरुको आईएमईआई नम्बर प्राधिकरणमा दर्ता भएको छ। नवौं स्थामा किवी छ। किवीका एक लाख ६३ हजार २६१ थान फोनले प्राधिकरणबाट टाइप एप्रुभल लिएका छन् भने तीन लाख २६ हजार ५२२ फोनहरुको आईएमईआई दर्ता गरेका छन्।
१०औं स्थानमा रहेको ट्याम्बोले नेपालमा फिचर फोन मात्रै बिक्री गर्दै आएको छ। शंखराचार्य मोबाइल प्रालि नेपालमा ट्याम्बो फोनको आधिकारिक वितरक हो। ट्याम्बोका ७८ हजार ४८० थान फोनले गत आवमा प्राधिकरणबाट टाइप एप्रुभल लिएका छन्। ट्याम्बोका एक लाख ५६ हजार ९६० फोनहरुको आईएमईआई नम्बर प्राधिकरणमा दर्ता गराएको छ।
अर्को चिनियाँ स्मार्टफोन ब्राण्ड ओप्पो ११औं स्थानमा छ। ओप्पोका ७२ हजार ४९३ थान फोनले प्राधिकरणबाट टाइप एप्रुभल लिएका छन् भने १ लाख ४४ हजार ९८६ फोनहरुको आईएमईआई दर्ता गरिएको छ। ओप्पोको फोन नेपालमा आधिकारिक वितरक टेलिसेल प्रालि हो।
त्यसैगरी, १२औं स्थानमा पनि चिनियाँ स्मार्टफोन ब्राण्ड छ। त्यो हो वानप्लस। गत आवमा वानप्लसका ३३ हजार ५५६ सेटले प्राधिकरणबाट टाइप अप्रुभल लिएका छन्। आईएमईआई दर्ता भने वानप्लसको ६५ हजार ६१२ रहेको प्राधिकरणले जनाएको छ।
१३औं स्थानमा भने अमेरिकी टेक जाइन्ट एप्पल छ। गत आवमा एप्पलका १३ हजार ३७१ थान फोनले टाइप एप्रुभल लिएका छन्। आईएमईआई दर्ता भने एप्पलको २३ हजार ९२४ रहेको प्राधिकरणले जनाएको छ। आइहब प्रालि वानप्लसको नेपालका लागि आधिकारिक वितरक हो भने ओलिज स्टोर नेपालको लागि एप्पलको आधिकारिक स्टोर हो।