विराटनगर। मोरङका उद्योगीले आफूहरूले गरेको आन्दोलन अर्थमन्त्रीको राजीनामा माग्न नभएको बताएका छन्। उद्योगीहरूले मोरङ व्यापार संघमा मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुसँग आन्दोलनको माग राजीनामा थिएन भन्ने स्पष्टीकरण दिएका हुन्।
संघका अध्यक्ष नवीन रिजालले चालु आर्थिक वर्षको बजेट निर्माण गर्दा नीतिगत भ्रष्टाचार गरेर जीआई वायर, स्यानिटरी प्याड र घिउतेल उद्योगलाई धराशायी बनाउने काम गरिएको आरोप लगाए।
अध्यक्ष रिजालले भने, ‘राज्यले बजेट निर्माण गर्दा करोडौं जनतालाई राहत दिन बिर्सिएर एक-दुई घरानालाई पोस्ने काम गरेको छ। यसलाई तुरुन्त सच्याइनु पर्छ।’ संघका पूर्व अध्यक्ष पवनकुमार शारडाले उद्योगमन्त्री उद्योगीका अभिभावक भएको धारणा प्रकट गर्दै आन्दोलनमा सहभागी हुन आग्रह गरे।
शारडाको भनाइ थियो, ‘मन्त्रीज्यू आउनुभयो, हामीले फूलका मालाले स्वागत गर्यौं। तर हामीलाई खुशी मनाऔं कि दुःख भएको छ। मन्त्रीज्यू आउनु भयो, यसमा खुशी हौंला तर जीआई वायरका उद्योग बन्द गर्नु परेकामा दुःख छ।’
विशाल ग्रुपका अध्यक्ष एवं कमला आइरनका सञ्चालक जगदीशप्रसाद अग्रवालले बजेटले जीआई वायरका उद्योगीलाई सुसाइड गर्ने अवस्थामा पुर्याएको गुनासो गरे। ‘बजेटले निर्धारण गरेको राजस्व संरचनाका कारण मोरङ-सुनसरीका ५ जीआई वायर उद्योग अहिले बारुदका थुप्रामा छन्,’ उद्योगी अग्रवालले मन्त्रीलाई सोधे, ‘अब केहीदिनमै पड्केर खरानीमा परिणत हुँदैछन्। मन्त्रीज्यू, हजुर नै भनिदिनूस् हामी उद्योग सञ्चालकहरू कोसीमा हाम्फालेर मरौं कि कसरी आत्महत्या गरौं?’
उनले थपे, ‘के गर्ने मन्त्रीज्यू, हामी टाउको फुटाएर मर्न पनि सकिरहेका छैनौं। उद्योग चलाउन पनि सकेका छैनौं। बैंकवाला बिहान-बिहान घरमै आइपुग्छन्।’ उनले आफू विगत ४२ वर्षदेखि जीआई वायर लगायतका फलामे उत्पादनमा होमिएको र अहिले बुढेसकालमा अरू पेसा गर्न सक्ने अवस्थामा नपुगेको स्पष्ट पार्दे विगतका ४ दशकमा सरकारले यस्तो दुःख नदिएको स्मरण गरे।
उद्योगी अग्रवालले मोरङ-सुनसरीका ५ जीआई वायर उद्योगले प्रतिदिन २०-२० लाखका दरले १ करोडको घाटा ब्यहोरिरहेको र ४५ दिनयता ४५ करोडको घाटा भइसकेको तथ्यांक प्रस्तुत गरे। उनले सरकारले उद्योगीहरूलाई समिति गठन गरिएको छ, काम हुँदैछ भनेर झुलाउने काम मात्र गरेको आरोप लगाए।
हुलास वायरका सञ्चालक युक्ति गोल्छाले मोरङ-सुनसरीका ५ जीआई वायरका १५ सयभन्दा बढी श्रमिकहरू बेरोजगार भइरहेको जानकारी दिइन्। मन्त्री बडुले जीआई वायर, स्यानिटरी प्याड र घिउ उद्योगका समस्याका बारेमा आफूलाई अवगत भएको समाधानमा विलम्ब भएको पनि थाहा भएको बताए।