काठमाडौं। गत पुस १८ गते विमानस्थल प्रहरीले ५० लाख रुपैयाँसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट सौर्य एयरलाइन्समा कार्यरत कर्मचारी पक्राउ गर्यो।
एयरलाइन्समा कार्यरत कर्मचारी रेशा शाक्य पोखरेल पक्राउपछि प्रहरीले स्रोत नखुलेको उक्त रकम राजस्व अनुसन्धान विभागलाई बुझायो।
यो पनि पढ्नुस्: सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलको बयान, 'टिकटबाट उठेको रकम ल्याएको हो'
कर्मचारी पक्राउपछि विभागले सौर्य एयरलाइन्सका बारेमा थप अनुसन्धान अघि बढाउँदा तीन अर्ब रुपैयाँ खातामा आएको देखिएको छ। सौर्यमा दुई वर्षअघि भारतको कुबेर समूहको लगानी भित्रिएको थियो। त्यो समूहले ७५ प्रतिशत सेयर किनेर लगानी भित्र्याएको सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले बिजमाण्डूलाई बताएका थिए।
यो पनि पढ्नुस्: सामान्य कर्मचारी दीपक पोखरेल डेढ दशकमै अर्बपति, सौर्य एयरलाइन्स, हस्पिटलदेखि चियाबगानको मालिक
'सौर्य एयरलाइन्सका कर्मचारी पक्राउपछि हामीले कम्पनीको खाता हेरेका थियौं। त्यो बेलामा कम्पनीको विभिन्न खातामा तीन अर्ब रुपैयाँ आएको देखिन्छ,' विभागका एक अनुसन्धान अधिकृतले भने, 'तर त्यो पैसा वैधानिक माध्यमबाट भित्रिएको देखिएन। त्यो पैसा कसरी भित्रियो वैधानिक स्रोत नै देखिएन। त्यसमा विदेशबाट ल्याउँदा पनि वैधानिक माध्यमबाट आएको देखिदैन।' त्यसपछि विभागले कम्पनीको सबै कारोबारको विवरण पेस गर्न निर्देशन दिएको थियो।
यो पनि पढ्नुस्: सौर्य एयरलाइन्स नाम फेर्ने प्रक्रियामा, नयाँ नाम 'कुबेर एयरलाइन्स,' जहाज पनि थप्ने
'हामीले कारोबारको सबै विवरण पेस गर्न भनेका थियौं। तर बीचमा अध्यक्ष पोखरेल निजी कामका लागि भारत रहनुपर्ने भएकाले सबै विवरण आएन,' ती अधिकारीले भने, 'अहिले पनि अनुसन्धान जारी छ।' उनका अनुसार एयरलाइन्समा भएको लगानी नै शंकास्पद रहेको देखिएको र 'क्लिन मनी' प्रयोग गरेको भए वैधानिक बाटो अवलम्बन हुन्थ्यो।
यो पनि पढ्नुस्: ५० लाख स्रोत नखुलेको पैसा सौर्य एयरलाइन्स अध्यक्ष दीपक पोखरेलको भएको पुष्टि, राजस्वले बोलायो
'यति ठूलो रकम लगानी भित्र्याउँदा वैध माध्यमकै प्रयोग हुनुपर्ने हो। त्यो देखिँदैन,' ती अधिकारीले भने, 'स्रोत नखुलेको ५० लाख रुपैयाँको अनुसन्धान गर्दा समेत कम्पनीका अध्यक्ष पोखरेलले गोलमटोल जवाफ दिनुभएको थियो। त्यसपछि हामीले यसलाई न्यारोडाउन गरेर अनुसन्धान अघि बढाउँदा यस्तो देखिएको थियो।' त्यो बेलामा पोखरेलले ५० लाख रुपैयाँ कम्पनीको रहेको र टिकटबाट उठेको रकम कर्मचारीसँग पठाएको बताएका थिए। त्यसपछि अनुसन्धान अधिकृतले पोखरेललाई अनुसन्धान अधिकृतले टिकटबाट उठेको रकम बैंकिङ च्यानलबाट नपठाएर किन नगद नै किन ल्याइयो? भनेर प्रश्न गरेका थिए। त्यो प्रश्नको उत्तर उनले राम्रोसँग दिन सकेका थिएनन्।
यो पनि पढ्नुस्: पक्राउ परेको ८ ट्रक सुपारी ‘सुपारी किङ’ पोखरेलका सालोको, फिर्ता पठाउन भारतीय अधिकारीको ताकेता
एयरलाइन्स स्थापनादेखि नै विवादित
अग्नि एयर बन्द भएपछि आन्तरिक उड्डयनमा सिर्जना भएको 'भ्याकुम' मा आफ्नो बजार बनाउने सोचले सुरु भएको थियो सौर्य।
तर संचालनमा आएको एक-दुई वर्षमै सुरु भएको संचालकहरु बीचको खटपटले सौर्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) लाई तिर्नुपर्ने बक्यौता मात्र होइन, कर्मचारी-कामदारको तलब तथा पारिश्रमिक, जहाज मर्मत सम्भार तिर्न सकेको थिएन।
टीआइएको बक्यौता ६० दिनभन्दा लामो समय रहेकाले उडानमा पनि रोक लाग्यो।
त्यसैबीच दुई वर्षअघि (२०७५ साउनमा) अचानक सौर्य एयरलाइन्स बिक्री भएको घोषणा भयो। चीनमा व्यवसाय गरिरहेका गैरआवासीय नेपाली घनश्याम अधिकारी लगायतको समूहले कम्पनीको सम्पूर्ण दायित्व सकार्ने गरी ६७ करोड रुपैयाँमा सौर्य बेचेको घोषणा उनै पोखरेलले गरे।
त्यसपछि अधिकारीको समूहले नै सौर्यको सम्पूर्ण व्यवस्थापन र संचालनको जिम्मेवारी लियो र उडानयोग्य अवस्थामा रहेको एउटा जहाजबाट नियमित उडान पनि सुरु भयो। तर अधिकारी समूहले एयरलाइन्स जिम्मा लिएको तीन महिना पनि नपुग्दै फेरि लफडा भयो। उनीहरुले टीआइएलाई तिर्नुपर्ने रकम चार करोड पुग्यो। समयमा बक्यौता तिर्न नसकेपछि सौर्यको उडानमा फेरि रोक लाग्यो।
जानकारहरुका अनुसार, अधिकारी समूहले पोखरेल समूहबाट एयरलाइन्स ६७ करोडमा किन्ने सहमति गरेर संचालन गर्न थालेको भए पनि त्यसबमोजिम रकम दिने र दायित्वहरु सकार्ने काम गरेनन्। बरु सात महिनामा उल्टै ३० करोड रुपैयाँ डुबाइदिए। त्यसपछि पोखरेल समूहले पुनः अधिकारी लगायतलाई हटाएर नयाँ लगानीकर्ता भित्र्याउने कसरत थाले। र, फेला पारे भारतीय व्यवसायी विकास मालु।
भारतका साथै दुबईमा पनि विभिन्न क्षेत्रमा लगानी गरेका मालुको भारतीय कम्पनी कुबेर समूह सौर्य एयरलाइन्सको नयाँ साझेदार बनेर भित्रिन लागेको २०७५ फागुन ८ मा घोषणा भयो। कुबेरले सौर्यको ७५ प्रतिशत सेयर पाउने गरी ६२ करोड रुपैयाँ हालेको जिकिर गरियो।
तर अध्यक्षमा दीपक नै रहे। त्यसपछि कुबेरको लगानी भित्रिएसँगै सौर्य नियमित रुपमा चलेको छ। र, चारवटा एटीआर-७२ जहाज थप्ने योजना अघि बढेको पोखरेलले दाबी गरेका थिए। अहिले पोखरेल एटीआर डिलकै लागि दुबई भएको स्रोत बताउँछ।