काठमाडौं। भारतमा फाइभजी स्पेक्ट्रमको लिलामी प्रक्रिया चौथो दिनमा तन्किएको छ। बिहीबार १६ राउण्डसम्म भएको लिलामी प्रक्रियामा टेलिकम अपरेटरहरुले १४ खर्ब ९६ अर्ब २३ करोड भारुबराबरको बिड गरेका छन्।
अर्बपति मुकेश अम्बानीको रिलायन्स जिओ, सुनिल मित्तलको भारती एयरटेल, बिरला समूहको भोडाफोन आइडिया र अर्का अर्बपति गौतम अडानीको नवप्रवेशी कम्पनी अडानी इन्टरप्राइजेज फाइभजी स्पेक्ट्रम लिलामी प्रक्रियामा आक्रामक रुपमा सहभागी भइरहेका छन्।
फाइभजीले फोरजीभन्दा १० गुणा बढी स्पीडमा कुनै रोकावट विना (ल्याग-फ्रि कनेक्टिभिटी) काम गर्छ।
भारतको दूरसञ्चार मन्त्री अश्विनी बैशनवले तीन दिनमा १६ राउण्डको बिडिङ सकिएको र लिलामी प्रक्रिया शुक्रबार पनि जारी रहने बताए। तीन दिनसम्म १४ खर्ब ९६ अर्ब २३ करोड भारुबराबरको बिड प्राप्त भएको उनले जानकारी दिए। बुधबार नौ राउण्डसम्मको प्रक्रियामा १४ खर्ब ९४ अर्ब ५४ करोड भारु बिड प्राप्त भएको थियो।
स्रोतलाई उदृत गर्दै भारतीय संचारमाध्यमहरुले युपी इस्ट सर्कल १८०० मेगाहर्जमा टेलिकम अपरेटरहरुको बढी जोड दिँदै होडबाजी गरिरहेका छन्। बिहीबार जिओ र एयरटेलले आक्रामक रुपमा उक्त स्पेक्ट्रममा बिडिङ गरेको बताइएको छ।
कुल ७२ गिगाहर्ज ४३ खर्ब भारुबराबरको रेडियोवेभ्स ब्लकमा राखिएको छ। लो ब्यान्ड (६००, ७००, ८००, ९००, १८००, २१००, २३०० र २५०० मेगाहर्ज), मिड ब्यान्ड (३३०० मेगाहर्ज) र हाइ ब्यान्ड (२६ गिगाहर्ज) स्पेक्ट्रमका लागि लिलामी प्रक्रिया संचालन भइरहेको छ।
मंगलबारदेखि भारतमा फाइभजी स्पेक्ट्रमको लिलामी प्रक्रिया अघि बढेको थियो। लिलामी प्रक्रिया कुन दिन टुंगिन्छ भन्ने अझै एकिन भएको छैन।