BIZMANDU
www.bizmandu.com

साढे दुई करोडको बीमा हत्याउन ‘नक्कली श्रीमती’ खडा गरेर फिल्मी शैलीमा हत्या, यसरी खुल्यो अपराध

२०७९ साउन १३

साढे दुई करोडको बीमा हत्याउन ‘नक्कली श्रीमती’ खडा गरेर फिल्मी शैलीमा हत्या, यसरी खुल्यो अपराध
साढे दुई करोडको बीमा हत्याउन ‘नक्कली श्रीमती’ खडा गरेर फिल्मी शैलीमा हत्या, यसरी खुल्यो अपराध


काठमाडौं। २०७८ वैशाख २ को राती बाँके कोहलपुर-११ बस्ने २१ वर्षीय सर्जन विकको सवारी दुर्घटना हुन्छ। टोपबहादुर राना क्षेत्रीले चलाएको भे१ख २४९१ नम्बरको मिनीबसले ठक्कर दिएर सर्जनको मृत्यु हुन्छ।

Tata
Global Ime

२७ वैशाखमा जिल्ला अदालत बाँकेमा सवारी ज्यान मुद्दा दर्ता हुन्छ। २५ माघमा अदालतले फैसला सुनाउँछ। सवारी चालक टोपबहादुर रानालाई ३० दिन कैद र २ हजार जरिवाना ठहर हुन्छ। त्यस्तै, सर्जनले चलाएको भे१०प १७२७ नम्बरको मोटरसाइकलका सवारीधनी सरदार अहमद खाँले भने सफाइ पाउँछन्।

सर्जन विकले केही महिनाअघि मात्र बीमा गराएका हुन्छन्। २५ वर्षे परिपक्व अवधि भएको सावधिक जीवन बीमा एक करोड २० लाख र ७० लाखको 'एक्सिडेन्टल डेथ बेनिफिट' युक्त बीमा उनले २०७७ फागुन २८ मा गराएका थिए।

दुर्घटनाबाट मृत्यु भएपछि म्यादी जीवन बीमावापत दुई करोड ५० लाख रुपैयाँ उनकी श्रीमतीले पाउँछिन्। २०७८ साउन १४ मा सर्जनकी श्रीमती सपना मल्लले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबाट रकम बुझेर आफ्नो कामना विकास बैंकमा रकम जम्मा गर्छिन्।

तर यस घटनाको कथा यतिकैमा सकिँदैन। करिब एक वर्षपछि यो घटनाको अर्को पाटो बाहिर आउँछ। एकाएक सवारी ज्यान मुद्दामा टुङ्गिएको घटनाले नयाँ मोड लिन पुग्छ। सर्जनकी श्रीमती सपना मल्लसहित अन्य ६ जना प्रहरी हिरासतमा पुग्छन्। त्यसपछि घटनाको पर्दाफास यसरी हुन्छः

बीमांकका लागि हत्या, नक्कली श्रीमती खडा !
शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ठगी प्रकरणमा ६ जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्छ।

पक्राउ पर्नेहरुमा बाँके कोहलपुरकी २१ वर्षीय सपना मल्ल, स्याङ्जाका ३१ वर्षीय सञ्जीव अर्याल, कोहलपुरका ३२ वर्षीय सरदार खाँ, बाँके बैजनाथ गाउँपालिका ३३ वर्षीय टोपबहादुर राना क्षेत्री, कोहलपुरका ३८ वर्षीय दीपक केसी र २१ वर्षीय ललिता सापकोटा छन्। 

सपनालाई प्रहरीले साउन ९ मा दिल्ली हुँदै जापान जान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो।

अभियुक्त भनेर प्रहरीले सार्वजनिक गरेका छ जनामध्ये तीनजना माथिको सवारी दुर्घटना जोडिएका पात्र हुन्। सपना सर्जनकी श्रीमती, टोपबहादुर दुर्घटना गर्ने सवारीचालक र सरदार अहमत सर्जनले चलाएको मोटरसाइकलका धनी। र, यो घटना पनि त्यही सवारी दुर्घटनासँग नै जोडिएकाले प्रहरीले उनीहरुलाई समातेको हो। 

माथिको घटना अब प्रहरीको अनुसन्धानमा दुर्घटना मात्र रहँदैन। करोडको बीमा गरेर नक्कली श्रीमती बनाइ दुर्घटना गरेर हत्या गरी रकम हत्याउने खेल भएको खुल्छ।

'बीमा रकमका लागि नक्कली श्रीमती अनि दुर्घटना र रकम लिने खेलमा घटना भएको देखियो,' केन्द्रीय अनुसन्धान ब्युरोका एआइजी उत्तमराज सुवेदीले भने।

कथा यसरी बुनिन्छ
आरती भन्ने ललिता कुमारी सापकोटाले सपना मल्ल र सञ्जीव अर्याललाई भेट गराउँछिन्। सपना विदेश जाने भन्दै भौतारिइरहेकी हुन्छिन्। सञ्जीवले डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया जान सपनालाई सुझाव दिन्छन्। अनि बाँकी प्रक्रिया पनि सुरु हुन्छ। २०७७ मंसिर २७ मा सपना विदेश जानका लागि आवश्यक सीप सिक्ने भन्दै कोहलपुरबाट काठमाडौं आउँछिन्।

डिपेन्डेन्टमा अस्ट्रेलिया जान विवाह गर्नुपर्ने हुन्छ। जसका लागि २१ वर्षीय सर्जनलाई तयार पारिन्छ। २०७७ चैत २८ मा दुईजनाको विवाह दर्ता गर्ने तयारी हुन्छ। त्यही क्रममा उनीहरूको भेट हुन्छ। सर्जन उमेरले २० नपुगेकाले कानुनी रुपमा विवाहको लागि योग्य ठहरिँदैनन्। चैत २ मा मात्र उनीहरूको विवाह हुन्छ।

तर विवाह भएको एक महिनामा नै सर्जनको दुर्घटनामा मृत्यु हुन्छ। जुन उनीहरूले योजनाबद्ध रुपमा बनाएको अहिले प्रहरीको अनुसन्धानमा खुल्छ। कागजी रुपमा विवाह भएका श्रीमानको मृत्यु संस्कारमा समेत सपना पुग्दिनन्। जसले प्रहरीको अनुसन्धान थप बल पुर्‍याएको देखिन्छ।

मृत्युपछि आएको बीमाको दुई करोड ५० लाख रुपैयाँ सपनाको खाताबाट बाँडेर लिएको खुल्छ। जसमा सञ्जीवले ८० लाख, दीपकले ६० लाख, छविकुमारी (सपनाकी आमा) ले १७ लाख ४६ हजार, सपनाले ८६ लाख र अन्य रकम विभिन्न रुपमा खर्च भएको प्रहरीको अनुसन्धानबाट देखिएको छ। सपनाको आमाको खाता मात्र प्रयोग भएकाले प्रहरीले उनलाई भने नियन्त्रणमा लिएको छैन।

शंकाले खुलेको अनुसन्धानको फाइल
सडक दुर्घटनामा ज्यान गइसकेपछि टुङ्गिएको घटना शंकाले थप अनुसन्धान गर्न प्रेरित गरेको देखिन्छ। बीमाको रकम बाहिरिएपछि पुनर्बीमा कम्पनीले शंका गरेको थियो। रकम दिएको झन्डै पाँच महिनापछि पुनर्बीमा कम्पनीले सीआईबीलाई अनुसन्धान गर्न पत्र लखेको थियो। त्यसपछि सीआईबीले अनुसन्धान गर्दै जाँदा प्रमाणहरू फेला पर्दै गएको थियो।

प्रहरीका लागि अनुसन्धानमा बल पुग्न विवाहअघि नै गरिएको बीमामा इच्छाएको व्यक्तिको नाममा सपना मल्लको नाम हुनु, बीमा, विवाह र दुर्घटनाको समयको अन्तर, बीमितको बीमाका कारण र आर्थिक अवस्था लगायतको अनुसन्धान गर्दा थप प्रमाण देखिएपछि प्रहरीले अनुसन्धान झन् साँघुरो बनाएर गरेको थियो।

सर्जन र सपनाको विवाह दर्ता चैत २ मा भएको थियो। तर फागुन २८ मा जीवन बीमा गर्दा इच्छाएको व्यक्तिको नाममा सपनाको नाम लेखिएको थियो। 

सर्जनले बीमाको पहिलो किस्ता २०७७ फागुन २८ गते तिरेका थिए। त्यसो त सर्जनको आर्थिक अवस्थाले बीमाको प्रिमियम (बीमाशुल्क) तिर्ने अवस्था समेत थिएन। वार्षिक पाँच लाख ४० हजार रुपैयाँ प्रिमियम तिर्ने हैसियत उनको थिएन। 

अझ उनले बैंक खाताका लागि भरेको ग्राहक पहिचान (केवाईसी) विवरणमा वार्षिक आम्दानी नै जम्मा दुई लाख रुपैयाँ हुने उल्लेख गरेका थिए। यसबाट पनि उनको आर्थिक हैसियतको अनुमान लगाउन सकिन्छ। 

सर्जनले ठूलो रकमको सावधिक र म्यादी बीमा गर्नुपर्ने अन्य कारण समेत खुल्दैन। सर्जन र सपनाको विवाह भए पनि सम्पर्क भने देखिँदैन। श्रीमान् मरेपछि आएको बीमांक रकम अरूलाई किन बाँड्नु पर्‍यो? जबकि ती व्यक्तिहरुसँग कुनै पारिवारिक सम्बन्ध नै छैन। 

यिनै कारणले प्रहरीलाई थप अनुसन्धानमा सघाएको देखिन्छ। त्यति मात्र होइन सर्जनको बीमाको पहिलो किस्ता समेत सञ्जीव अर्यालले तिरिदिएको अनुसन्धानमा खुलेको एआइजी सुवेदीले बताए।

पक्राउ परेका सरदरार अहमद खाँ बीमा अभिकर्ता हुन्। दुर्घटना हुँदा उनै खाँको मोटरसाइकलमा सर्जन गएका थिए।

'बीमा रकम हत्याउने उद्देश्यले योजनाबद्धरुपमा नै घटना गराइएको अहिलेसम्मको अनुसन्धानले देखाएको छ,' एआइजी सुवेदीले भने।

सपनाको बैंकमा खाता खोल्ने, खातामा मोबाइल नम्बर र सर्जनको मृत्यु भएको सम्पूर्ण जानकारी सपनालाई सञ्जीवले नै दिएको अनुसन्धानमा खुलेको छ। पुनर्बीमा कम्पनीले शंका नगरेको थियो भने फिल्मी शैलीमा गरिएको यो डरलाग्दो अपराधको पर्दा यसरी र यति चाँडै सायदै उठ्थ्यो।