BIZMANDU
www.bizmandu.com

वीरगंज महानगरको तीन वर्षको बेरुजु अढाई अर्बभन्दा धेरै, दबाबमा जथाभावी रकम वितरण

२०७९ साउन १५

वीरगंज। वीरगंज महानगरपालिकाको तीन आर्थिक वर्षको बेरुजु २ अर्ब ६६ करोड ८४ लाख भन्दा बढी पुगेको छ ।

Tata
Global Ime

महालेखापरीक्षकको कार्यालयको ५९ औं प्रतिवेदन अनुसार महानगरपालिकाको बेरुजु रकम हरेक आर्थिक वर्षमा बढ्दै गएको देखिएको छ।

लेखापरीक्षकको जारी प्रतिवेदन अनुसार २०७८ असार ३१ सम्मको आर्थिक कारोबारको लेखापरीक्षण गर्दा एक आर्थिक वर्षमा ७६ करोड २७ लाख बेरुजु देखिएको छ। त्यसैगरी गत आर्थिक वर्षको महानगरपालिकाको बेरुजु रकम ९२ करोड थियो ।

आव २०७५/७६,२०७६/७७ र २०७७/७८ को लेखापरीक्षण रिपोर्ट अनुसार बेरुजु रकम २ अर्ब ६६ करोड ८४ लाख पुगेको छ। यसरी बेरुजु रकम बढिरहे महानगरको लागि राम्रो संकेतको रुपमा नरहेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ।

जनप्रतिनिधिको दबावमा बर्सेनि जथाभावी रकम वितरण गर्दा बेरुजु रकम थपिँदै गएको प्रतिवेदनमा भनिएको छ। बेरुजु रकम बढ्दै जाँदा नवनिर्वाचित जनप्रतिनिधिहरुका लागि बेरुजु फर्छ्योट अहिलेको प्रमुख चुनौती बनेको छ।

महानगरले जथाभावी महंगो समाग्री किन्नु र प्रयोग कसले गरिरहेको यकिन गर्न नसक्नु, कोभिडको बेला स्वास्थ्य सामाग्री खरिदका लागि जथाभावी रकम वितरण गर्नु तथा बिना कारण हचुवाको भरमा नेता तथा कार्यालयका हाकिमहरुको दबावमा रकम निकासा गर्नु आदि कारणहरुले गर्दा बेरुजु रकम बढेको बताइएको छ।

प्रतिवेदनमा बेरुजु राम्रो संकेत नभएको भन्दै यसप्रति महानगर गम्भीर बन्नुपर्ने उल्लेख छ। वीरगंज मधेस प्रदेशको एक मात्र महानगरपालिका हो।